‘सहकारीलाई पूँजीवादीकरण हुनबाट रोक्नुपर्छ’
प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारी आन्दोलनलाई पूँजीवादीकरण हुनबाट रोक्नुपर्ने बताएका छन् । पार्टी सम्वद्ध भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण विभागले आज आयोजना गरेको सहकारीकर्मीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सहकारी आन्दोलनलाई समाजवादको आधार खडा गर्ने साधनको रुपमा विकसित गर्नुपर्ने बताए ।
दाहालले भने, ‘‘संविधानसभाबाट नयाँ संविधान बनाउँदै गर्दा हामीले देशको राजनीति, अर्थनीति, शासन प्रणाली कस्तो हुने भन्नेबारे लामो, गम्भीर, बहुपक्षीय र बहुआयमिक छलफल गरेका थियौँ । सोही छलफलको जगमा अवको राज्य समाजवाद उन्मुख हुनेछ भनिएको हो । समाजवाद उन्मुख राज्यको महत्वपूर्ण आधार सहकारी आन्दोलन हो । तसर्थ, हामीले यसलाई पूँजीवादीकरण हुनबाट रोक्नुपर्छ ।’’
संविधानमा तीन खम्बे अर्थनीतिको व्यवस्था गरिएको उल्लेख गर्दै उनले सार्वजनिक निजी, साझेदारी र सहकारीलाईसँगसँगै अगाडि बढाउनुपर्नेमा जोड दिए । निकै ठूलो संघर्ष र बलिदानको जगबाट प्राप्त भएको सो उपलब्धिलाई जोगाउँदै अगाडि बढ्नुपर्ने प्रधानमन्त्रीको भनाइ छ । सहकारी आन्दोलनलाई उत्पादनसँग नजोडी समाजवादको आधार निर्माण हुननसक्ने भएकाले कृषिमा आधारित उत्पादन सहकारीको निर्माण, परिचालन, बजारीकरण आवश्यक रहेको प्रधानमन्त्री दाहालको भनाइ छ ।
‘‘नेपालको सन्दर्भमा आत्मनिर्भर अर्थतन्त्रको प्रमुख आधार कृषि क्षेत्र नै हो । यसलाई ठीक ढंगले बुझेर राज्यले लगानी केन्द्रित गर्न आवश्यक छ । उद्योगको हकमा पनि कृषिमा आधारितबाहेक अरु उद्योग दीर्घकालीन समाधान होइन । कृषिको सहकारीकरणमार्फत् मात्र आयात प्रतिस्थापन र आत्मनिर्भर अर्थतन्त्र सुदृढ गर्न सकिन्छ’’ प्रधानमन्त्रीले भने ।
सम्बोधनका क्रममा प्रधानमन्त्री दाहालले नयाँ सरकारले पूर्णता प्राप्त गरिसकेकाले अब सरकारको सम्पूर्ण ध्यान नयाँ आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट निर्माणमा केन्द्रित हुने बताए । आज वा भोलिमा सरकारले शतप्रतिशत पूर्णता पाउने जानकारी दिँदै प्रधानमन्त्री दाहालले अब नीति, कार्यक्रम र बजेटमा केन्द्रित हुने जानकारी दिए । कार्यक्रममा माओवादी केन्द्रका नेताहरु अग्निप्रसाद सापकोटा, लीलामणि पोखरेललगायतको उपस्थिति थियो ।