Logo

इलाममा हातले बोलाउँछ पर्यटक

हातको महत्व हो या नयाँपनको खोजी ? तर इलाममा निर्माण गरिएको कृत्रिम हात हेर्न र फोटो खिचाउन सयौँ पर्यटक आउने गरेका छन् । पर्यटक तान्न वा अवलोकनका लागि खासै नयाँ कुरा चाहिँदैन भन्ने उदाहारण पनि यस हातले दिएको छ । मानिस प्रायः नयाँ, नौलो नै रुचाउँछ । मानिसको आकर्णणका लागि पृथक हुन अवश्य आवश्यक छ । किनकि इलाम बजारनजिकै निर्माण गरिएको हात हेर्न जार्ने पर्यटकबाट यो कुरा पुष्टि हुन्छ ।

जमिनबाट ठाडो पारेर उठाइएको हातको नाडीमा लिस्नो (भर्याङ) निर्माण गरिएको छ । सो लिस्नोबाट चढेर हत्केलामा पुग्न सकिन्छ । सोही तस्बिर खिचाउनेको भीड नै लाग्ने गरेको छ । इलाम बजारनजिकै रहेको इलाम चियाबारीको लभडाँडा भन्ने स्थानमा यो हात निर्माण गरिएको छ । चियाका लागि यो ठाउँ ऐतिहासिक समेत मानिन्छ । नेपालमा सबैभन्दा पहिला चिया रोपिएको ठाउँ भएका कारण पनि यो स्थान ऐतिहासिक मानिन्छ । हुनत यहाँ हात मात्र निर्माण भएको छैन । पर्यटकीय पूर्वाधारसमेत निर्माण गरी आकर्षक बनाइएको छ ।

ऐतिहासिक चियाबगान र सुन्दर हरियालीको दृष्य अवलोकनका लागि पर्यटकहरू यहाँ पुग्ने गरेका छन् । साथै नजिकै रहेको नेपालकै पहिलो उद्योग-चिया कारखानासमेत नजिकै छ । आन्तरिक पर्यटन प्रवर्द्धन गर्न चियाखेतीको इतिहास बोकेको इलाम चिया बगानमा घुम्न आउने पर्यटकको सहजताका लागि पूर्वाधार निर्माण गरिएको छ । नेपालको पहिलो चिया बगान र कारखाना क्षेत्र घुम्न आउने पर्यटकको थप मनोरञ्जनका लागि इलाम नगरपालिकाले पूर्वाधार निर्माण गरेको हो ।

यही चियाबारीमा हातसमेत निर्माण भएपछि अझ बढी पर्यटक यहाँ पुग्ने गरेका छन् । चिया बगानभित्रका खुल्ला क्षेत्रमा पर्यटन पूर्वाधार निर्माण गरिँदै आएको छ । इलाम नगरपालिकाले बगान क्षेत्रमा आउने पर्यटकको इलाम बसाई लम्बाउनका लागि पर्यटकीय पूर्वाधार निर्माण गर्दै आएको हो । बजार क्षेत्रको चिया बगान, भालुढुंगा, भ्यु टावर, लभडाँडा क्षेत्रमा पर्यटक पूर्वाधार निर्माण गरिएको छ । नगरको विकासका लागि पर्यटकिय क्षेत्रको समेत विकास हुनु पर्ने भएकाले आगामी दिनमा समेत नगरपालिकाले यसतर्फ आफ्ना योजना अगाडि बढाउने नगरपालिकाका प्रवक्ता नुतनदेव दुलालले बताए ।

चिया बगान क्षेत्रको लभडाँडा क्षेत्रमा नेपालमा चियाखेती सुरुवात गर्ने इलामका तत्कालीन बडाहाकिम गजराजसिंह थापाको प्रतिमासहित पूर्वाधार निर्माण गरिएको छ । गजराजसिंह थापा तत्कालीन श्री ३ प्रधानमन्त्री जंगबहादुर राणाका ज्वाईं हुन् । चिया बगानसँगै हात भएभन्दा केही माथि इलाम चिया बगान क्षेत्रमा नगरपालिका वडा नम्बर सात कार्यालयको पहलमा खुल्ला जिम हाउससमेत सञ्चालन भएको छ । जिम हाउसमा दैनिक पर्यटक र इलाम बजारबासीले व्यायाम गर्दै आएको वडाध्यक्ष नरेश श्रेष्ठले जानकारी दिए ।

चियाबारी क्षेत्रमा पर्यटकसँगै बजारबासी, निजामती कर्मचारीलगायत यहाँ बस्ने मानिस दैनिक रूपमा बिहानपख (मर्निङ वाक) र साँझपख (इभिनिङ वाक) का लागि जाने गरेका छन् । उनीहरूलाई नै लक्षित गरेर खुल्ला जिम हाउस सञ्चालन गरिएको हो । खुल्ला जिम हाउस चिया बगानको माथि धुराबस्ती क्षेत्रमा निर्माण गरिएको छ । बगान क्षेत्रका खुल्ला ठाउँको पहिचान गरी पर्यटन पूर्वाधार र खुल्ला जिम हाउस निर्माणले नगरपालिकाबासीलाई भ्रमण गर्ने बानीको विकास गराई आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने इलाम नगरपालिकाको योजना छ ।

इलाम नगरपालिकाले खुल्ला जिम हाउससहित पर्यटन पूर्वाधार निर्माण भएपछि चिया बगान भ्रमण गर्ने पर्यटकको संख्या बढेको हो । नयाँ र आकर्षक केन्द्र निर्माणले यहाँ हाल पर्यटकको संख्यामा समेत वृद्धि भएको छ । इलाम पर्यटकीय जिल्लाका रूपमा नै परिचित छ । यहाँ रहेका पर्यटकीय स्थलमा अब कृत्रिम पर्यटकीय पूर्वाधारसमेत निर्माण हुँदै जाने हो भने आकर्षणसमेत थपिँदै जाने थियो । यसका लागि प्रदेश र केन्द्र सरकारले समेत लगानी बढाउनु पर्ने स्थानीयको भनाइ छ । स्थानीयबासीले पानीको मुहान संरक्षण गरे हरियाली बढ्ने भएकाले यसतर्फ समेत ध्यान पुर्‍याउन आवश्यक रहेको बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्