विकासमा ढिलाइप्रति ध्यानाकर्षण

जनताले विकास निर्माणमा भएको ढिलासुस्तीप्रति अन्नपूर्ण गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीलाई ध्यानाकर्षण गराएका छन् । पोखरेबगरमा भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा उपस्थित स्थानीयबासीले गाउँपालिकाभित्रका विकास निर्माणका योजनामा भएका ढिलासुस्ती र स्थानीयस्तरमा रहेका समस्याका बारेमा ध्यानाकर्षण गराएका हुन् ।
चालू आर्थिक वर्षको फागुनसम्म सम्पादन भएका विकास गतिविधि, सेवाप्रवाह र समग्र गाउँपालिकाको अवस्थाका बारेमा सेवाग्राही, स्थानीयबासी र सरोकारवालाबाट गुनासा सुन्ने, सार्वजनिक सेवाप्रवाहलाई जवाफदेही बनाउने उद्देश्यले आयोजित कार्यक्रममा सहभागीले राष्ट्रिय गौरवको आयोजनाको रूपमा सञ्चालित बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्डको कामलाई तीव्रता दिन, पोखरेबगर–घार–चित्रे सडकलाई छिटो सम्पन्न गराउनका लागि आवश्यक समन्वय बढाउन गाउँपालिकाको नेतृत्वलाई आग्रह गरेका थिए ।
त्यसैगरी पोखरेबगर क्षेत्रमा बढ्दो फोहोरको समस्यालाई दिगो व्यवस्थापन गर्न, योजना सम्झौतालाई झण्झटरहित बनाउन, गाउँपालिकाको केन्द्रमा प्रहरी विट र सामुदायिक स्वास्थ्य केन्द्रको स्थापना गर्न माग गरेका थिए ।
कार्यक्रममा सहभागीले गाउँपालिकाको आन्तरिक खर्च प्रणालीको शुद्धीकरणका लागि लेखा समितिको गठन गर्न, गाउँपालिकामा आउने सेवाग्राहीलाई सोधपुछ कक्ष र विश्रामस्थलको व्यवस्था गर्नुपर्ने, पशु सेवा शाखाका कर्मचारीले लिने गरेको अतिरिक्त शुल्कलाई हटाउनुपर्ने, गाउँपालिकाले वितरण गर्ने कृषिसम्बन्धी बिउ, बिजनलाई स्थानीय आवश्यकतामा ध्यान दिनुपर्ने, स्थानीय उत्पादनको बजारीकरणमा पहल गर्नुपर्नेमा जोड दिएका थिए ।
सार्वजनिक सुनुवाइमा गाउँपालिका अध्यक्ष भारत (भरत) कुमार पुनले गाउँपालिकाभित्र सञ्चालित गौरवका योजनालाई प्रभावकारी कार्यान्वयनका लागि सम्बन्धित निकायमा पहल गरिएको र गाउँपालिकाले सञ्चालन गरेका योजनाको प्रभावकारिताका लागि नियमित अनुगमन र मूल्यांकनलाई जोड दिइएको बताए ।
“हाम्रो पालिकामा ठूला योजना अलपत्र अवस्था छन्, तिनको अवस्थाबारे हामीले सम्बन्धित निकायमा निरन्तर पहल गर्दै आएका छौं, पूर्वाधार निर्माण र पर्यटन विकासमार्फत् गाउँपालिकालाई समृद्ध बनाउन सकिन्छ भन्ने अभियानमा गाउँपालिका रहेको छ,” अध्यक्ष पुनले भने, “प्रशासकीय भवन निर्माणका लागि जग्गा व्यवस्थापनमा जुटेको जानकारी दिँदै फोहोर व्यवस्थापनका लागि डम्पिङ साइटको खोजी सुरु गरेका छौं ।”
गाउँपालिकाभित्र रहेका पर्यटकीय क्षेत्रको सम्भावनाको उजागर, पूर्वाधार निर्माणसँंगै प्रचार प्रसारको माध्ययममार्फत् प्रवद्र्धन गर्न पालिकाले आवश्यक तयारी गरेको अध्यक्ष पुनको भनाइ थियो । कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष दिवाकुमारी तिलिजा पुनले गाउँपालिकाभित्र उद्यमशीलताको विकास, कृषि र पशुपालन क्षेत्रको व्यवसायीकरण गरी रोजगार सिर्जना गर्ने योजनालाई प्राथमिकता दिने गाउँपालिकाको नीति रहेको बताइन् ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले सेवाप्रवाहलाई सरल, सहज र प्रभावकारी बनाउने गरी गाउँपालिका अघि बढेको बताए । उनले चालू आर्थिक वर्षमा उपभोक्ता समितिमार्फत् कार्यान्वयन हुने योजनामा ढिलासुस्ती भएका कारण बजेट कार्यान्वयनमा ढिलाइ भएको जानकारी गराए ।
अन्नपूर्णमा विकास खर्च १६ प्रतिशत
अन्नपूर्ण गाउँपालिकाले चालू आर्थिक वर्षको आठ महिनामा १५.८७ प्रतिशत पुँजीगत बजेट खर्च गरेको छ । पुँजीगततर्फ भएको १७ करोड ६२ लाख ६ हजार रुपैयाँ बजेटमध्ये एक करोड ३२ लाख २५ हजार खर्च भएको लेखा प्रमुख प्रेम पराजुलीले बताए । तेस्रो चौमासिकमा लगभग ८४ प्रतिशत बजेट गर्नुपर्ने अवस्था छ ।
त्यस्तै चालूतर्फ भएको ३४ करोड ११ लाख २९ हजार रुपैयाँ बजेटमध्ये १३ करोड ७८ लाख ६८ हजार रुपैयाँ (४० प्रतिशत) बजेट खर्च भएको छ । समग्रमा अन्नपूर्णमा ३१.७८ प्रतिशत बजेट खर्च छ । कुल ५१ करोड ७३ लाख ३६ हजार रपैयाँ बजेटमध्ये १६ करोड ७२ लाख २८ हजार ५११ रुपैयाँ बजेट खर्च भएको लेखा प्रमुख पराजुलीले बताए ।
चालू आवमा अन्नपूर्णमा १४७ वटा योजना छन् । जसमध्यै ८७ वटा योजना सम्झौता भएका छन् भने ६५ वटा योजना सम्पन्न भइसकेको प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताए । चालू आवमा गाउँपालिकाले एक करोड ३३ लाख ७५ हजार ३०६ रुपैयाँ राजस्व संकलन गरेको छ ।