भन्सार नाकामा चुहावट रोक्न नयाँ अर्थमन्त्रीको चासो

विभागीय मन्त्री नभएको मौका छोपी ठूला भन्सार नाकाहरुमा राजस्व छलीका घटना बढेका बेला नवनियुक्त अर्थमन्त्री प्रकाशशरण महतले राजस्व चुहावट नियन्त्रणमा चासो देखाएका छन् । अर्थमन्त्री महतले भारत र चीनका सीमा क्षेत्रमा देखिएका अवैध गतिविधि रोक्न र राजस्व चुहावट नियन्त्रण गर्न केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिलाई निर्देशन दिएका हुन् ।
अर्थमन्त्री महतले सोमबार समितिका पदाधिकारीहरुसँग भन्सार नाकाहरुमा र नेपाल–भारतबीचका खुला सीमा क्षेत्रमा भइरहेका चोरीपैठारीका गतिविधिलाई कसरी रोक्ने भन्ने विषयमा छलफल गरेका थिए । उनले राजस्व छली गर्ने व्यापारीले भन्सार नाकाबाट सामग्री नल्याएर चोर बाटो अपनाउने गरेको समेत बताएका थिए । चोरीपैठारी गरी सामग्री ल्याउँदा पनि राजस्वमा असर परेको उनको भनाइ थियो ।
समितिमा गृहमन्त्रीसहित, सचिव, नेपाल प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख, राष्ट्रिय अनुसन्धान विभाग प्रमुख, आन्तरिक राजस्व विभाग, भन्सार विभाग, राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण नियन्त्रण विभागका महानिर्देशक सदस्य हुने व्यवस्था छ । अर्थ मन्त्रालयका अनुसार त्यसबेला अर्थमन्त्री महतले राजस्व संकलनका हिसाबले अहिलेको अवस्था अत्यन्तै चुनौतीपूर्ण रहेको भन्दै सबैले आ–आफ्नो जिम्मेवारीमा रहेर इमान्दारीपूर्वक सम्पादन गर्न निर्देशन दिए ।
उनले अहिले राजस्व संकलनमा देखिएको कमीलाई पूर्ति गर्नेगरी सबैलाई समन्वयात्मक रुपमा काम गर्न निर्देशन दिएका थिए । भन्सार नाकाहरुमा भइरहेको चोरीपैठारी र अन्य क्षेत्रमा भएको राजस्व चुहावटलाई रोक्न अर्थ मन्त्रालय र सुरक्षा निकायबीच प्रभावकारी समन्वय हुनुपर्नेमा महतले जोड दिए । अर्थमन्त्री महतले स्थानीय संयन्त्रलाई सक्रिय बनाएर राजस्व परिचालनलाई प्रभावकारी बनाउन सकिने उपाय पनि बताएका थिए ।
बैठकमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजस्व चुहावट नियन्त्रण गर्न गृह मन्त्रालयको संयन्त्रलाई प्रभावकारी रुपमा परिचालन गरिने बताएका थिए । उनले स्वार्थरहित भएर आ–आफ्नो जिम्मेवारी बहन गर्न समेत सबै निकायलाई त्यही बेला निर्देशन दिए । श्रेष्ठले कर्मचारीहरुलाई कुनै राजनीतिक दबाब र प्रभावमा नपरी ढुक्कसँग उच्च मनोबलका साथ काम गर्न पनि आग्रह गरे ।
अर्थ मन्त्रालयका प्रवक्ता आन्नद काफ्लेले बैठकमा राजस्व संकलनमा देखिएको चुनौती, राजस्व चुहावट नियन्त्रणका सम्बन्धमा भएका प्रयासको विषयमा छलफल तथा समीक्षा भएको जानकरी दिए । पछिल्ला दिनमा सीमा नाकाहरुमा राजस्व चुहावट भइरहेको केही घटनाले पनि देखाएका छन् ।
गत दुई साताको अन्तरालमा राजस्व अनुसन्धान विभागले कर छलीको शंकामा १९ वटा मालवाहक ट्रक नियन्त्रणमा लिएको थियो । वीरगन्ज, विराटनगर, भैरहवा, रसुवा भन्सारजस्ता मुलुकका प्रमुख भन्सार नाकाबाट छुटेका ट्रक नियन्त्रणमा लिएबाट यी नाकाहरुमा समस्या रहेको देखाएको छ । अर्कोतिर भन्सार विभागले गर्ने अनलाइन लाइभ मनिटरिङबाट हेर्दा पनि भन्सार नाकाहरुमा सामान जाँचपासमा समस्या देखिएको छ ।
भन्सार विभाग, अनुगमन शाखाका निर्देशक रामप्रसाद मैनालीले तीन दिनअघि कारोबारसँग कुरा गर्दै मनिटरिङबाट हेर्दा विभिन्न भन्सार नाकामा चोरीपैठारीको समस्या देखिएको जानकारी दिएका थिए । उनका अनुसार उद्योगी–व्यापारीले धेरै मूल्य पर्ने सामानलाई कम मूल्य देखाउने र धेरै कर लाग्ने सामानलाई कम कर लाग्ने सामानको सूचीमा राखेर राजस्व छल्न खोजेको देखिएको छ । यस्तै, सामानको परिमाण नै कम देखाएर राजस्व छल्ने नियत पनि केही व्यवसायीमा फेला परेको छ ।
उनका अनुसार पछिल्लो समय विभागले भन्सार नाकाहरुमा सामान जाँचपास गर्दा अनलाइन लाइभ मनिटरिङमा कडाइ गरेपछि राजस्व बढेको छ । यो प्रणालीबाट हेर्दा चैतको सुरुका १६ दिनमा मात्र ४ करोड ३९ लाख रुपैयाँ थप राजस्व असुली भएको उनले बताए । निर्देशक मैनालीका अनुसार चालु आर्थिक वर्षको साउनदेखि १६ चैतसम्ममा अनलाइन लाइभ मनिटरिङ प्रणालीबाट ४५ करोड ७५ लाख रुपैयाँ थप राजस्व तिराइएको छ । यस्तै, दुई सातामै १९ ट्रक नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको राजस्व अनुसन्धान विभागका महानिर्देशक नारायणप्रसाद सापकोटाले पनि भन्सार नाकाहरुमा केही समस्या रहेको जानकारी दिए ।
भन्सार नाकाहरुमा भएको बेथितिकै कारण यो वर्ष राजस्व असुली न्यून भएको छ । राजस्वका क्षेत्रहरुमध्ये सबैभन्दा कम भन्सार महसुल उठेको छ । चोरीपैठारीमा नियन्त्रण नभएकै कारण भन्सार महसुल धेरै कम भएको हो । निवर्तमान अर्थमन्त्री विष्णु पौडेलले पनि अर्थ मन्त्रालयको जिम्मेवारी लिएलगत्तै गत पुसमा भन्सार नाकाहरुमा चोरीपैठारी भइरहेको बताएका थिए । उनले यसलाई रोक्न प्रयास सुरु गरे पनि दुई महिनामै मन्त्रीबाट हट्न पुगेका थिए ।
विगतमा पनि राजनीतिक अस्थिरता हुँदा, सरकारले पूर्णता नपाउँदा, अर्थमन्त्री नभएको बेला र निर्वाचन वा यस्तै माहोलमा सरकारको ध्यान बढी गएका बेला भन्सार नाकाहरुबाट बढी चोरीपैठारी हुँदै आएको थियो । संघीय राजधानी कुनै विषयमा अल्झेको मौका पारेर नाकाहरुमा चलखेल बढ्ने पुरानै रोग हो ।
विगतमा पनि चोरीतस्करीमा संलग्न व्यवसायीहरुले ठूला भन्सार नाकाबाट भन्दा छोटी भन्सार र खुला सीमा क्षेत्रहरुबाट वर्षैभरी राजस्व छलेर सामान ल्याउने गर्दै आएका छन् । भारतीय सीमा नाकाबाट स–सानो परिमाणमा सामान भित्र्याएर नेपालका विभिन्न स्थानमा जम्मा गर्ने र पछि काठमाडौंलगायत मुलुकका विभिन्न सहरहरुमा पु्र्याउने गरिएको छ । यस्तोमा पुराना भन्सारका प्रज्ञापनपत्र देखाएर सुरक्षा निकायलाई ‘नजराना’ चढाउँदै लक्षित सहरमा सामान पुर्याउने गरिन्छ । यो नियमित प्रक्रिया हो ।