Logo

मन्त्री निवास तयार हुन अझै एक वर्ष लाग्ने

प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् विस्तार गरे पनि नवनियुक्त मन्त्रीहरु पुरानै क्वार्टरमा बस्नुपर्ने भएको छ । ललितपुरको भैंसेपाटीमा निर्माणाधीन मन्त्री निवास अझै तयार नभएकोले मन्त्रीहरु पुल्चोकस्थित पुरानै निवासमा बस्नुपर्ने भएको हो । अहिलेसम्म मन्त्री निवासको भौतिक प्रगति ८० प्रतिशत र वित्तीय प्रगति ६८ प्रतिशतमात्र पूरा भएको छ ।

सहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गतको विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयका आयोजना उपनिर्देशक दीपक श्रेष्ठले भने, “आगामी वैशाखसम्ममा पहिलो चरणको मन्त्री निवास भवन पूरा हुनेछ । सो खण्डको सिभिल वर्कको काम पूरा भएको छ । अहिले आन्तरिक सासज्जाको काम भइरहेको छ ।”

हाल पुल्चोकमा रहेको मन्त्री निवासलाई स्थानान्तरण गर्ने गरी ललितपुरको भैंसेपाटी आवास क्षेत्रमा मन्त्री निवास निर्माण भइरहेको हो । आगामी मंसिरसम्ममा सबै काम पूरा भएर स्थानान्तरण हुने उपनिर्देशक श्रेष्ठले बताए । पुनर्गठित सरकारका मन्त्रीहरुले तत्काल प्रवेश नपाउने भए पनि ६–७ महिनापछि भने मन्त्रीहरुले नयाँ निवास उपयोग गर्न पाउने श्रेष्ठको भनाइ छ ।

ललितपुरको भैंसेपाटीमा निर्माणाधीन मन्त्री निवास अझै तयार नभएकोले मन्त्रीहरु पुल्चोकस्थित पुरानै निवासमा बस्नुपर्ने भएको हो ।

उनले भने, “सिभिल वर्कको काम पूरा भएर फिनिसिङको काम भइरहेको छ । थप निर्माण गर्नुपर्ने भित्रि साजसज्जाको काम पनि जारी छ ।” समय सीमाभित्र सिभिल वर्कको काम पूरा भएको भए पनि आन्तरिक साजसज्जाको समय बाँकी रहेको र समयमा नै पूरा हुने आयोजनाको भनाइ छ ।

२०७६ कात्तिक २७ गते सुरु भएको मन्त्री निवासको काम २०७९ कात्तिकमा पूरा हुनुपर्ने थियो, तर कोभिड–१९का कारण यही चैतसम्म म्याद थप गरिएको थियो । सिभिल वर्कको काम पूरा भए पनि अहिले आन्तरिक सासज्जाको काम भइरहेको छ । दोश्रो चरणको निर्माणको क्रममा रहेको स्वीमिङ पुल, हेल्थ क्लब र सुरक्षाकर्मी भवन निर्माण थालिएको आयोजना उपनिर्देशक श्रेष्ठले बताए । दोस्रो प्याकेजको काम आगामी २०८० सालभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

कुल ९६ रोपनी १० आनामा निर्माण भइरहेको भवनमा २४ वटा निवाससहित राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्ष र उपसभामुखसहित २७ जना मन्त्री निवास निर्माणाधिन अवस्थामा रहेको छ । आयोजनाले निर्धारित समयभित्र नै भवन निर्माणको काम सम्पन्न हुने गरी काम अघि बढाएको आयोजना उपनिर्देशक श्रेष्ठले बताए । मन्त्री निवाससँगै सात वटै प्रदेशका प्रदेश प्रमुख÷मुख्यमन्त्रीहरुका लागि निवास तथा सम्पर्क कार्यालय निर्माणको काम पनि एकसाथ अघि बढेको छ ।

आयोजना उपनिर्देशक श्रेष्ठले भने, “प्रदेश प्रमुख र मुख्यमन्त्री भवन करिब ९ं० प्रतिशत सम्पन्न भएको छ भने आर्थिक प्रगति ७० प्रतिशत बढी भएको छ । बिल पास हुने क्रममा रहेकाले गर्दा वित्तीय प्रगति कम देखिएको हो ।” बाँकी काम पनि समयसीमाभित्र नै सम्पन्न गर्नेगरी काम अगाडि बढाइरहेको आयोजना निर्देशनालयले जनाएको छ ।

सैंबु आवास क्षेत्रमा निर्माणधिन मन्त्री निवास नेपालको मौलिक कला कौशल र संस्कृति झल्कने गरी निर्माण भइरहेको छ । सहरी विकास मन्त्रालय, सहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गत रहेको विशेष भवन निर्माण आयोजना समन्वय कार्यालय मार्फत निर्माणाधिन मन्त्री निवासलाई मौलिक शैलीमा निर्माण गरिएको छ । निर्माणाधिन २७ वटै भवनको स्ट्रक्चरको काम सम्पन्न भएको छ ।

हाल भवनको फिनिसिङको काम तीव्र गतिमा अघि बढेको छ । मन्त्री निवास १ अर्ब ३ करोड रुपैयाँ (भ्याट सहित) मा निर्माण भइरहेको छ । तीन तला रहेको प्रत्येक भवनहरु नेपाली परम्परागत शैलीमा निर्माण गरिएका छन् । सबै भवनमा डाँछी इँट्टा र छानोमा मौलिकता झल्कने टायल लगाइएको छ । हरेक भवनमा मौलिकता झल्कने आँखीझ्याल राखिएको छ । श्रीको हनुमान जेभीले जिम्मेवारी पाएको निवासमा आधुनिक प्रविधिको प्रयोग गरेर निर्माण गरिएको छ ।

भवनभित्र सुरक्षा व्यवस्थालाई जोड दिएर आधुनिक पूर्वाधारसहित निर्माण गरिएको सबै भवन भूकम्प प्रतिरोधी रहेका छन् । कुल क्षेत्रफलमध्ये १२ रोपनी क्षेत्र भवनले ओगट्नेछ भने ३८ रोपनी ८ आना हरियालीकरणका लागि प्रयोग गरिने जनाइएको छ । २१ रोपनी क्षेत्र आवासभित्रको आन्तरिक सडकले ओगट्ने छ भने ११ रोपनीमा हेल्थ क्लब बन्नेछ । निवास परिसरभित्र एक सय सवारी साधन अटाउने पार्किङ स्थल समेत निर्माण हुनेछ ।

पहिलो चरणमा २७ वटा भवन, कमाउण्ड, सडक ढल र भौतिक पूर्वाधार निर्माण गरि फिनिसिङको काम अगाडि बढाइएको छ । मन्त्री निवासको दोस्रो चरणमा सिभिलको काम भइरहेको आयोजना उपनिर्देशक श्रेष्ठको भनाइ छ । हरियाली पार्क, सुरक्षाकर्मी बस्ने तीन वटा ब्यारेक, स्वीमिङ पुल, बहुउद्देश्यीय सभा हल, हेल्थ क्लब लगायतका संरचना निर्माणको काम भैरहेको छ ।

प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि तीन तलाका भवनहरु २७ रोपनी १३ आना क्षेत्रफलमा भवन निर्माण गरिएको छ । १७ रोपनी ७ आनामा भवन, ५ रोपनीमा आन्तरिक सडक, ८ आनामा बगैंचा एवं पोखरी र चार रोपनी १२ आनामा पार्किङ तथा हरियाली क्षेत्रले ओगटेको छ । कार्यालयको प्रत्येक ब्लकमा दुईवटा भवन रहेका छन् ।

एउटा मुख्यमन्त्री र अर्को प्रदेश प्रमुखका लागि हुने छन् । निर्माणधिन भवन निर्माणको जिम्मेवारी केसी/समानान्तर जेभीले करिब ७३ करोड लागतमा निर्माण गरिएको हो । संघीय राजधानी काठमाडौं आउँदा प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखहरुको कार्य सम्पादनमा सहजीकरणका लागि निवास सुविधा दिन भवन निर्माण गरिएको हो । सात वटै भवनको अगाडि सुरक्षकर्मी बस्ने सानो भवन निर्माण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्