गुल्मीमा मह दिवस मनाउने तयारी

गुल्मीमा मह दिवस मनाउने तयारी थालिएको छ । महको पहिचान, आत्मनिर्भर र निर्यात गर्नका लागि आगामी वैशाख ४ गते मह दिवस मनाउने तयारी थालिएको हो । जिल्लाको मुसिकोट नगरपालिकाको वडा नम्बर ८ र ९ मा रहेको ‘सालिमे मौरी स्मार्ट गाउँ कार्यक्रम’ अन्तर्गत मह दिवस मनाउन लागिएको हो ।
मौरीपालन व्यवसायलाई थप व्यवसायीकरण गरी गुल्मीलाई महमा आत्मनिर्भर जिल्ला बनाउन मह दिवस मनाउन लागिएको ‘सालिमे मौरी स्मार्ट गाउँ कार्यक्रम’ का अध्यक्ष चुमा घर्तीमगरले जानकारी दिए । मुसिकोट नगरपालिकाको उक्त क्षेत्रमा विगत तीन वर्षदेखि मौरीपालक किसान समूहमा आबद्ध रहेर व्यवसाय गरिरहेका छन् । मौरी स्मार्टमा हाल ५१ किसान संगठित छन् । उनीहरुले वार्षिक २५० घार मौरी, मौरी बिनाका दुई सय घार र महको व्यापक मात्रामा निर्यात गर्दै आइरहेका छन् । स्मार्टका अध्यक्ष घर्तीमगर त्यस क्षेत्रको पहिलो मौरीपालक किसान हुन् । गुल्मीमा मौरी स्मार्ट कार्यक्रम लागू भएपछि उनको अध्यक्षतामा ५१ किसान आबद्ध भएर समूहमा काम गर्न थालेका हुन् ।
मौरी स्मार्टले पहिलो वर्ष आधार वर्षको रूपमा हेरेको छ । किसान संगठित, मौरी पालन र महको बजारीकरणलाई आधार बनाइएको थियो । दोस्रो वर्ष वृद्धि वर्षको रूपमा मौरी पालनलाई बढाइएको छ । साथै तेस्रो वर्ष अहिले मह दिवस मनाउने तयारी सकिएको छ भने अर्को वर्ष निर्यात वर्षको रूपमा रहनेछ । पहिलो वर्ष ३२ लाख र दोस्रो वर्ष ३७ लाख ५० हजार लुम्बिनी प्रदेश सरकारको मौरी स्मार्टमा लगानी भएको छ । जसमा मौरी सामग्री, मह बनाउने तालिम र घार निर्माण लगानी गरेको छ ।
गुल्मीको मह विश्वसामू परिचित बनाउन र महमा जिल्लालाई आत्मनिर्भर बनाउन दिवसले टेवा पु¥याउने ‘सालिमे मौरी स्मार्ट गाउँ कार्यक्रम’ का अध्यक्ष चुमा घर्तीमगरले बताए ।
“मौरीको व्यवसायीकरण, प्रवद्र्धन र निर्यातको सहजताका लागि दिवस मनाउन लागिएको हो,” उनले भने, “मह दिवसले मौरी पालनमा थप आकर्षित गर्नेछ ।” ‘सालिमे मौरी स्मार्ट गाउँ कार्यक्रम’ अन्तर्गत मौरी स्मार्ट जिल्ला समन्वय प्रमुख, उपप्रमुख, १२ पालिकाका प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष र प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिलगायत स्थानीयको बाक्लो उपस्थितीमा मह दिवस मनाउन थालेको हो । मह दिवसले गुल्मी जिल्लाका किसानलाई मौरी पाल्नका लागि आकर्षित गर्नुका साथै महमा आत्मनिर्भर बन्न प्रेरित गर्नेछ । उत्पादन भएको महको बजारीकरण सहजै भएमा किसानलाई सहजता हुने अपेक्षा राखिएको छ । मुसिकोट नगरपालिकाले गत हप्ताबाट किसानका कृषि तथा पशु उपज आफैले खरिद गरिरहेको छ ।
यसले गर्दा मौरीपालक किसान मह बिक्री वितरण नहुने चिन्ताबाट मुक्त भएका छन् । नगरपालिकाका प्रमुख जीवन खरेलका अनुसार किसानलाई उत्पादनदेखि बजारीकरणसम्म आइपर्ने समस्याको समाधान गर्न र उत्पादित सामग्रीलाई बजारीकरणको ग्यारेण्टी नगरपालिकाले गरेको हो । “कृषि क्षेत्रमा किसान आकर्षित गर्ने र उपभोक्तालाई समेत राहत दिने हाम्रो योजना हो,” उनले भने, “चुनौतीपूर्ण देखिए पनि यसलाई दीर्घकालीन रूपमा अगाडि बढाउँछौ. ।” नगरपालिकाका प्रमुख खरेलले कृषि सामग्री ढुक्क भएर उत्पादन गर्नका लागि नगरवासीलाई आग्रह गरेका छन् । नगरपालिकाको यो कदमले मौरीपालक किसानलाई पनि थप राहत दिलाएको छ ।