Logo

सूर्य नेपाल च्यालेन्जको उपाधि सदभावलाई

१६ वर्षका युवा गल्फर सदभाव आचार्यले सूर्य नेपाल गल्फ टुर २०२२/०२३ अन्तर्गत छैटौं प्रतियोगिता, सूर्य नेपाल च्यालेन्जको उपाधि जितेका छन् । सदभावले अन्तिम दिन ४–अण्डर ६४ को उत्कृष्ट स्कोर जोड्दा समग्रमा ३–अण्डर २ सय ६९ सहित उपाधि जितेका हुन् । उनले डिफेन्डिङ च्याम्पियन भुवन नगरकोटीलाई २ स्ट्रोकले माथ दिए ।

सदभाव नेपाली गल्फमा सबैभन्दा कम उमेरमा सूर्य नेपाल टुरको प्रो टाइटल जित्ने खेलाडी बनेका छन् । १६ वर्ष १० महिनाका सदभावले नेपाल नम्बर एक एमरच्योर खेलाडी सुबास तामाङको रेकर्ड तोडेका हुन् । सुबासले १६ वर्ष ११ महिनाको उमेरमा प्रो टाइटल जितेका थिए । उनले सन २०१९ मा भुवनलाई हराउँदै सूर्य नेपाल च्यालेन्ज जितेका थिए ।

भुवन इभन–पार ६८ सहित समग्रमा १–अण्डर २ सय ६१ को नतिजामा दोस्रो भए । समग्रमा दोस्रो हुँदा प्रोतर्फ भने उनी पहिलो भए । उनले नगद एक लाख प्राप्त गरे भने तेस्रो दिनका लिडर रबि खड्काले ३–ओभर ७१ को खराब प्रदर्शन गरे । समग्रमा इभन–पार २ सय ७२ मा खेल पूरा गरेर उनले प्रोतर्फ दोस्रो बन्दै ६५ हजार हात पारे ।

नेपाल नम्बर एक एमरच्योर खेलाडी सुबास तामाङले अन्तिम दिन इभन–पार ६८ मा खेल सकेर समग्रमा ३–ओभर २ सय ७५ को स्कोरमा चौथो हुँदा एमरच्योरतर्फ दोस्रो भए । ३–ओभर ७१ को स्कोर बनाएका दिनेश प्रजापतिले समग्रमा ५–ओभर २ सय ७७ मा प्रतियोगिता पूरा गर्दैसमग्रमा पाँचौ भएका उनले प्रोमा भने तेस्रो हुँदै ४६ हजार प्राप्त गरेका छन् । समग्रमा ८–ओभर २ सय ८० सहित भुवनकुमार रोक्का र धनबहादुर थापाले संयुक्त रुपमा छैटौ स्थान बाँडे ।

भुवनले ८–ओभर ७६ को प्रदर्शन गर्दा धनले २–ओभर ७० मा अन्तिम १८ होलको खेल खेल्दा प्रोतर्फ चौथो भएका दुवैले ३६ हजार हात पारे । भेट्रान गल्फर दीपक मगर र जय राम श्रेष्ठ समग्रमा १०–ओभर २ सय ८२ सहित संयुक्तरुपमा आठौं भए । दीपकले ४–ओभर ७२ र जय रामले २–ओभर ७० मा खेल सके भने प्रोतर्फ छैटौ भएका दुवैले २८ हजार ५ सय प्राप्त गरे । समग्रमा ११–ओभर २ सय ८३ को नतिजामा सञ्जय लामा दशौं भए ।

प्रतिक्रिया दिनुहोस्