Logo

सवारी कारबाहीबाट ४२ लाख राजस्व

म्याग्दीमा सवारीसाधन कारबाहीबाट ४२ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन भएको छ । चालू आर्थिक वर्षको आठ महिनामा (साउनदेखि फागुन) पाँच हजार ७५० सवारी कारबाहीबाट ४२ लाख १६ हजार राजस्व संकलन भएको जिल्ला ट्राफिक कार्यालय म्याग्दीले जानकारी दिएको छ ।

पछिल्लो आठ महिनामा ट्राफिक नियम उल्लंघन गरी सवारीसाधन चलाउनेलाई एक हजारदेखि पाँच हजार रुपैयाँसम्म जरिवाना गर्ने नियम रहेको कार्यालयका प्रहरी सहायक निरीक्षक राजेन्द्र पौडेलले बताए । कार्यालयको तथ्यांकअनुसार साउनमा ५५०, भदौमा ६ सय, असोजमा ८ सय, कात्तिकमा ९५०, मंसिरमा ८५० र पुसमा ७ सय, माघमा ९५० र फागुनमा ६५० वटा सवारी साधन कारबाहीमा परेको जिल्ला ट्राफिक कार्यालय म्याग्दीका सहायक निरीक्षक पौडेलले जानकारी दिए ।

चालू आवको साउनमा चार लाख ११ हजार ५ सय, भदौमा ४ लाख १० हजार ५ सय, असोजमा ६ लाख १ हजार ५ सय, कात्तिकमा ६ लाख ९९ हजार ५ सय, मंसिरमा ६ लाख २ हजार, पुसमा ६ लाख ९४ हजार ५ सय, माघमा ४ लाख ४४ हजार ५ सय, फागुनमा ५ लाख ५२ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

कार्यालयले सवारीसाधन अनुगमनमा लाइसेन्सविहीन सवारीसाधन चलाउने, यात्रुबाट बढी भाडा उठाउनेलाई, हेल्मेट नलगाउने, मादकपदार्थ सेवन गरी सवारीसाधन चलाउने, क्षमताभन्दा बढी यात्रु बोक्ने, क्षमताभन्दा बढी सामान बोक्ने, कागजपत्र साथमा नलिई सवारीसाधन चलाउने, सदरमुकाममा जथाभावी पार्किङ, सवारी आगमनलाई असर पर्ने गरी सडकमा रोकेमा, रातो पेलेटको सवारीसाधनले यात्रु बोकेमा कारबाही गरिएको कार्यालयले जनाएको छ ।

अघिलो आर्थिक २०७८/०७९ मा नियमविपरीत चलाउने नौ हजार ४५० वटा सवारीसाधनबाट ६३ लाख ९१ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्