‘राजस्व संकलन गर्ने नाममा व्यावसायिक फर्ममा छापा मार्नु गलत’

सरकारले बढी राजस्व उठाउने नाममा उद्योगी व्यवसायीको कम्पनी फर्ममाथि छापा मारेर दुख दिन थालेको उद्योगी उमेशलाल श्रेष्ठले आरोप लगाएका छन् । निजी क्षेत्र एकदमै समस्याबाट गुज्रिरहेको बेला सरकारले उद्योगी व्यवसायीको मनोवल उच्च बनाएर देशको अर्थतन्त्र चलायमान बनाउनतर्फ चासो नदिएको उनको आरोप छ ।
आर्थिक क्षेत्रको सम्वाहक निजी क्षेत्र हो र निजी क्षेत्र नभई सरकार नचल्ने भन्दै अहिलेको अवस्थामा निजी क्षेत्रको मनोवल उकास्न नयाँ नयाँ कार्यक्रम ल्याउनुपर्नेमा उनेल जोड दिए । “बजारमा आएको मागको गिरावटको कारण अहिले उद्योगी व्यवसायीको सामान बिक्री हुने अवस्था छैन जसका कारण बैंकको कर्जा तिर्न सक्ने अवस्थामा छैनौं” उनले भने, “हामी उद्योगी व्यवसायीले बैंकको कर्जा वा ब्याज तिर्दैनौं भनेका छैनौं तर अहिलेको अवस्थामा राष्ट्र बैंकले कर्जाको पुर्नतालिकिरण र सरकारले ब्याजमा सहुलियत दिनु जरुरी छ ।”
देशको अर्थतन्त्रमा निजी क्षेत्रले ६५ देखि ७० प्रतिशत योगदान दिँदै आएको भन्दै उनले अर्थतन्त्र जोगाउनका लागि पनि सरकारले निजी क्षेत्रको सुरक्षा दिनुपर्ने बताए । यसैगरी अहिलेको अवस्थामा व्यावसायीक हकहितका लागि महासंघमा कुशल नेतृत्व आवश्यक भएको भन्दै त्यसका लागि अब हुने अध्यक्ष चन्द्रप्रसाद ढकालको सारथी भएका वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएर अघि बढेको बताए ।
कार्यक्रममा जिल्ला नगर तर्फका प्रत्यासी दिनेश श्रेष्ठले साना तथा मझौला व्यवसायीका समस्या समाधान गर्न आफूले उम्मेदवारी दिएको बताए । उनले अहिलेको अवस्थामा व्यावसायिक हितका लागि जुटेर अघि बढ्नुपर्ने अवस्था आएको तर्क गरे ।