पूर्वी नाकाबाट पेट्रोलियम पदार्थको आयात घट्यो «

पूर्वी नाकाबाट पेट्रोलियम पदार्थको आयात घट्यो

नेपालमा भन्दा भारतमा पेट्रोलियम पदार्थको मूल्य  सस्तो भएपछि पूर्वीनाका काँकडभिट्टा भएर भित्रिने पेट्रोलियम पदार्थको आयात घटेको छ ।

गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्ष २०७९/०८० को फागुन मसान्तसम्ममा पूर्वीनाका काँकडभिट्टा भएर भित्रिने पेट्रोलियम पदार्थको आयात घटेको मेची भन्सार कार्यालय काँकडभिट्टाले जनाएको छ । पूर्वीनाका कांकडभिट्टा भएर भित्रिने पेट्रोल, डिजेल, एलपी ग्यास तथा मट्टीतेलको आयात चालु आर्थिक वर्षको शुरुदेखि नै घट्दो क्रममा रहेको मेची भन्सार कार्यालय कांकडभिट्टाले जनाएको छ ।

आर्थिक वर्ष २०७८/०७९ को फागुन मसान्तसम्ममा कांकडभिट्टा नाका भएर ३ अर्ब ७१ करोड ६७ लाख ६ सय २६ रुपैयाँ बराबरको ६७ हजार ४ सय ८० किलोलिटर पेट्रोल आयात भएकोमा आर्थिक वर्ष २०७९/०८० को फागुन मसान्तसम्ममा कांकडभिट्टा नाका भएर ३ अर्ब ५२ करोड ८० लाख ५८ हजार ६ सय ८२ रुपैयाँ बराबरको ६१ हजार ५ सय ५६ किलोलिटर पेट्रोल आयात भएको मेची भन्सार कार्यालय कांकडभिट्टाले जनाएको छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा पेट्रोलको आयात १८ करोड ८७ लाख ३२ हजार ८ सय २४ रुपैयाँले घटेको छ । अघिल्ला वर्षहरूमा वार्षिक १५ प्रतिशतको औसतदरले पेट्रोलियम पदार्थको खपत बढ्ने गरेको भएपनि यो चालु आर्थिक वर्षमा भने इन्धन खपतमा खासै सुधार आएको छैन ।

पछिल्लो समय नेपालमा पेट्रोलियम पदार्थको आयात घट्नुको मुख्यः कारण, भारतमा भन्दा नेपालमा पेट्रोलियम पदार्थको मूल्य महँगो भएकाले हो । भारतबाट पेट्रोलियम पदार्थको आयात हुने भए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य भारतमा भन्दा सस्तो हुने गरेको तर, कर कटौती तथा अन्य सुविधा दिँदा भने पेट्रोलियमको मूल्य घट्न गई नेपालमा भारतको तुलनामा पेट्रोलियम लगातार महँगो भइरहेको छ ।

पेट्रोलियम पदार्थको आयात परीमाण घट्नुमा भारतमा मूल्य सस्तो हुनु र नेपालमा विकास निर्माणमा काम कम हुनु प्रमुख कारण रहेको मेची पेट्रोलियम डिलर्स एशोसिएसनका अध्यक्ष नविन कोइरालाले बताए । पेट्रोलियम पदार्थको माग देशभरकै अनुपातमा झापामा ५० प्रतिशत र अन्य समयको तुलनामा जिल्लामा ३५ प्रतिशतले कमि आएको बताउँदै उनले यसको मुख्यः कारण मूल्यमा उतारचढावनै रहेको बताए ।

अघिल्लो आर्थिक वर्षमा नेपालको तुलनामा भारतमा पेट्रोलियम पदार्थको मूल्य महँगो भएको समयमा दैनिक ५ देखि ७ सयसम्म भारतीय सवारी साधन नेपालमा पेट्रोलियम पदार्थ खरिद गर्न आउने गरेको, कतिले त ठूला ड्रम र आफ्ना सवारीसाधनमा अतिरिक्त तेलको ट्याँकी जडान गरी अबैधरुपमा भारततर्फ लैजाने गरेपनि अहिले नेपालमा भन्दा भारतमा पेट्रोलियम पदार्थको मूल्य कम भएकाले सीमा क्षेत्रका नेपालीहरुले भारतमा गएर पेट्रोलियम पदार्थको खरिद गरेकाले पेट्रोलियम पदार्थको आयात परीमाणमा कमी आएको उनले बताए ।

सामान ढुवानीको लागि भारत गएका गाडीहरुले पनि उतैबाट पेट्रोल लोड गरेर आउँदा नेपालमा पेट्रोलियम पदार्थको आयात परीमाण घटेको उनले बताए । नेपालमा पेट्रोलियम पदार्थ महंगो हुँदा भारततर्फ हुने इन्धन तस्करी रोकिएको झापाका एक पम्प व्यवसायीले बताए । अघिल्ला आर्थिक वर्षहरुमा पेट्रोल–डिजेल भारतको तुलनामा नेपालमा प्रतिलिटर ३० देखि ४० रुपैयाँसम्म सस्तो भएको बताउँदै उनले सीमा क्षेत्रका पेट्रोलपम्पबाट ठूलो परीमाणमा इन्धन तस्करी भई भारत जाने गरेको जनाए ।

पेट्रोल–डिजेल भारतको तुलनामा नेपालमा प्रतिलिटर ३० देखि ४० रुपैयाँसम्म सस्तो भएको समयमा सीमा क्षेत्रका पम्पले पेट्रोल र डिजेल दैनिक दुई ट्यांकरसम्म बिक्री गरेको उनले बताए । त्यस्तै अघिल्ला आर्थिक वर्षहरुको तुलनामा चालु आर्थिक वर्ष पूर्वी नाकाबाट हुने डिजेलको आयातसमेत ३९ करोड ३७ लाख ६५ हजार ६ सय ८२ रुपैयाँले कम भएको मेची भन्सार कार्यालय कांकडभिट्टाले जनाएको छ ।

अघिल्ला वर्षमा २ अर्ब ३६ करोड ८३ लाख ४० हजार ४ सय १७ रुपैयाँबराबरको ६२ हजार ६ सय ८३ किलोलिटर डिजेल आयात भएकोमा चालु आर्थिक वर्षमा १ अर्ब ९७ करोड ४५ लाख ७४ हजार ७ सय ३५ रुपैयाँ मूल्य बराबरको ४५ हजार ५ सय ५२ किलोलिटर डिजेल आयात भएको मेची भन्सार कार्यालय कांकडभिट्टाले जनाएको छ । त्यस्तै खाना पकाउने ग्यास (एलपीजी) को आयात समेत घटेको मेची भन्सार कार्यालय कांकडभिट्टाले जनाएको छ ।

अघिल्लो आर्थिक वर्षमा कांकडभिट्टा नाका भएर ३४ करोड ३९ लाख ३४ हजार ३ सय ४५ रुपैयाँ मूल्य बराबरको १६ करोड ५७ लाख ४ हजार ३३ केजिएम खाना पकाउने ग्यास (एलपीजी) को आयात भएकोमा चालु आर्थिक वर्षमा ३२ लाख ८१ हजार ५९ हजार ५ सय ३० रुपैयाँ वा १५ करोड ५७ लाख ५६ हजार ६ सय ६० केजिएममा सीमित रहेको र त्यो रकम र केजिएम अघिल्लो आर्थिक वर्षको तुलनामा १ करोड ५७ लाख ७४ हजार ८ सय १५ रुपैयाँले कम भएको मेची भन्सार कार्यालय कांकडभिट्टाले जनाएको छ ।

त्यस्तै मट्टितेलको आयातसमेत घटेको मेची भन्सार कार्यालय कांकडभिट्टाले जनाएको छ । अघिल्लो आर्थिक वर्षमा सो नाका भएर ३३ करोड ६ हजार ४८ हजार रुपैयाँ मूल्य बराबरको २ हजार ८ सय ८ किलोलिटर मट्टितेल आयात भएकोमा चालु आर्थिक वर्षमा १५ करोड ६४ लाख ८ हजार रुपैयाँ मूल्य बराबरको १ हजार ३ सय ४ किलोलिटर मट्टितेल मात्र आयात भएको मेची भन्सार कार्यालयले जनाएको छ । पेट्रोलियम पदार्थको आयात कम हुँदा राजस्व संकलनमा प्रत्यक्ष असर परेको भन्सार कार्यालयको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्