महतलाई शुभकामना «

महतलाई शुभकामना

मुलुकको अर्थतन्त्रमा विभिन्न खालका समस्या देखिएका बेला अर्थमन्त्रीको जिम्मेवारीमा नेपाली कांग्रेसका नेता प्रकाशशरण महत आएका छन् । महत अर्थशास्त्रमा पिएचडी गरेका नेता हुन् । पछिल्ला केही वर्षपछि मुलुकले फेरि अर्थशास्त्रीलाई अर्थमन्त्रीका रूपमा पाएको छ । महतले जिम्मेवारी लिँदै गर्दा अर्थतन्त्रको एउटा पाटो सुखद र अर्को पाटो समस्याग्रत छ ।

अर्थतन्त्रको बाह्य क्षेत्रमा सुधार आएर विदेशी विनिमय सञ्चिति बढेको छ । उच्च आयात रोकिएको छ भने रेमिटेन्स आय पनि बढेको छ । योबाहेक अर्थतन्त्रका अरू सबै क्षेत्र समस्याग्रस्त छन् । निजी क्षेत्र आत्मविश्वास गुमाएर विभिन्न माग राखी सडकमा उत्रेको छ । उत्पादनदेखि उपभोगसम्मको अर्थतन्त्रको चक्र प्रभावित भएको छ । बैंक ब्याजदरमा कमी नआउँदासम्म बजारको समस्या तत्काल समाधान हुने देखिँदैन । बेरोजगारी बढेको छ ।

सरकारको राजस्व असुली न्यून भएका कारण खर्च कटौती गर्नुपर्ने अवस्था आएको छ । सर्वसाधारण महँगीले पिल्सिन पुगेका छन् । आन्तरिक उत्पादन घटेको छ । समग्रमा अर्थतन्त्र मन्दीउन्मुख छ । अर्थतन्त्रलाई सुरक्षित अवतरण गराउने जिम्मेवारी अब अर्थमन्त्री महतको काँधमा आएको छ । महतसँग करिब एक वर्षदेखि सडकमा उत्रिएको निजी क्षेत्रलाई ‘कन्भिन्स’ गर्नुपर्ने पहिलो जिम्मेवारी आएको छ ।

अहिलेको अर्थतन्त्रको असजिलो फुकाउन महतसँग सैद्धान्तिक ज्ञान र अनुभव छ । आगामी दिनमा यही अनुभव र ज्ञान प्रयोग गरेर महतलाई सफलता मिलोस् ।

निजी क्षेत्रलाई अगाडि नबढाएसम्म अर्थतन्त्र चलायमान हुन सक्दैन । अहिले चर्को ब्याजदर र महँगीका कारण उपभोगमा आएको कमीले निजी क्षेत्र उत्पादन कटौती गरेर बसेको छ । पूर्वाधार निर्माणको अहिलेको समयमा पनि त्यससँग सम्बन्धित निर्माण सामग्रीको उत्पादन क्षमताको आधा हुन सकेको छैन । यो एउटा क्षेत्रको उदाहरण मात्र हो । सबै क्षेत्रको अवस्था यस्तै छ । त्यसैले महतले सबैभन्दा पहिला बजारलाई चलायमान गराउने नीतिगत निर्णयहरू लिन सक्नुपर्छ ।

बजार नखुलाएसम्म समस्या जस्ताको तस्तै रहनेछ । बजार खुलाउने अहिलेको प्रमुख साँचो ब्याजदर नै हो । कुन–कुन उपाय अपनाएर हुन्छ, ब्याजदरलाई व्यवसायीहरूले भनेजस्तै एकल बिन्दुमा नभए पनि तल झार्ने काम गर्न सक्नुपर्छ । महतको आफ्नै मन्त्रालयभित्र पनि समस्या छन् । राजस्व असुली न्यून हुँदा खर्च कटौती गर्नुपरेको छ । सरकार आफैंले पुँजीगत खर्च बढाउन नसकेका कारण बजारमा पैसा पुगेको छैन ।

सरकारी खर्च बढेर बजारमा पैसा पुगे ब्याजदर कम गर्न सहयोग पुग्छ । यसका लागि महतले विकासे मन्त्रालयहरूलाई दबाब दिन सक्नुपर्छ । यस्तै, पछिल्ला वर्षहरूमा राजस्व अपचलनको दर पनि बढेको छ । यसलाई रोकेमात्र राजस्व असुलीमा सुधार आउनेछ । ठूला भन्सार नाकाबाट राजस्व चुहावट भएका घटना दैनिकजसो सार्वजनिक भइरहेका छन् ।

भन्सारका कर्मचारी र प्रहरी प्रशासनको मिलोमतोमा यस्तो भइरहेको छ । आयकर, मूल्य अभिवृद्धि कर र अन्तःशुल्कमा पनि अपचलन कायमै छ । नक्कली भ्याट बिल बनाएर ठगी हुन थालेको वर्षौं भएको छ । तर, निगरानी र कारबाही निकै फितलो छ । यस्तोमा महतले अर्थ प्रशासनलाई फेरि एकपटक ‘रिभाइभ’ गर्नुपर्नेछ ।

यसअघि धेरै जना गैरअर्थशास्त्री अर्थमन्त्री बनेका थिए । कृष्णबहादुर महरादेखि सुरु भएको यो प्रचलन जनार्दन शर्मासम्म आएको थियो । अर्थतन्त्र समस्यारहित बनेका बेला गैरअर्थशास्त्रीहरूले पनि अर्थमन्त्रालय चलाए । दक्षता र अनुभव हासिल गरेका सचिव र महाशाखा प्रमुखहरू राखेका कारण गैरअर्थशास्त्रीहरूले पनि मन्त्रालय चलाउन सकेका हुन् । तर, समस्या आएको बेलामा कर्मचारीको मात्र भरथेगले मन्त्रालय चल्दैन ।

कर्मचारीले नीतिगत ‘डिपार्चर’ मा धेरै साहस देखाउँदैनन् । भोलि समस्या आयो भने आफ्नो ‘करियर’ मा समस्या आउँछ भन्ने डर कर्मचारीमा हुन्छ । दुई वर्षयताको पाठले पनि हामीलाई त्यस्तै देखाएको छ । अघिल्लो वर्ष मुलुकको बाह्य क्षेत्र समस्याग्रस्त हुँदा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले समस्या छैन भनेरै बिताए । गत वर्षदेखि नै समस्यालाई चिर्न खोजेको भए यो वर्ष यति ठूलो समस्या पक्कै आउने थिएन । यसैले कर्मचारीले भरथेग मात्र गर्ने हो ।

मुलुकलाई कसरी अगाडि बढाउने भन्ने जिम्मेवारी अर्थमन्त्रीकै हो । यही कारण अर्थशास्त्री अर्थमन्त्री चाहिएको हो । निजी क्षेत्रलाई आत्मविश्वास गुमाउन नदिन सरकार वा एउटा अर्थमन्त्रीले मात्र पनि धेरै ठूलो भूमिका निर्वाह गर्न सक्छ । हाम्रोमा न सरकारले त्यस्तो काम गर्न सक्यो, न त अर्थमन्त्रीले नै । निजी क्षेत्र पटक–पटक समस्या र समाधानका उपाय लिएर सरकारसँग पुग्दा पनि ‘यो र त्यो’ को बहानामा अल्झाउने प्रवृत्ति रह्यो ।

खासमा अर्थमन्त्रीको जिम्मेवारीमा गैरअर्थशास्त्री बसेको र उसलाई सुधारको उपाय थाहा नभएकै कारण यस्तो भएको हो । त्यसैले अर्थशास्त्रको सामान्य पनि ज्ञान र अनुभव नभएको नेतालाई अर्थमन्त्रीको जिम्मेवारी नदिऔं । ढिलो भए पनि मुलुकले फेरि एकपटक अर्थशास्त्रीलाई अर्थमन्त्रीका रूपमा पाएको छ । अर्थ नचलाए पनि महतसँग यसअघि अन्य मन्त्रालय सम्हालेको अनुभव छ ।

सरकार र मन्त्रालय कसरी चल्छन् भन्ने ज्ञान भएपछि अहिलेको अर्थतन्त्रको असजिलो फुकाउन महतसँग सैद्धान्तिक ज्ञान र अनुभव छ । आगामी दिनमा यही अनुभव र ज्ञान प्रयोग गरेर महतलाई सफलता मिलोस् । महत सफल भए मुलुकले पनि समस्याबाट पार पाउनेछ ।

प्रतिक्रिया दिनुहोस्