पदयात्रामा पथप्रदर्शक अनिवार्य

पर्वतीय पदयात्रामा जाने पर्यटकले अनिवार्य रुपमा पथप्रदर्शक (गाइड) लैजानुपर्ने भएको छ । शनिबारदेखि सरकारले ‘पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स)लाई व्यवस्थित गर्नेसम्बन्धी संशोधित नयाँ मापदण्ड२०७९’ जारी गरेसँगै यो व्यवस्था लागु भएको हो । नेपालको पदयात्रालाई सुरक्षित र व्यवस्थित बनाउन टिम्स सुरुवात गरिएको हो ।
पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पदयात्री सूचना व्यवस्थापन प्रणालीको औपचारिक रुपमा शुभारम्भ गरेका छन् । नयाँ नियमले पदयात्रा तथा पर्वतीय पर्यटनलाई थप सुरक्षित बनाई विश्व पर्यटन बजारमा नेपाललाई सुरक्षित गन्तव्यको रुपमा चिनाउने ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष निलहरि बाँस्तोलाले बताए ।
उनले भने, “नयाँ व्यवस्थाले यस क्षेत्रलाई थप गुणस्तरीय र प्रतिस्पर्धी बनाउने, पर्वतीय पर्यटन क्षेत्रमा संलग्न उद्यमी–व्यवसायीहरुको आत्मविश्वास बढाई थप लगानी आकर्षित गर्ने, रोजगारी वृद्धि गर्ने र पर्वतीय पर्यटनद्वारा राज्यको कुल गार्हस्थ्य उत्पादनमा योगदान पुर्याउने छ ।” अध्यक्ष बाँस्तोलाका अनुसार सरकारले हिमाली क्षेत्रको पदयात्रालाई सुरक्षित बनाउन यो प्रणाली लागु गरेको हो ।
नेपाल पर्यटन बोर्डको कार्यकारी समिति बैठकले यो प्रणालीलाई व्यवस्थित गर्ने सम्बन्धी संशोधित मापदण्ड–२०७९ जारी गरेको हो । नयाँ व्यवस्था लागू गर्न बोर्डले मातहतका निकायमा परिपत्र पठाएको छ । नयाँ व्यवस्थाअनुसार पर्वतीय पदयात्रामा निस्किने पर्यटकका लागि सम्बन्धित कम्पनीबाट सहयोगी र टिम्स अनुमतिपत्र लिएर भ्रमणमा निस्किनु पर्ने छ ।
पदयात्रीहरुले अनलाइन पद्धतिबाट विद्युतीय टिम्स अनुमति प्राप्त गर्न सक्नेछन् । १० जना पर्यटकको समूह बनाएर विदेशी पर्यटकले पदयात्रामा पथप्रर्दशक लिएर पर्वतीय क्षेत्रमा भ्रमण गर्न पाउने छन् । हिमाल आरोहणमा जाने आरोही, अध्यागमन विभागबाट अनुमतिपत्र लिई नेपाल सरकारले तोकेका क्षेत्रमा जाने पर्यटकको लागि टिम्स अनुमतिपत्र लिनु पर्दैन ।
तर पर्यटकको साथमा अध्यागमन विभागबाट जारी गरेको अनुमतिपत्र अनिवार्य रुपमा हुनु पर्नेछ । पदयात्रीको साथमा जाने दश वर्ष मुनिका बालबालिकाको हकमा टिम्स अनुमतिपत्र आवश्यक पर्ने छैन । अनिवार्य पथप्रदर्शकको व्यवस्थाले नेपाल भ्रमणमा आएका पर्वतीय पर्यटक हराउने, मृत्यु हुने घटना कम हुने अपेक्षा गरिएको छ ।
यसले गर्दा पदयात्राको क्षेत्र सुरक्षित भएर रोजगारी पनि वृद्धि हुने अनुमान छ । टिम्स कञ्चनजंघा, मकालु बरुण क्षेत्र, एभरेष्ट क्षेत्र, रोल्वालिङ, हेलम्बु, लामटाङ, गणेश हिमाल, रुवि भ्याली, मनास्लु, अन्नपूर्ण, मुस्ताङ, डोल्पा र हुम्लालगायत ४३ वटा पदमार्गमा लागु हुनेछ ।