Logo

तीन वर्षपछि खुल्यो केरुङ नाका

नेपाल–चीन प्रमुख व्यापारिक नाका केरुङ (रसुवागढी) पूर्ण रुपमा सञ्चालनमा आएको छ । कोभिड महामारीसँगै ठप्प रहेको यो नाका गत जेठबाट आंशिक सञ्चालनमा आएकोमा शनिबारबाट पूर्ण सञ्चालनमा आएको हो । काठमाडौंस्थित चिनियाँ राजदूतावासले रसुवागढी नाका शनिबारबाट दुईतर्फी रूपमा सञ्चालनमा आएको पुष्टि गरेको छ ।

कोभिड महामारीपछि पहिलोपटक शनिबार नेपाली नागरिकले यो नाकाबाट तिब्बत प्रवेशको अनुमति पाएका छन् भने केही नेपाली सामान पनि निर्यात भएको छ । “रसुवागढी नाका दुईतर्फी रूपमा मानिसको आवतजावत सहित पूर्ण सञ्चालनमा आएको छ । रसुवा पुल पार गरेर चीन प्रवेश गरेका पहिलो नेपाली समूहलाई हार्दिक स्वागत छ,” नेपालका लागि चिनियाँ राजदूत चेन सोङले ट्विट गर्दै भनेका छन्, “यसले द्विपक्षीय सहयोग र जनताबीचको आदानप्रदानलाई अझ गहिरो बनाउने मैले विश्वास लिएको छु ।”

कोभिड महामारी सुरु भएसँगै चीनले नेपालतर्फबाट सबै नाका बन्द गरेको थियो । गत जेठमा चीनबाट नेपालतर्फ एकतर्फी रुपमा मात्र सामान ल्याउने गरी नाका सञ्चालनमा ल्याइए पनि आंशिक क्षमतामा मात्र सञ्चालनमा आएको थियो । सरकारका प्रतिनिधि तथा राजनीतिक दलका नेताहरुले दुईतर्फी रुपमा नाका खुलाउन पहल गर्दै आएका थिए । नेपाली व्यवसायीहरुले भने चीनले नेपाललाई अघोषित नाकाबन्दी लगाएको टिप्पणी गर्दै आएका थिए ।

चीनसँग जोडिएका केरुङ र रसुवागढी नाका द्विपक्षीय सहमति भन्दा पनि चीनकै एकपक्षीय निर्णयमा खुल्ने–बन्द हुने गर्दै आएका छन् । चीनले के कारणले नाका बन्द गरेको हो र कति समयका लागि बन्द रहन्छ भन्ने सवालमा सकेसम्म नेपाल पक्षलाई गौण राख्ने गरिन्छ । यसले दुई देशबीचको आपसी समझदारी, मित्रता र सद्भावमा कतै न कतै प्रश्न खडा गरेको छ । अहिले पनि तातोपानी नाका बन्द छ ।

यसअघि सीमा, व्यापार र सहयोगसम्बन्धी नेपाल–चीन समन्वय संयन्त्रको पहिलो बैठकमा अप्रिल १ (चैत १८) देखि रसुवागढी÷केरूङ नाका पूर्ण रूपमा सञ्चालन गर्ने सहमति भएको थियो । बुधबार चीनको स्वशासित क्षेत्र तिब्बतको राजधानी ल्हासामा भएको बैठकमा नेपालका तर्फबाट वाणिज्य सचिव मधु मरासिनी सहितको प्रतिनिधिमण्डल सहभागी थियो ।

चिनियाँ पक्षको नेतृत्व तिब्बत सरकारका उपाध्यक्ष चेन योङ्छीले गरेका थिए । नेपाली पक्षको अनुरोधमा नाकामा बहुउपयोगी प्रयोगशाला स्थापना गर्न पनि चिनियाँ पक्ष सहमत भएको छ । बैठकमा कृषि उत्पादन, मासु, औषधीजन्य जडिबुडीको व्यापारमा सहकार्य गर्ने विषयमा पनि छलफल भएको जनाइएको छ । नेपाली पक्षले काठमाडौं– ल्हासा सिधा उडान सकेसम्म चाँडो पुनः सञ्चालन गर्न पनि अनुरोध गरेको थियो ।

ल्हासास्थित नेपाली महावाणिज्य दूतावासका अनुसार केरुङ नाका सञ्चालनको एक महिनापछि सिन्धुपाल्चोकको तातोपानी नाका पनि पूर्ण रूपमा सञ्चालन गर्ने सहमति भएको छ । चीनसँगका यी दुई नाका पूर्ण रूपमा नचल्दा चीनबाट नेपालमा हुने आयातका लागि तेस्रो देशको बाटो प्रयोग गर्नुपरेको छ । नेपाली पक्षले भारतको कोलकातासम्म जलमार्गबाट र त्यसपछि स्थलमार्ग हुँदै सामान ल्याउने गरेको छ । यसका कारण समय र मूल्य बढेर व्यवसायी र उपभोक्ता मारमा पर्दै आएका छन् ।

निकासी बढ्ने अपेक्षा

निजी क्षेत्रले चीनतर्फका प्रमुख नाका सञ्चालनमा आएसँगै नेपाल–चीन व्यापार पुरानै लयमा फर्कने अपेक्षा लिइएको प्रतिक्रिया दिएका छन् । नेपाल चीन उद्योग वाणिज्य संघका अध्यक्ष त्रिभुवनधर तुलाधरले स्थलनाका खुलाउनुपर्ने तथा कोटा प्रणाली खारेज गरिनुपर्ने आफूहरुको माग सम्बोधन भएको बताए ।

“केरुङ नाका खुलेको र तातोपानी पनि चाँडै पूर्ण क्षमतामा सञ्चालनमा आउने सहमतिले हामी उत्साहित छौं,” अध्यक्ष तुलाधरले भने, “यससँगै चीनसँग कहालीलाग्दो अवस्थामा रहेको व्यापारघाटामा कमी आउनेछ भने समग्रमा यसबाट दुवै देशलाई फाइदा हुने देखिन्छ ।” नाकाहरु पूर्ण क्षमतामा सञ्चालनमा आएसँगै चीनले भन्सार छुटको सुविधा दिएका वस्तुहरुको निकासी बढाउन सकिने तथा त्यसका लागि नेपाली व्यवसायीहरुले पनि थप गृहकार्य गर्नुपर्ने उनको भनाइ छ ।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको ८ महिनासम्ममा नेपालबाट चीनतर्फ जम्मा ५१ करोड ९३ लाख ६६ हजार रुपैयाँ बराबरको निकासी भएको छ भने चीनबाट नेपालमा १ खर्ब ४५ अर्ब ७८ करोड ५७ लाख ५१ हजार रुपैयाँ बराबरको आयात भएको छ । यसरी आठ महिनामा चीनसँग नेपालको १ खर्ब ४५ अर्ब २६ करोडको व्यापारघाटा भएको छ ।

चीनले नेपाललाई ८ हजारभन्दा बढी वस्तुको निकासीमा भन्सार छुट सुविधा दिँदै आए पनि त्यसको सदुपयोग हुन सकेको छैन । नेपालको दोस्रो ठूलो व्यापारिक साझेदार मलुक चीनमा नेपालले खाद्यान्नदेखि घरेलु उत्पादनहरु निर्यात गर्दै आएको छ । नेपालबाट चीनमा अगरबत्ती, हस्तकला, कपाल, पश्मिना, छाला, औषधि, म्युजिकल उपकरण, चाउचाउ, तयारी पोशाक, रुद्राक्ष, चिया, तरकारी, पिठो, उनी गलैंचालगायतका वस्तुहरु निर्यात हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्