चैतको किस्ता तिर्न असारसम्मको समय माग

पर्यटन व्यवसायीहरूले बैंक तथा वित्तीय संस्थाहरुको किस्ता तथा ब्याज रकम यही चैत मसान्तभित्र तिर्न नसक्ने बताएका छन् । कोभिड–१९ पछि देशमा देखा परेको आर्थिक मन्दीका कारण चैत मसान्तमा तिर्नुपर्ने आर्थिक दायित्वलाई सार्नुपर्ने उनीहरुको माग छ ।
यसअघि धान्दै आएको किस्ता यसपालि भने मिलान गर्ने अवस्था नरहेकाले कर्जाको भुक्तानी आगामी असार मसान्तसम्मलाई पुनर्तालिकीकरण गर्नुपर्ने पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले माग गरे । कोभिडपछि आर्थिक मन्दीका कारण पर्यटन व्यवसाय पनि निकै कठिन परिस्थितिमा भएकाले हाल चैत मसान्तको किस्ता असार मसान्तसम्मलाई सार्नुपर्ने उनको भनाइ छ ।
अघिल्लो वर्ष सरकारले ल्याएका कार्यक्रम पुनर्कर्जा कोष, पुनर्तालिकीकरण र व्यावसायिक जीवन रक्षा कोषजस्ता सुविधाहरुको समयावधि न्यूनतम ३ वर्ष हुनुपर्ने परिषद्ले माग गरेको छ । सुविधा नवीकरणसहित उक्त सुविधाबाट वञ्चित व्यवासायीलाई यस आर्थिक वर्षमै उपलब्ध गराउनुपर्ने अध्यक्ष श्रेष्ठले माग गरे ।
कोभिडको पहिलो लहरपछि व्यवसायीहरुको लागि कर्जा मिलान गर्न प्रवाह गरेको अतिरिक्त कर्जा (बढीमा १० प्रतिशतसम्म) बैंकहरुले मिलान गर्नका लागि ताकेता गरिराखे पनि उक्त कर्जा अवधि हालको अवस्थामा व्यवसायीलाई फिर्ता गर्न थप एक वर्ष थपिदिनुपर्ने उनीहरुको माग छ । यस्तै, निक्षेपमा बैंकर्स संघको ब्याजदर नबढाउनेमा सहमत देखिए पनि घटाउनमा पहल नगरेकाले यसलाई तुरुन्त परिमार्जन गरी बैंक तथा वित्तीय संस्थाहरुको कर्जाको ब्याजदर एक अंकमा झारिनुपर्ने अध्यक्ष श्रेष्ठले बताए ।
बैंक तथा वित्तीय संस्थाबाट प्रवाह गरिने कर्जाको निश्चित प्रतिशत ऋण सहुलियत ब्याजदरमा कृषिमा जस्तै पर्यटन उद्योगमा अनिवार्य लगानी गर्ने गरी व्यवस्थित गरिनुपर्ने अध्यक्ष श्रेष्ठको माग छ । पर्यटन उद्योगमा थप लगानी नगर्ने नीति तुरुन्त परिमार्जित गरी कम्तीमा १० प्रतिशत गाइडेड लोनको व्यवस्था हुनुपर्ने, गण्डकी प्रदेश सरकारले ल्याएको व्यवसायी जीवन रक्षा कर्जा र नेपाल सरकारलेल्याएका सहुलियतका कर्जाहरुलाई निरन्तरता दिई अझ सजिलो र झन्झटमुक्त प्रकृयाबाट ऋण प्रवाह गर्नुपर्ने व्यवसायीको माग रहेको छ ।
साथै प्रदेश सरकार र स्थानीय सरकारलाई तिर्नुपर्ने दायित्वहरुको अतिरिक्त शुल्क मिनाहा गरी अर्काे आर्थिक वर्षको असोज मसान्तसम्म तिर्ने भाका बढाइदिनु पर्ने उनले आग्रह गरे । पोखरा अन्तर्राष्ट्रिय एयरपोर्ट पर्यटन बजारमा पुनरुत्थानका लागि कोशेढुंगा सावित हुनेछ भन्ने आशामा उत्साहित व्यवसायी अन्तर्राष्ट्रिय उडान नहुनु र पहलमा देखिएको सुस्तताले थप निराश बनाएको व्यवसायीले गुनासो गरे ।
यस आर्थिक वर्षमा सरकारले नीतिगत रुपमा नसमेटेको कारण देखाउँदै बैंक तथा वित्तीय संस्थाहरुले व्यवसायीका दायित्वलाई चैत मसान्तको त्रैमासिक अन्त्यमा मिलान गर्नुपर्ने गरी व्यवसायीलाई भएको ताकेताले त्रसित गर्ने काम भएको उनले जनाए । होटल संघ नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले व्यवसायीले हाल बत्ती, पानी टेलिफोन र इन्टरनेटको समेत पैसा तिर्न नसक्ने अवस्थामा पुगेको बताए । पोखरामा पर्यटन आगमन कमी भएका कारण केही ठाँउमा खानासहित आवासको ५ सय रुपैयाँमा समेत पर्यटकलाई सेवा प्रदान गरिएको उनले बताए ।
पोखरा क्षेत्रमा हाल होटल अपुकेन्सी करिब १५ देखि २० प्रतिशत रहेको दाबी गरेका सुवेदीले पोखराका दक्ष कामदार बाहिरिएको गुनासो गरे । होटल संघले आयोजना गर्ने फेवा नव वर्ष महोत्सवका लागि हाल होटल होटलमा प्रायोजकको रुपमा ब्यानर संकलन गर्ने अभियानमा रहेको उनले जनाए ।
पोखरा उद्योग वाणिज्य संघका प्रतिनिधि राम कँडेलले ७ प्रतिशतको ब्याजदर बढेर हाल दोब्बर हुनु त्यसको ब्याज तिर्न नसक्ने अवस्थामा व्यवसायीहरु पुगेको उनले बताए । वृद्धि भएको ब्याजदरलाई राष्ट्र बैंकले नियमन गर्न नसेकेको उनको गुनासो थियो । परिषद्का उपाध्यक्ष कृष्ण भण्डारीले कोभिडबाट थलिएको पोखराको पर्यटन व्यवसाय माथि उठ्न लाग्दा विमान दुर्घटनाले गर्दा थप प्रभावित भएको बताए । सडक मार्गमा समेत हाल सडक निर्माण प्रकृया चलेकाले पर्यटक आगमनमा समस्या भएको उनले जनाए ।