सामसङ ग्यालेक्सी ए५४ ५जी र ए३४ ५जी सार्वजनिक

सामसङले नयाँ ग्यालेक्सी ए३४ ५जी र ग्यालेक्सी ए५४ ५जीलाई नेपाली बजारमा उपलब्ध गराएको छ । यी फोनहरूमा धेरै समयसम्म टिक्ने ब्याट्री र विस्तारित मनोरञ्जनात्मक विशेषता रहेका छन् । यी फोनमा फ्लोटिङ क्यामराका साथसाथै मोबाइलको रङसँग मिल्ने मेटल क्यामरा डेकोको सुविधा पनि रहेको छ ।
ग्यालेक्सी ए–सिरिजमै पहिलो पटक ए५४ ५जीमा यसलाई प्रिमियम बनावट र अनुभव दिलाउने ग्लास ब्याक विशेषता जडित रहेको कम्पनीको भनाइ छ । ग्यालेक्सी ए५४ ५जी ३ रङहरू कालो, हरियो र बैजनी रङमा उपलब्ध छ भने ग्यालेक्सी ए३४ ५जी पनि कालो, हरियो र सिल्भर गरी ३ रङहरूमा उपलब्ध छ । ग्यालेक्सी ए५४ ५जी र ग्यालेक्सी ए३४ ५जीको निर्माण लामो समयसम्म टिक्ने गरी गरिएको छ ।
कम्पनीका अनुसार यी मोबाइल ३० मिनेटसम्म एक मिटर पानीमा डुब्दा पनि क्षति नहुने खालका छन् । जसको लागि यसले आइपी६७ रेटिङ पाएको जनाइएको छ । यसका साथै अझै बलियो बनाउनका लागि यी मोबाइललाई धुलो र बालुवा प्रतिरोधक पनि बनाइएका छन् । यी दुवै मोबाइलहरूका डिस्प्ले कर्निङ गोरिल्ला ग्लास ५ संरक्षणका साथ उपलब्ध छन्, जसले कोरिन दिँदैन र खस्दा समेत फुट्ने सम्भावना रहन्न ।
ग्यालेक्सी ए५४ ५जीको पछाडिको भागमा पनि गोरिल्ला ग्लास ५ संरक्षण जडित छ । पछिल्लो ए–सिरिज लन्चको, सामसङले पहिलो पटक २५६ जिबी मेमोरी भेरियन्टलाई ६० हजार रुपैयाँमा प्रस्तुत गरेको छ । जसले किफायती मूल्यमा उच्च प्रदर्शन उपकरणहरू प्रदान गर्ने ब्रान्डको प्रतिबद्धतालाई संकेत गर्ने कम्पनीको भनाइ छ ।
दुवै ग्यालेक्सी ए५४ ५जी र ग्यालेक्सी ए३४ ५जी २ वटा मेमोरी प्रकारहरूमा उपलब्ध छ, जसमध्ये ग्यालेक्सी ए५४ ५जीको ८ जिवी र्याम र १२८ जिबी आन्तरिक स्टोरेज भएकोलाई ५६ हजार ९९९ रुपैयाँ र ८ जीवी र्याम र २५६ जिबी आन्तरिक स्टोरेज क्षमता भएकोको मूल्य ५९ हजार ९९९ रुपैयाँ तोकिएको छ ।
यस्तै, ए३४ ५जिको ८ जीवी र्याम र १२८ जीवी आन्तरिक स्टोरेज भएकोको मूल्य ४५ हजार ९९९ रुपैयाँ रहेको छ, जसमा माइक्रो एसडी कार्डको प्रयोगमार्फत् १ टिबिसम्मको आन्तरिक मेमोरी बढाउन सक्ने सुविधा रहेको कम्पनीले जनाएको छ ।