ज्येष्ठ नागरिकका गुनासो : सेवामा प्राथमिकता पाएनौं

जुम्लाका ज्येष्ठ नागरिकले संविधान प्रदत्त अधिकारअनुसार सेवामा छुटदेखि प्राथमिकता नपाएको गुनासै गुनासा गरेका छन् । नेपालको संविधानले व्यवस्था गरेका ज्येष्ठ नागरिकका हक अधिकार कार्यान्वयमा स्थानीय तह मौन रहेको उनीहरूको गुनासो छ ।
बिहीबार ज्येष्ठ नागरिक संघमा पत्रकार महासंघको ६८औं स्थापना दिवसका अवसरमा आयोजित फलफूल वितरण तथा छलफल कार्यक्रममा सहभागी ज्येष्ठ नागरिकले निःशुल्क स्वास्थ्योपचार, यातायात सेवामा छुट, सहज बैंकिङ सेवाजस्ता कुनै पनि क्षेत्रमा छुटदेखि प्राथमिकता नपाएकोे गुनासो गरेका हुन् । ज्येष्ठ नागरिक संघ जुम्लाका कार्यवाहक अध्यक्ष तुलराम न्यौपानले संघीयतापछि तीनै तहका सरकारबाट ज्येष्ठ नागरिकको संरक्षण, सम्मान, सेवा सुविधाका विषय ओझेलमा परेको बताए ।
उनले भने, “अस्पतालमा निःशुल्क उपचार, यातायातमा ५० प्रतिशत छुट, निःशुल्क स्वास्थ्य बिमालगायतका ज्येष्ठ नागरिकका अधिकार कुण्ठित छन् । समयमै सामाजिक सुरक्षा भत्ता पाउँदैछन् । बैंक जाँदा, स्वास्थ्य संस्था जाँदा लाइनमा बस्नु पर्ने बाध्यता छ । पत्रकार महासंघले हाम्रा समस्याबारे वकालत गर्दै आए पनि सुनुवाइ भएको छैन । ”
लक्षित वर्ग (दलित, महिला, अपांग, ज्येष्ठ नागरिक, बालबालिका, एकल महिला)लाई स्थानीय तहले उपेक्षा गरेको उनको भनाइ छ । ज्येष्ठ नागरिकको सुरक्षा, सेवा सुविधा तथा हक अधिकार कार्यान्वयनका लागि जुम्लाका आठै स्थानीय तह मौन रहेको ज्येष्ठ नागरिक पुरुनाथ न्यौपानले बताए । उनका अनुसार उपचार गर्दा अस्पताल, यात्रा गर्दा गाडीमा, बैंकमालगायत सबै क्षेत्रमा ज्येष्ठ नागरिक हेला र अपहेलित भइरहेका छन् ।
दिवसका नाममा स्थानीय तहले कम्बल, हर्लिक्स दिएर चित्त बुझाए पनि ठोस रूपमा ज्येष्ठ नागरिकको हित हुने नीति बनाउन नसकेको उनको भनाइ छ । प्रशासन, प्रहरी, नगरपालिका, गाउँपालिकादेखि विकासे कार्यालयका, अस्पतालका सेवादेखि संरचना पनि ज्येष्ठ नागरिकमैत्री नभएको उनको गुनासो छ । यातायातमा पनि त्यस्तै समस्या छ ।
ज्येष्ठ नागरिक भवानीप्रसाद न्यौपाने भन्छन्, “भाडादरमा छुट पाउनु त परै जावस् ज्येष्ठ नागरिकको सिट पनि सुरक्षित छैन । अस्पतालमा त्यस्तै छ । बैंकमा पाइने सास्तीको कुरै नगरौं । ज्येष्ठ नागरिकका तमाम समस्याको हल गर्न स्थानीय सरकार मौन छ ।” हाल ज्येष्ठ नागरिक संघको भवनमा खानेपानी नहुँदा दैनिक आउने ज्येष्ठ नागरिकलाई शौचालय जान पनि मुस्किल छ ।
६८औं स्थापना दिवसका अवसरमा ज्येष्ठ नागरिक संघमा आबद्ध झण्डै ५० जना ज्येष्ठ नागरिकलाई फलफूल वितरण गरिएको छ । पत्रकार महासंघले ज्येष्ठ नागरिकको सुरक्षा संरक्षण तथा सम्मानका लागि वकालत गर्दै आएकोमा समेत खुसी व्यक्त गरेका छन् । हाल ज्येष्ठ नागरिक संघमा २२३ जना आजीवन सदस्य छन् ।
ज्येष्ठ नागरिकले यातायात, स्वास्थ्य संस्था, हवाई सेवा र बैंकमा पाउनु पर्ने छुट र प्राथमिकताका सवालमा महासंघले विगतमा पनि पैरवी गर्दै आएको र भविष्यमा पनि वकालत गर्ने पत्रकार महासंघका कार्यवाहक अध्यक्ष दिलमाया शाहीले बताइन् । उनका अनुसार ज्येष्ठ नागरिकका समस्या समधान गर्न, ज्येष्ठ नागरिकमैत्री नीति निर्माण गर्नका लागि जुम्लाका आठै स्थानीय तहका प्रमुखको ध्यानाकर्षण गराइने छ ।