इलामका सहयोगी हात : कोषमा ५७ लाख नाघ्यो, १ करोड बनाउने लक्ष्य «

इलामका सहयोगी हात : कोषमा ५७ लाख नाघ्यो, १ करोड बनाउने लक्ष्य

इलाममा गरिब एवं आर्थिक स्थिति कमजोर भएर उपचार गराउन नसक्नेका लागि सहयोगी हातनामक संस्था छ । कडा रोग भएकालाई यस संस्थाबाट सहयोग दिइने गरेको छ । संस्थाले अक्षय कोष नै स्थापना गरेर आर्थिक सहयोग वितरण गर्दै आएको छ । यस संस्थाको अक्षय कोषमा ५७ लाख ५५ हजार रुपैयाँ रहेको छ । संस्थाले कोषमा रकम बढाएर एक करोड बनाउने लक्ष्य लिएको छ ।

व्यक्तिगत सहयोग गर्दा उपचार गराउनेका परिवारले धेरै तिर धाउनुपर्ने, सय र पचास जुटाउँदै हिँड्दा झन्झट हुने भएपछि इलामका समाजसेवी रतनकुमार चौधरीको नेतृत्वमा यो संस्था सञ्चालित छ । २०७२ सालमा स्थापना भएको यो संस्थामा सात वर्षमा सो रकम जम्मा भएपछि यसलाई बढाउन सके अझ बढी सहयोग गर्न सकिने बताइएको छ ।

सहयोग माग्न आउनेलाई सम्बन्धित वडा तथा पालिकाको सिफारिस बनेपछि नगद पाँच हजार वितरण गर्ने गरिन्छ । उपचार गर्ने पैसा नभएर अस्पतालको शैयामा छटपटाउँदै आएका बिरामीलाई आर्थिक सहयोग गर्ने हेतुले संस्थाको स्थापना भएको अध्यक्ष रतनकुमार चौधरीले बताए । संस्थाले हालसम्म गरिब, असहाय, विपन्न अवस्थाका २३७ जना बिरामीलाई आर्थिक सहयोग गरिसकेको संस्थाकी सचिव रीता अधिकारीले बताइन् ।

संस्थाले ५ देखि ६ हजार रुपैयाँसम्म आर्थिक सहयोग गर्दै आएको संस्थाका कोषाध्यक्ष गोपाल पौडेलको भनाइ छ । इलाममा पछिल्लो समय कडा (नसर्ने रोग) भएका बिरामी थपिँदै गएको तथ्यांकमा उल्लेख छ । इलाम अस्पतालमा समेत उच्च रक्तचाप र मधुमेहका बिरामी बढी आउने गरेको इलाम अस्पतालले जानकारी दिएको छ । खानपान नमिल्दा यस किसिमको बिरामी बढ्दै गएको चिकित्सकको भनाइ छ ।

संस्थाले भर्खरै छैटौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । कोषाध्यक्ष पौडेलद्वारा प्रस्तुत गएिको आर्थिक प्रतिवेदनअनुसार संस्थामा हाल २९ लाख ६० हजार रुपैयाँसहित संस्थाको अक्षय कोषमा ५७ लाख ५५ हजार रुपैयाँ रहेको छ । अक्षय कोषमा एक करोड पुर्‍याउने लक्ष्य रहेको बताइएको छ । संस्थाले लिएको यो अपेक्षलाई साकार बनाउन सबैलाई सहयोग गर्न आग्रहसमेत गरिएको छ ।

संस्थाका संस्थापक एवं सल्लाहकार हिमालय कर्माचार्यले गरिव र असहायका परिवारलाई उपचार गराउन सहयोग मिल्ने भएकाले हुनेलाई सहयोग गर्न आग्रह गरे । पछिल्लो समय इलाम नगरपालिका–६ का वडाध्यक्ष मदन श्रेष्ठ, इलाम नगरपालिका–९ की कल्पना ओली र इलाम चोक बजारका ओमप्रकाश लखौटियाले संस्थाको कोषमा एक/एक लाख जम्मा गर्ने बताएका छन् । संस्थाको अक्षय कोषमा रकम जम्मा गर्ने २५ जना र आजीवन सदस्य गरेर ९१ जना आबद्ध रहेको अध्यक्ष चौधरीले जानकारी दिए ।

सबैलाई सहयोग गर्ने भएकाले इलाम नगरपालिकाका मेयर केदार थापाले पवित्र संस्थालाई सहयोग गर्न आग्रह गरे । संस्थाले हालसम्म गरेको कार्य उदाहरणीय बनेको भन्दै यस संस्थाले धेरैलाई सहयोग गरेको बताए । इलाममा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले सरकारकोे पूरक संस्थाको रूपमा यस संस्थाले काम गर्दै आएकाले यस संस्थालाई माथि उठाउन सबै लाग्नुपर्नेमा जोड दिए । पछिल्लो समय विभिन्न संघसंस्था बैंक तथा वित्तीय संस्थाबाट समेत सहयोग भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्