ज्येष्ठ नागरिक र बिरामीका सहारा बन्दै राक्सिराङका जनप्रतिनिधि «

ज्येष्ठ नागरिक र बिरामीका सहारा बन्दै राक्सिराङका जनप्रतिनिधि

उमेरले ११४ वर्ष बताउने राक्सिराङ–७ छगुङकी बुद्धरानी चेपाङ आँखा देख्दिनन्, कान पनि राम्ररी सुन्दिनन् । चेपाङ भाषामा बाहेक अन्य भाषामा कुराकानी गर्न नजान्ने बुद्धरानी ओछ्यानमै थलिएको लामो समय भइसक्यो ।

आफ्ना सन्तान नभएपछि उनी विगत १५ वर्षदेखि सौताकी नातिनी ज्वाईंको सहारामा जीवन कटाइरहेकी छन् । उनको पाखोबारीमा हुने उब्जनीले तीन महिना पनि खान पुग्दैन । बारीको उब्जनीबाट खान नपुग्दा बुद्धरानीका नातिनी ज्वाईं जतनलालले ज्यालामजदुरी गरी कमाएर मुस्किलले सासू आमासहित नौ जनाको परिवार पाल्दै आएका छन् ।

गरिबी र विपन्नताको चपेटामा झण्डै सवा शताब्दी कटाइसकेकी उनै बुद्धरानी र उनको परिवारलाई भेट्न बुधबार गाउँपालिकाका अध्यक्षसहितको टोली समस्या बुझ्न घरमा आइपुगेपछि उनीहरू दंग परे । अध्यक्ष र कर्मचारीसहित स्वास्थ्यकर्मीको टोली पनि सँगै उनको घरमा पुगेको थियो । फिजिसिएन डाक्टरसहितको टोलीद्वारा स्वास्थ्य जाँच गरी आवश्यक औषधि र पोषण सामग्रीसमेत पाएपछि बुद्धरानीका मुजा परेका गालामा खुसीका धर्सा देखिए ।

गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले ओड्ने कम्मल, फलफूलसहित विभिन्न प्रकारका पोषण सामग्री हातमा राखिदिँदा बुद्धरानीले खुसीका आँसु झार्दै चेपाङ भाषाबाटै भनिन्, “मैले यति धेरै कुरा पाएँ अब तिमीलाई म के दिउँ त ?” जवाफमा मल्लले हाँस्दै भने, “तपाईंले केही दिनु पर्दैन आमा, आशीर्वाद दिए पुग्छ ।” चेपाङ र नेपाली भाषाबाट भइरहेको संवादमा दोभाषेको भूमिकामा थिए ७ नम्बर वडाध्यक्ष रामबहादुर प्रजा ।

यो उमेरसम्म पनि सहर नपुगेकी र मोटरसमेत नदेखेकी बुद्धरानीको नागरिकतासमेत बनेको छैन । नागरिकता नभएकै कारण ज्येष्ठ नागरिक भत्तासमेत खान नपाएकी बुद्धरानीलाई गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले अब आफ्नै तलबभत्ताबाट मासिक दुई हजार रुपैयाँ उपलब्ध गराउने घोषणा गर्दै तत्काल दुई हजार रुपैयाँसमेत हातमा थमाए ।

गाउँमै नागरिकताको टोली ल्याएर बुद्धरानीसहित नागरिकताविहीनको नागरिकता बनाई भत्ता दिलाईदिने प्रतिबद्धतासमेत जनाए । बुद्धरानीजस्तै ज्येष्ठ नागरिकको समस्या सुन्ने र उनीहरूको स्वास्थ्य र पोषणमा ध्यान दिँदै घरमै डाक्टर बोकेर पुग्ने, बिरामी असक्तलाई घरमै स्वास्थ्य तथा अन्य सेवादिनुका साथै गाउँटोलमै स्थानीय तहले दिने सेवा लिएर जाने अभियान सञ्चालन गरेको राक्सिराङ गाउँपालिकाले आमगाउँबासीबाट स्याबासी पाइरहेको छ ।

एकीकृत घुम्ती शिविरमार्फत् गाउँटोलमै सेवा दिन मंगलबार राक्सिराङ–६ र ७ नम्बर वडामा पुगेको गाउँपालिकाको टोलीले ज्येष्ठ नागरिक भेटघाट, स्वास्थ्य परीक्षण र औषधि वितरण, पोषण सामग्री वितरण, स्वास्थ्यजाँचसहित कृषि पशुपंक्षीका सेवा प्रदान गरेको छ । ‘सेवा लिने सबैको अधिकार, घरघरमा स्थानीय सरकार’ भन्ने नाराका साथ गाउँबासीमा सबै किसिमका सेवाको पहुँच वृद्धि गर्दै सरल र सहज सेवा दिने उद्देश्यले गाउँपालिकाले गाउँटोलमै पुगी सेवा सञ्चालन गरिरहेको छ ।

एकीकृत शिविरमार्फत् घरघरमै पुगी बिरामी जाँचदेखि योजना अनुगमन र स्थलगत रूपमै भुक्तानीसम्मका सेवा प्रदान गरिरहेको छ । मंगलबार राक्सिराङ–७ स्थित जुरेथुममा एमबीबीएस डाक्टरसहितको स्वास्थ्य सेवा र निःशुल्क औषधि वितरण गरिएको थियो । साथै सोही स्थानबाट स्थानीयलाई तरकारीका बिउ वितरणका साथै पशुका रोगविरुद्धको औषधिसमेत निःशुल्क उपलब्ध गराइएको थियो ।

खरको छानोमुक्त अभियान सञ्चालन गरेको गाउँपालिकाले खरको छाना भएका परिवारलाई घरमै पुगी जस्तापातासमेत वितरण गरेको थियो । बिजुली बत्तीको पहुँच पुगिनसकेको राक्सिराङ–७ का २३ परिवारलाई मंगलबार नै गाउँपालिकाले सोलार प्यानलको सेटसमेत प्रदान गरेको छ । ६ नम्बर वडामा महिला उद्यमशीलता तालिम सञ्चालन गर्नका लागि गाउँमा नै ६ थान सिलाइ मेसिनसमेत पुर्‍याइएको थियो ।

जुरेथुममा आयोजित स्वास्थ्य शिविरमा गर्भवतीको भिडियो एक्सरे सेवादेखि क्षयरोग परीक्षणका लागि खकारको नमुना संकलनसमेत गरिएको राक्सिराङ अस्पतालका सिनियर अहेव यमप्रसाद गौतमले जानकारी दिए । एकीकृत शिविरमै व्यवसाय दर्ता, अपांगता तथा ज्येष्ठ नागरिक परिचयपत्र वितरण, गरिब घरपरिवार परिचयपत्र वितरणसमेत गरिएको थियो ।

यसअघि ४ र ९ नम्बर वडामा छुट्टाछुट्टै शिविर सञ्चालन गरिसकेको गाउँपालिकाले वडा नम्बर १ र २ का लागि राक्सिराङ–१ दुङ्गुमा चैत २२ गतेलाई एकीकृत शिविरको कार्यक्रम तय गरेको छ । ३ र ५ नम्बर वडाका नागरिकलाई चैत १८ गते घरघर पुगी सेवा दिने कार्यक्रम तय गरिएको गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्