२५ करोडसम्म पुँजी भएकालाई छट्टै प्याटफर्म प्रस्ताव
एसएमईलाई पुँजी बजारमा ल्याउने कसरत

नेपाल धितोपत्र बोर्डले साना तथा मझौला कम्पनीलाई पुँजी बजारमा समेट्न छुट्टै नीतिगत व्यवस्थाको प्रस्ताव गरेको छ । यस्ता कम्पनीहरूका लागि प्राथमिक सेयर (आईपीओ) जारी गर्न तथा सेयर कारोबारका लागि छुट्टै नीतिगत व्यवस्थाको प्रस्ताव बोर्डले गरेको हो । उक्त प्रस्ताव बोर्डले बिहीबार आफ्नो वेबसाइटमार्फत सार्वजनिक समेत गरेको छ । बढीमा २५ करोड रुपैयाँ चुक्ता पुँजी भएको कम्पनीलाई साना तथा मझौला कम्पनी (एसएमई) को रुपमा वर्गीकरण गर्ने प्रस्ताव बोर्डको छ ।
बोर्डको अध्यक्षमा नियुक्त भएसँगै रमेशकुमार हमालले साना तथा मझौला कम्पनीलाई छुट्टै प्याटफर्ममा राखेर कारोबार व्यवस्था गर्ने बताउँदै आएका थिए । हमालको सोही योजना अनुसार बोर्डले साना तथा मझौला कम्पनीका लागि धितोपत्र कारोबारमा छुट्टै एसएमई प्लेटफर्म ल्याउन तयारी गरेको हो । जसका लागि बोर्डले उक्त कम्पनीहरुको धितोपत्र निष्कासन तथा कारोबार सम्बन्धी नियमावली २०७९ को मस्यौदा सार्वजनिक गर्दै उक्त प्रस्ताव गरेको हो ।
“यस नियमावली बमोजीम बोर्डमा धितोपत्र दर्ता गराउने संगठित संस्थाको चुक्ता पुँजी बढीमा २५ करोड रुपैयाँ हुनुपर्नेछ । तर साना तथा मझौला संगठित संस्थाको उपस्थिति र बजारको अवस्था हेरी बोर्डले चुक्ता पुँजीको सीमा हेरफेर गर्न सक्नेछ” प्रस्तावित मस्यौदामा भनिएको छ । यसरी सार्वजनिक निष्कानस गर्ने कम्पनीले संस्थासँग सम्बन्धित नियामक निकायले अन्यथा तोकेको अवस्थामा बाहेक संगठित संस्थाको जारी पुँजीको ३० प्रतिशत भन्दा घटी र ४९ प्रतिशत भन्दा बढी नहुने गरी धितोपत्रको सार्वजनिक निष्कासन गर्नु पर्ने प्रस्ताव नियमावलीमा गरिएको छ ।
यसरी सार्वजनिक निष्कानस गर्ने कम्पनीले कारोबार सुरु गरेको एक वर्ष पुरा गरेको हुनुपर्ने प्रस्ताव गरिएको छ । तर, प्राइभेट कम्पनीको रुपमा दर्ता भएर कारोबार गरेको कम्पनीले २ आर्थिक वर्ष पुरा गरेको भए पब्लिक कम्पनीमा परिणत भएको कम्पनीलाई एक आर्थिक वर्षको कारोबार भएको विवरण नचाहिने बोर्डले प्रस्ताव गरेको मस्यौदामा उल्लेख छ । यस्तै प्रस्तावित नियमावली अनुसार सार्वजनिक निष्कासन गर्ने कम्पनीलाई रेटिङ अनिवार्य नहुने समेत बोर्डले जनाएको छ ।
तर नेपाल धितोपत्र बोर्डले आवश्यक देखेमा त्यस्तो संगठित संस्थालाई धितोपत्रको सार्वजनिक निष्कासन गर्नुपूर्व क्रेडिट रेटिङ संस्थामार्फत रेटिङ गराउन निर्देशन दिन सक्ने गरी नियमावलीको मस्यौदा तयार भएको हो । प्रस्तावित साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबार सम्बन्धी नियमावलीमा निवेदकले निष्कासन गरिने सेयरमध्ये न्यूनतम २ सय ५० कित्ता खरिदको लागि दरखास्त दिनुपर्ने प्रस्ताव गरिएको छ ।
तर, यसरी आवेदन माग गर्दा सेयरको अंकित मूल्यको ५० प्रतिशत भन्दा बढी रकम आवेदन साथ माग गर्न नपाई व्यवस्था प्रस्ताव गरिएको बोर्डले जनाएको छ । “संगठित संस्थाले प्रारम्भिक सार्वजनिक निष्कासनमा सेयर खरिदको लागि दरखास्त आह्वान गर्दा कम्पनी सम्बन्धी प्रचलित कानुनमा भएको व्यवस्था अनुसार प्रति सेयरको अंकित मूल्यको ५० प्रतिशतभन्दा बढी रकम दरखास्तसाथ माग गर्न हुँदैन” प्रस्तावित नियमावलीमा भनिएको छ ।
तर विशेष ऐन अनुसार शतप्रतिशत रकम माग गर्नु पर्ने व्यवस्था भएमा वा सञ्चालनमा रहेका संगठित संस्थाले आफ्नो अघिल्लो तीन वर्षको वासलात प्रकाशन गरी पुँजी संकलन गर्दा ५० प्रतिशतभन्दा बढी रकम दरखास्त साथ माग गर्न सक्ने बोर्डले जनाएको छ । यस्ता कम्पनीले प्रिमियम मूल्यमा पनि आईपीओ जारी गर्न सक्नेछन् ।
जसका लागि संगठित संस्था लगातार पछिल्लो तीन वर्षसम्म खुद मुनाफामा सञ्चालनमा रहेको, संस्थाको प्रति सेयर चुक्ता पुँजी भन्दा प्रति सेयर नेटवर्थ बढी भएको हुनपर्ने प्रस्ताव गरिएको छ । यस्तै संस्थाको साधारण सभाले प्रिमियम मूल्यमा धितोपत्र जारी गर्ने निर्णय गरेको, कम्तीमा औसत वा सो भन्दा माथिल्लो क्रेडिट रेटिङको ग्रेड प्राप्त गरेको, पछिल्लो लेखापरीक्षण भएको वित्तीय विवरण अनुसारको प्रति सेयर नेटवर्थको दुई गुणासम्म निष्कासित मूल्य तोक्न सक्ने प्रस्ताव गरिएको छ ।
नियमावली अन्तिम चरणमा
बोर्डले एसएमईलाई पुँजी बजारमा ल्याउनका लागि आवश्यक नियमावली बनाउने काम अन्तिम चरणमा पुगेको बताएको छ । बोर्ड अध्यक्ष हमालले आवश्यक नियमावलीको मस्यौदा तयार पारिएको कारोबार दैनिकलाई जानकारी दिए ।
“सरकारले पूर्णता पाउने बित्तिकै त्यससम्बन्धी काम थप अगाडि बढ्नेछ” उनले भने, “अबको दुई महिनाभित्रै नियमावली पास गरेर साना तथा मझौला कम्पनीलाई पुँजी बजारमा ल्याउन थाल्छौँ ।” उनका अनुसार, नियमावली मस्यौदा समितिले मस्यौदा ड्राफ्टिङको काम सकेको छ । अबको केही दिनमा बोर्डको सञ्चालक समितिमा पेस हुनेछ ।
त्यसपछि बोर्डले नियमावली उपयुक्त भए/नभएको हेर्छ र उपयुक्त नभएमा थप संशोधनका लागि समितिमा पठाउनेछ । बोर्डले त्यसलाई स्वीकृत गरेर अर्थमन्त्रालय पठाएपछि अर्थले नियमावलीलाई मन्त्रिपरिषद्मा पुर्याइन्छ । मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि बोर्डले नियमावली कार्यान्वयनका लागि नेप्सेमा पठाउनेछ । अध्यक्षले हमालले अबको दुई महिनाभित्रमा मन्त्रिपरिषद्मा त्यसलाई पुर्याइने र स्वीकृत गराइने बताएका हुन् ।