जलविद्युत आयोजना स्थलमा तोडफोडसँगै कुटपिट

यूनिभर्सल पावर कम्पनी लिमिटेडद्वारा सञ्चालित दोलखा जिल्ला गौरिशंकर गाउँपालिकास्थित तल्लो खारे खोला जलविद्युत आयोजनाको बाँधक्षेत्रको हाताभित्र यही १४ गते रातीको समयमा बाइक सवार गरी आएका चंखु निवासी भुवन श्रेष्ठ र केही अराजक समूह अनधिकृत रुपमा प्रवेश गरी कम्पनीका कर्मचारीलाई कुटपिट गरेका छन् भने कम्पनीका उपकरणहरु तोडफोड गरेका छन् ।
भुवन श्रेष्ठ लगायतका समूहले भाग्दै गरेका कर्मचारीहरुलाई लखेट्दा कर्मचारी विनोद महतलाई पक्रिएर हातपात गरी घाइते बनाएका छन् । घाइते कर्मचारी विनोद महतको उपचार भइरहेको छ । यो घटना राती ११ः३० बजे भएको कम्पनीले जनाएको छ । साथै आयोजनाको कम्प्यूटर, सिसिटिभि लगायतका भौतिक संरचनामा पनि तोडफोड गरी अन्दाजी करिब पचास लाख रुपैयाँ भन्दा बढीको क्षति गराएका छन् ।
ज्यान मार्ने नियतले उक्त अराजक कार्य गर्ने व्यक्ती र समूह माथी कानुन बमोजिम हदैसम्मको कारबाहीको माग गरी कम्पनीले स्थानिय प्रहरी प्रशासनमा उजुरी गरेको छ । निर्दोष कर्मचारी माथि ज्यान मार्ने किसिमले आक्रमण हुँदा कर्मचारीहरु भयभित रहेको र शान्ति सुरक्षाको प्रत्याभूती नहुँदा काम गर्ने मनोबल नरहेको आयोजनाका जन सम्पर्क अधिकृत हरि पन्थीले बताएका छन् ।
कम्पनीले निर्माण कालदेखि आजसम्म स्थानीय सरोकार समिति र गाउँपालिका सँग समन्वय गरी स्थानीय जनताहरुको सामाजिक आर्थिक विकासको लागि विद्यालय, सिंचाई, खानेपानी, सडक निर्माण, गुम्बा संरक्षण लगायतका कार्यहरुमा आर्थिक सहयोग गर्दै आएकोमा यस्तो असामाजिक र तोडफोडको कार्य हुनु निन्दनिय भनेको छ । कम्पनीले गौरिशंकर गाउँपालिका सित समन्वय गरी हाल सडक मर्मतको कार्य पनि गरिरहेको कम्पनीले जनाएको छ ।