पुँजी बजारलाई प्रतिस्पर्धी बनाउन नयाँ स्टक एक्सचेञ्ज

मुलुकमा दोस्रो स्टक एक्सचेञ्ज खुलाउने धितोपत्र बोर्डको तयारीसँगै यसको पक्ष र विपक्षमा बहस भइरहेको छ । करिब ६ महिनाअघि सर्वोच्च अदालतको आदेशले स्टक एक्सचेञ्ज खुलाउने प्रक्रिया रोकिएको थियो । सेयर बजार विज्ञहरूका अनुसार हालसम्म ४ वटा मुलुकमा मात्रै दुई वटा स्टक एक्सचेञ्ज सञ्चालनमा छन् ।
बोर्डका अध्यक्ष रमेशकुमार हमालले अहिले भइरहेको नेपाल स्टक एक्सचेञ्जलाई प्रतिस्पर्धी बनाउन र बजारलाई थप बलियो बनाउन नयाँ स्टक एक्सचेञ्ज आवश्यक भएको बताउँदै आइरहेका छन् । केही लगानीकर्ता र लगानीकर्ताहरूका संगठनले पनि बोर्ड अध्यक्ष हमाललाई नयाँ स्टक एक्सचेञ्ज ल्याउनका लागि दबाब र साथ दुवै दिँदै आइरहेका छन् ।
बुधबार लगानीकर्ताहरूका तीन वटा संघ नेपाल इन्भेष्टर्स फोरम, सेयर लगानीकर्ता संघ र नेपाल पुँजीबजार लगानीकर्ता संघले संयुक्त रूपमा ‘समृद्ध नेपालको आधार, पुँजी बजारमा सुधार !’ विषयक कार्यक्रम आयोजना गरेका थिए । बोर्ड अध्यक्ष हमालले अहिले सेयर बजारलाई थप बलियो र नेपाल स्टक एक्सचेञ्जलाई प्रतिष्पर्धी बनाउन पनि नयाँ स्टक एक्सचेञ्ज आवश्यक रहेको बताए ।
उनले भने, “अहिले हाम्रो मुलुकमा नयाँ स्टक एक्सचेञ्ज आवश्यक छ । त्यो नहुुँदा नेपालको अर्थतन्त्रमा ठूलो असर परिरहेको छ ।” उनले हरेक मुलुकमा दुई वटा स्टक एक्सचेञ्ज रहेको भन्दै थपे, “हाम्रै नजिकको बंगलादेश, भारतमा पनि आइसकेको छ । हाम्रोमा पनि यो आवश्यक छ ।” अध्यक्ष हमालले बजारको स्थायित्वका लागि र सुशासनका लागि पनि नयाँ स्टक एक्सचेञ्ज आवश्यक रहेको औंल्याए ।
उनले भने, “मार्केटको भोलाटाइल, मार्केटको डाइनामिक्स र स्थायित्वका लागि नयाँ स्टक एक्सचेञ्ज आवश्यक भएको हो ।” उनले अहिले भइरहेको नेपाल स्टक एक्सचेञ्जसँग बजारलाई आवश्यक पर्ने क्षमता नभएको समेत बताए । उनले संसारमा अभ्यास भइरहेको विषयलाई नेपालमा पनि स्वीकार्नुपर्नेमा जोड दिए । उनले भने, “बजारलाई बलियो बनाउँदै लैजाँदा सरकारी र निजी दुवै प्रतिष्पर्धी हुन्छन् । जसले दीर्घकालमा फाइदा दिन्छ ।”
नयाँ स्टक एक्सचेञ्जको आवश्यकताबारे अदालतमा पनि बारम्बार छलफल भइरहेको उनको भनाइ छ । उनले भने, “नीति निर्माण गर्ने हामीहरूले साँच्चिकै रिफर्म खोजिरहेका छौं ।” हमालले नयाँ ब्रोकर, स्टक र कमोडिटीसँग सम्बन्धित मुद्दाको चाँडो निरुपण हुनुपर्ने बताए । उनले सात महिनादेखि मुद्दा विचाराधीन हुँदा समस्या भएको समेत उल्लेख गरे ।
“हामीलाई निर्णय चाहिएको हो । निर्णयको बन्दी बन्नु भएन । हाम्रो पक्षमा निर्णय होस् भनेको होइन,” हमालले भने, “६/७ महिना भइसक्यो, ११ अर्ब रुपैयाँ ठूला कम्पनीरुकको त्यहाँ फसेको लगानीको हरेक दिनको मूल्य हुन्छ । लगानीकर्तालाई भार हुन्छ त्यो भार कसले ब्यहोर्ने ? सात महिना सानो समय होइन ।”
उनले अदालतले ब्रोकर लाइसेन्सको मुद्दामा निर्णय गरिदिए अर्को नियमावली ल्याएर भए पनि ब्रोकर लाइसेन्स दिने बताए । हमालले नेपालमा १०० वटा ब्रोकर आवश्यक रहेको तर्क गरे । “नेपालमा १०० वटा ब्रोकर चाहिन्छ तर सबै ब्रोकर एकै किसिमका हुनु हुँदैन,” उनले भने ।
लगानीकर्ता संगठनको आयोजनामा भएको उक्त कार्यक्रममा नेपाल स्टक एक्सचेञ्ज (नेप्से)लाई भने बोलाइएको थिएन । आयोजकमध्येको एक इन्भेष्टर्स फोरमका निवर्तमान अध्यक्ष छोटेलाल रौनियारले बुधबारको कार्यक्रम नितान्त सेबोनसँग भएको बताए । उनले भने, “नेप्से बोर्डकै एक कार्यालय हो । त्यसकारण बोर्डलाई हामीले बोलाएका हाैं। नेप्सेलाई बोलाएका थिएनौं ।”
उनले अहिले नेपालको परिवेशमा नयाँ स्टक एक्सचेञ्ज अपरिहार्य भएको समेत बताए । “कार्यक्रममा विशेष गरी नयाँ स्टक एक्सचेञ्जको आवश्यकतामाथि पनि चर्चा गरेका हौं,” कारोबारसँग उनले भने । उनले सेयर बजार सुधार्नका लागि तथा नयाँ नीति नियम निर्माणका लागि बोर्डलाई विभिन्न सुझावहरू दिए ।