Logo

बिरामी उद्धार गर्न जाने हेलिकोप्टरमा कर्मचारीको रजाइँ

फाइल तस्बिर ।

उपल्लो डोल्पामा उद्धारका लागि जाने हेलिकोप्टरमा कर्मचारी जान खोज्दा आफूहरू समस्यमा परेको पीडितले बताएका छन् । बिरामी उद्धारदेखि अन्य प्रयोजनका लागि उपल्लो डोल्पामा जाने हेलिकोप्टरमा जिल्लास्थित कर्मचारीले निःशुल्क जानखोज्दा आफूहरू पीडित भएको उनीहरूले बताएका हुन् ।

पर्यटकदेखि सुत्केरी उद्धारसम्मका काममा हेलिकोप्टर लिँदा कर्मचारी सोही हेलिकोप्टरमा घुम्न जाँदा बढी महँंगो हुने गरेको पीडितको भनाइ छ । जनताको लगानीमा उडाएको हेलिकोप्टरमा कर्मचारीको रजाइँ हुँदा हेलिकोप्टरको उडान समय बढी हुने गरेको छ । जति समय बढी खर्च भयो, उत्ति नै खर्च बढी आउने भएपछि आफूहरू मर्कामा परेको उपल्लो डोल्पास्थित डोल्पोबुद्ध गाउँपालिका–३ का खाम्पा छुल्डिम गुरुङले बताए ।

उपल्लो डोल्पाको डोल्पोबुद्ध, शे–फोक्सुण्डोमा हेलिकोप्टर उडाउन शे–फोक्सुण्डो राष्ट्रिय निकुन्जले दिने गर्दछ । छार्काताङसोङ, ठूलीभेरी, त्रिपुरासुन्दरीलगायतका क्षेत्रमा हेलिकोप्टर उडाउन जिल्ला प्रशासन कार्यालयले अनुमति दिने गर्दछ । निकुन्ज एरियाभित्र हेलिकोप्टर उडाउँदा निकुन्जभित्रको सेनालाई लिएर उडान भर्नुपर्ने भए पनि त्यसमा समेत अन्य कर्मचारीकै हालिमुहाली हुने गरेको छ ।

विपद् तथा समस्यामा परेका सर्वसाधारणले लिने हेलिकोप्टरमा कर्मचारीले घुम्न खोज्दा खर्चसमेत बढी आउँदा स्थानीयबासीले आर्थिक मारमा परेका गुनासो गरेका छन् । डोल्पाका प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेलले आफूसम्म गुनासो आएको बताए । अब आउने हेलिकोप्टरमा आफूले समन्वय गरेर कसैलाई पनि मर्का नपर्ने गरी काम गर्ने बताए ।

यता निकुन्जका प्रमुख लालबहादुर भण्डारीले निकुन्जले कुनै असहयोग नगरेको बताए । निकुन्ज क्षेत्रभित्र हेलिकोप्टर लिँदा सुरक्षाकर्मी लिनुपर्ने भए पनि अहिलेसम्म त्यो काम हुन नसकेको उनले बताए । जिल्ला प्रशासन कार्यालयदेखि जिल्ला प्रहरी हुँदै पहुँचवाला कार्यालयका कर्मचारीको हालिमुहाली हुँदै आएको सरोकारवालाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्