अनुदान वितरणका लागि थप ११ अर्बको अख्तियारी «

अनुदान वितरणका लागि थप ११ अर्बको अख्तियारी

निजी आवास पुनर्निर्माणका लागि भूकम्प प्रभावित जिल्लामा किस्ता वितरणका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले थप ११ अर्बको अख्तियारी दिएको छ ।
प्राधिकरणले मंगलबार संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वयन इकाइलाई यस्तो अख्तियारी दिएको हो । सबै जिल्लामा निजी आवास निर्माण उल्लेखनीय गतिमा बढिरहेकाले अनुदान रकमको माग उच्च हुने सम्भावनालाई विचार गर्दै प्राधिकरणले थप रकमको अख्तियारी दिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले जिल्लाबाट अनुदान मागको चाप बढ्न सक्ने स्थितिलाई विचार गरी थप ५ अर्ब रकमान्तरका लागि अर्थ मन्त्रालयलाई आग्रह पनि गरेको छ ।
निजी आवास पुनर्निर्माण गरिरहेका लाभग्राहीलाई किस्तावापतको रकमका लागि कुनै समस्या नभएको प्राधिकरणका उपसचिव एवं सूचना अधिकारी मनोहर घिमिरले जानकारी दिए । “घर निर्माण गर्नका लागि रकम अभाव नहोस् भनेर अग्रिम रूपमै जिल्लामा निकास गर्न बजेटको अख्तियारी दिइएको छ,” उनले भने । घिमिरेले जिल्लाबाट माग भएअनुसार सबै जिल्लामा रकम पठाइएकाले ढुक्क भएर निजी आवास निर्माणलाई अघि बढाउन लाभग्राहीहरूलाई आग्रह पनि गरे ।
पछिल्ला महिनामा भूकम्प प्रभावित सबै जिल्लामा निजी आवास निर्माणको क्रम तीव्र भएको छ । मंगलबार साँझ ५ बजेको तथ्यांकअनुसार अहिले २ लाख ९१ हजार ८९५ घर निर्माणाधीन छन् भने दोस्रो किस्ताका लागि २ लाख २७ हजार ८५४ लाभग्राही प्रमाणीकरण भइसकेका छन् । निजी आवास निर्माणका लागि विश्व बैंकले दिने थप ३० अर्ब ऋण सहयोगको यही माघ पहिलो साता विश्व बैंक र अर्थ मन्त्रालयबीच सम्झौता भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्