सरकारको गणनामै छैन कालापहाड जानेको संख्या
रोजगार नहुँदा कर्णालीका ९४ हजार नागरिक विदेशिए

कर्णालीबाट रोजगारीका लागि विदेशिने नागरिकको संख्या वृद्धि भएको छ । संघीयतापछि पनि आफ्नै गाउँठाउँमा उचित रोजगारीको प्रबन्ध नहुनु, उद्यमशीलता, उत्पादनमुखी, युवा रोजगरमैत्री नीति नहुँदा कर्णालीबाट विदेशिने नागरिकको संख्या बढेको हो ।
कृषि, पर्यटन, जडिबुटी, जलजमिन लगायतका रोजगारी सृजनाको प्रचुर सम्भावना हुँदा पनि लगानी र नीति अभावले सम्भावना अवसरमा रूपान्तरण हुन सकेनन् । जसका कारण कर्णालीबाट खाडी मुलुकमा रोजगारी खोज्न जाने युवाको संख्या बढेको देखिन्छ । सम्भावना भएर पनि नीति र लगानी अभावले गाउँमै रोजगारी नहुँदा कर्णालीका हजाराैं युवा युवती कालापहाड र खाडी मुलुकमा विदेशिन बाध्य भएका हुन् ।
राष्ट्रिय जनगणना २०७८ को नतिजाअनुसार हाल कर्णाली प्रदेशका झण्डै ९४ हजार नागरिक रोजगारी खोज्न तथा उतै बस्नेगरी विदेशिएका छन् । जसमा १७ हजार बढी महिला र ७७ हजार बढी पुरुषको संख्या छ । रोजगारी तथा विविध कारणले कर्णालीका ९४ हजार ३२० जना नागरिक विदेशमा बसोवास गर्दै आएको तथ्यांकले देखाएको छ ।
राष्ट्रिय जनगणना २०७८ का अनुसार नेपालभरबाट कुल २१ लाख ९० हजार ५९२ जना नेपाली महिला पुरुष रोजगारी तथा अन्य कारणले बसोबास गर्न विदेशिएको देखिन्छ । नेपालभरको तुलनामा कर्णालीबाट विदेशिनेमा कुल ४ दशमलव ३१ प्रतिशत मात्र छ । यसअघि २०६८ को जनगणनाका अनुसार कर्णाली प्रदेशबाट ६७ हजार ५८२ जना नागरिक विदेशिएका थिए ।
विगत १० वर्षको अन्तरालमा ३५ हजारले वृद्धि भएर कर्णालीबाट विदेशिने नागरिकको संख्या ९४ हजार पुगेको छ । कर्णालीबाट विदेशिएकामा पुरुषको संख्या ७७ हजार २७८ जना छ भने महिलाको संख्या १७ हजार ४२ जना रहेको तथ्यांकले जनाएको छ । तर कर्णालीबाट घरखर्च जुटाउन भारत (कालापहाड) जानेको संख्या नगन्य मात्रामा छ ।
भारतका विभिन्न कुनामा सबैभन्दा कर्णालीका महिला पुरुष जाने गरेका छन् । कतिका परिवार नै घरमा ताल्चा लगाएर कालापहाड गएका छन् । हुनेखाना तेस्रो मुलुक जाने र गरिव विपन्न जसको भिसासमेत लगाउन सक्ने आय छैन्, उनीहरूको रोजगार गन्तव्य भनेकै भारत हो । तर कर्णालीबाट कालापहाड जानेहरू सरकारको गणनामा छैन । अत्यधिक मात्रामा भारत जाने गरे पनि एकिन रूपमा कर्णालीका कति नागरिक भारतमा छन् भन्ने तथ्यांक छैन ।
हाल कर्णालीमा कुल तीन लाख ६६ हजार २५५ परिवार संख्या पुगेको छ भने २०६८ को जनगणनामा कर्णालीमा कुल २ लाख ९८ हजार ३५९ परिवार संख्या बसोवास गर्दै आएका थियो । हालको जनगणना अनुसार कर्णाली प्रदेशको कुल जनसंख्या १६ लाख ८८ हजार ४१२ जना पुगेको छ । कर्णालीमा अन्य जिल्लामा भने १० वर्षको समयमा जनसंख्यामा वृद्धि भएको देखिन्छ । २०७८ को जनसंख्यामा सुर्खेतमा चार लाख १५ हजार १२६ जना, मुगुमा ६४ हजार ५४९ जना, डोल्पामा ४२ हजार ७७४ जना रहेको छ ।
त्यस्तै, जाजरकोटमा एक लाख ८९ हजार ३६० जना, हुम्लामा ५५ हजार ३९४ जना, जुम्लामा एक लाख १८ हजार ३४९ जना, रुकुम पश्चिममा एक लाख ६६ हजार ७४० जना र कालिकोटमा एक लाख ४५ हजार २९२ जनाको जनसंख्या पुगेको जनगणनाको तथ्यांक छ । संघीयतापछि कर्णालीको बहुआयामिक गरिबी घटेको देखिन्छ ।
आर्थिक सर्वेक्षण २०७८ को तथ्यांकले ५२ बाट १२ प्रतिशत बहुआयामिक गरिबी घटेको देखाउँछ । तर पनि रोजगारीकै लागि कर्णालीबाट विदेशिने नागरिकको संख्या भने घटेको छैन । त्यसैले स्थानीय तह तथा प्रदेश सरकारले उत्पादनमैत्री, युवामैत्री, उद्यमशीलतामैत्री नीति तथा कार्यक्रम बनाउनु पर्नेमा सरोकारवालाको जोड छ ।