ज्योति विकास बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

ज्योति विकास बैंकले ग्लोबल मनी विक अभियान अन्तर्गत विभिन्न स्थानमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।बैंकले आफ्ना शाखामार्फत देशका विभिन्न ठाउँमा वित्तीय साक्षरता र सचेतनाका कार्यक्रमहरु आयोजना गरेको हो ।
बैंकले ग्लोबल मनी विक २०२३ को मुख्य नारा ‘प्लान योर मनी, प्लान्ट योर फ्युचर’भन्ने विषयवस्तुमा केन्द्रित भई युवावर्गमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम आयोजना गरेको हो । कार्यक्रम अन्तर्गत स्कुल तथा कलेज, विभिन्न संघ–संस्थालगायत स्थानीय समुदायमा आधुनिक बैंकिङं, बचत, ऋण, लगानी, विद्युतीय बैंकिङ सेवा र यसमा अपनाउनु पर्ने सावधानी, उद्यमशीलता विकास लगायतका विषय समावेश गरी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको बैंकले जनाएको छ ।
बैंकले सामाजिक सञ्जाल र वेबसाइटमार्फत पनि बचत प्रोत्साहन गर्न, अज्ञात स्रोतहरुबाट आएका कुनै पनि लिंकहरु नखोल्नलगायतका संवेदनशील विवरणहरु कसैसँग पनि सेयर नगर्न र डिजिटल ठगीबाट सचेत हुन विभिन्न सूचनाहरु पनि प्रवाह गरेको छ ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशभरीका विभिन्न आफ्ना शाखामार्फत बैंकिङ कारोबार, वित्तीय व्यवस्थापन र यसको सही सदुपयोग लगायतका विषयहरुमा आधारभूत ज्ञान प्रदान गर्न तथा जनचेतना जगाई वित्तीय साक्षरता बढाउनका लागि साक्षरता र सचेतना कार्यक्रमहरु निरन्तर रुपमा सञ्चालन गर्दै आएको दावी गरेको छ ।