Logo

उत्पादन बिक्री नहुँदा जडिबुटी कम्पनी घाटामा

सरकारी स्वामित्वमा रहको जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी केही समययता मुनाफा देखिन थाले पनि फेरि घाटामा जान थालेको छ । विश्व बजारमा देखिएको आर्थिक मन्दीपछि जडिबुटीले पनि बजार नपाएको र कम्पनीमै जडिबुटी मौज्दात रहँदा कम्पनीले घाटा बेहोर्नु परेको हो । विगतमा घाटा बेहोरिरहेको कम्पनी पछिल्लो ४ वर्ष यता भने नाफामा गएको थियो । कुनै समय घाटामा रहेर कर्मचारीलाई उपदान दिन समेत जग्गा बेच्न कम्पनी बाध्य भएको थियो ।

कम्पनीलाई मुनाफामा लैजान, मूल्य तथा उत्पादन वृद्धि गर्न थालेपछि कम्पनी बल्ल नाफामा जान थालेको थियो । कम्पनीले आ.व. २०७५/०७६ मा पहिलो पटकको एक करोड ९२ लाख नाफा कमाएको थियो । आव २०७६/०७७ मा यस कम्पनीले एक करोड २२ लाख नाफा कमाएको थियो । आव २०७७/०७८ मा १ करोड ९१ लाख नाफा कमाएको कम्पनीले आर्थिक वर्ष २०७८/०७९ मा भने एक करोड ६६ लाख घाटा बेहोरेको छ ।

कम्पनीको अनुसार १५ करोड मूल्य बराबरको सुगन्धित तेलले बजार पाउन सकेको छैन । सुगन्धित तेलका लागि संकलित कच्चा पदार्थ कम्पनीमै मौज्दात अवस्थामा छ । यसैगरी २ टन क्यामोमाइल तेल पनि मौज्दात रहेको छ । कम्पनीको अनुसार क्यामोमाइल तेल प्रति केजी ५० हजार रुपैयाँसम्ममा बिक्री हुँदै आएको थियो । क्यामोमाइल तेल बिक्री नभएपछि मूल्य घटाएर बिक्री गर्न थालिएको हो । तर आर्थिक मन्दीका कारण पछिल्लो समय विदेश निर्यात हुँदै आएको क्यामोमाइल लगायतको महंगो जडिबुटी तेल पनि बिक्री हुन छाडेको कम्पनीको भनाइ छ ।

बिक्री नभएपछि कम्पनीको वार्षिक मुनाफामा पनि गिरावट आएको हो । वन तथा वातावरण मन्त्रालयका सह–सचिव समेत रहेका कम्पनीका अध्यक्ष डा. सिन्धुप्रसाद ढुंगानाले भने आगामी दिनमा कम्पनीको मुनाफा बढाउन, उत्पादन वृद्धि र विदेश निर्यातमा जोड दिइने बताए । “कम्पनीलाई आगामीमा दिनमा अझै मुनाफामा लाने उद्देश्य सहित काम भइरहेको छ” उनले भने, “स्वदेशमा उत्पादित जडिबुटी तथा सुगन्दित तेलहरुलाई विश्व बजारमा अब बजारिकण गर्ने गरी काम अगाडि बढाउने योजना बनाएका छाैं ।”

कम्पनीका महाप्रवन्धक संगीता यादवले मौज्दात अवस्थामा रहेको जडिबुटी बिक्री भएमा घाटा पूर्ति गर्न सकिने बताइन् । “हामीसँग सुगन्धित तेल, क्यामोमाइललगायतका जडिबुटीहरु स्टकमा छ, स्टक रहेको जडिबुटी बिक्री हुने बित्तिकै फेरि मुनाफा देखिन्छ,” उनले भनिन्, “विश्व बजारमा कसरी जडिबुटीको बजार बिस्तार गर्न सकिन्छ भन्ने विषयमा केही दिनअघि कतारमा सम्पन्न एक्पोमा पनि त्यहाँका व्यवसायीसँग छलफल गरेका थियौं । राम्रो प्रतिक्रिया आएको छ, अब गृहकार्य गर्ने छौं ।”

उत्पादन वृद्धि र स्रोत साधनको उचित प्रयोग गरेर कम्पनी मुनाफामा लैजाने योजना रहेको उनले सुनाइन् । बिगतमा पनि कम्पनी राजनीतिक दलका कार्यकर्ता तथा आफन्तहरुको भर्ति केन्द्र कम्पनीलाई बनाउँदा बर्सेनि घाटा बेहोर्नु परेको थियो । नेपालमा जडिबुटीको उत्पादन, बिक्री वितरणको सम्भावना धेरै छ । तर पछिल्लो समय कम्पनीमा दलका कार्यकर्ता करारमा नियुक्ति गर्ने थलो बनेपछि झन् घाटा बढ्दै हो ।

आवश्यकभन्दा बढी कर्मचारी राख्नु, कच्चा पदार्थको अभाव, निजी क्षेत्रसँगको प्रतिष्पर्धामा अगाडि आउन नसक्दा कम्पनीको आम्दानी कम र खर्च बढी देखिएको हो । पछिल्लो समय भने यस्ता कमजोरी सुधार भइरहेको वन तथा वातावरण मन्त्रालयको भनाइ छ । चार वर्ष अघि अर्थ मन्त्रालयले प्रकाशन गरेको संस्थानसम्बन्धी प्रगति प्रतिवेदन अनुसार सरकारको औद्योगिक क्षेत्रमा रहेका सार्वजनिक संस्थानमध्ये जडिबुटी कम्पनी नाफामा थियो ।

कम्पनीले आव २०७६/०७७ देखि सेयरधनीलाई लाभांश पनि बाँड्न थालेको थियो । यही मुनाफा पछि कम्पनीले सर्वसाधारणलाई सेयर निष्काशन गर्ने तयारी गरे पनि पछिल्लो वर्षको घाटाले भने हालसम्म निष्कासन गर्न सकेको छैन । स्टक जडिबुटी बिक्रीपछि कम्पनीको मुनाफा देखिने र आईपीओ निस्कासन गर्ने कम्पनीको तयारी छ । जडिबुटी बेचेर नाफा कमाउने उद्देश्यले वि.सं २०३८ पुस मा कम्पनीको स्थापना गरिएको थियो ।

स्थापना भएको सुरुवातका दिनहरुमा नाफा कमाएको कम्पनी पछिल्लो समय भने कम्पनीले नाफा कमाउन सकेको थिएन । सरकारको स्वामित्वमा रहेको कम्पनीले ५ वर्ष अघिसम्म वार्षिक करिव ४ करोड रुपैयाँ घाटा सहनु परेको थियो । कम्पनीले अवकाश पाएका कर्मचारीलाई उपदान दिन, कच्चा पदार्थ बढाउन, प्रशोधन उपकरण थप गर्न कोटेश्वरमा रहेको १३ रोपनी १४ आना जग्गा उपत्यका विकाश प्राधिकरण कम्पनीलाई बेचेको थियो ।

कम्पनीमा हाल सरकारी निकायमात्र कम्पनीको सेयर सदस्य छन् । वन तथा वातावरण मन्त्रालय, कृषि विकास बैंक, नेपाल औषधि लिमिटेड र वन पैदावर विकास समिति कम्पनीको सेयर सदस्यका रूपमा रहेका छन् । सर्वसाधारणलाई पनि सेयर बिक्री गरेर कम्पनीको पुँजी वृद्धि गरी जडीबुटी उद्योग प्रवर्द्धन गर्ने लक्ष्यअनुरुप काम गरिरहेको कम्पनीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्