सडकको सजिलो पहुँच भएको बन्दीपुरमा केबलकार

तनहुँ-प्रसिद्ध पर्यटकीय गन्तव्य तनहुँको बन्दीपुरमा सडकको सजिलो पहुँच छ । भइरहेको सडक साँघुरो भएकाले सडक विस्तार कार्य पनि भइरहेको छ । तर, अब बन्दीपुरमा केबलकारको पनि पहुँच हुने भएको छ । बन्दीपुर जाने केबलकारको बटम स्टेसन भवन निर्माण सुरु गरिएको छ ।
मनकामना मन्दिर पुग्नका लागि बनेको पहिलो केबलकार निर्माण हुँदा मनकामनामा सडक यातायातको पहुँच स्थापित भइसकेको थिएन । तर, अहिले मनकामना मन्दिर पुग्नका लागि दर्जनौं ग्रामीण सडक बनिसकेको अवस्था छ ।
बन्दीपुर–४ ठूल्ढुंगामा १८ करोड ५५ लाख रुपैयाँको लागतमा ‘बटम स्टेसन’ भवन निर्माण थालिएको केबलकारको साझेदारी कम्पनी आरकेडी रियल स्टेट एन्ड कन्स्ट्रक्सन लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए । उक्त भवनको केबलकारको साझेदारी कम्पनी आरकेडी रियल स्टेट एन्ड कन्स्ट्रक्सन लिमिटेडका अध्यक्ष शर्माले सोमबार एक कार्यक्रमकाबीच शिलान्यास गरेका हुन् ।
भवन १५ महीनामा निर्माण सम्पन्न गर्ने लक्ष्य गरेको उनले बताए । आरकेडी रियल स्टेट एन्ड कन्स्ट्रक्सन लिमिटेडे, पञ्चासे केबलकार एन्ड टुर्स लिमिटेड, टुरिज्म इन्भेस्टमेन्ट फन्ड र बन्दीपुर गाउँपालिकाको साझेदारीमा बन्दीपुर क्षेत्रको समग्र विकासका लागि १ अर्ब ३८ करोड रुपैयाँको लागतमा बन्दीपुर पर्यटन पूर्वाधारयुक्त परियोजना पनि निर्माण निर्माण गर्न लागिएको छ ।
केबलकारको टप स्टेसनमा १० तल्लाको होटलसहितको भवन निर्माण गरिनेछ । ८२ करोड रुपैयाँको लागतमा निर्माण हुने उक्त होटलमा आधुनिक भ्यूटावर, बेनक्युट हल र ८० कोठा रहने अध्यक्ष शर्माले जानकारी दिए ।
५६ करोड रुपैयाँको लागतमा निर्माण हुने केबलकारमा दुई सामान बोक्नेसहित १७ वटा बाक्सा रहनेछन् । करिब २ बर्षमा निर्माण सक्ने लक्ष्य राखिएको छ । केवलकारमा बन्दीपुर केवलकार प्रालिको २५ प्रतिशत र आरकेडी रियल स्टेट कम्पनीको ७५ प्रतिशत लगानी रहनेछ । केवलकारमा स्थानीय अपनत्व बढाउन कम्पनीले बन्दिपुरका स्थानीयवासीलाई ११ करोड २० लाखको सेयर दिएको छ ।
पृथ्वीराजमार्गको बन्दीपुर गाउँपालिका–४ स्थित ठूल्ढुंगास्वाँराबाट बरालथोकसम्म जोडिने केबलकारबाट घण्टामा २ सय जनाले वारपार गर्न सक्नेछन् ।