Logo

चीनबाट नेपालले सिक्नुपर्ने नौ पाठ

समाजवादी शासन व्यवस्था अवलम्बन गरेको चीन आर्थिक रूपले बजारमुखी अर्थतन्त्र हो । सन् १९७८ ताका केन्द्रीकृत अर्थनीतिलाई खुला अर्थनीतिमा रूपान्तरण गरियो । माओपश्चात् नेतृत्व सम्हाल्न पुगेका देङ साउपिङले त्यो जोखिम उठाए ।

आर्थिक उदारीकरणबाट लाभ लिन चुक्दै चुकेन, चीन । खुला अर्थतन्त्रपश्चात् अधिकांश वस्तुको मूल्य नियन्त्रण खुला गरियो । पुँजीबजार फराकिलो पारियो । स्टक एक्सचेन्स स्थापना गरिए । सयौं कम्पनी सूचीकृत भए । व्यावसायिक मिलान तथा मर्जर प्रोत्साहित गरियो । अधिकांश साना तथा मझौला आकारका सार्वजनिक संस्थान निजीकरण गरिए । सन् १९९० को सुरुवातमा ३ लाख सार्वजनिक संस्था क्रमशः कटौती भई १ सयको हाराहारी पुर्याइयो ।

तथापि, सन् १९४८ ताका अन्तर्राष्ट्रिय व्यापार नियमन र स्वतन्त्र व्यापार प्रवद्र्धनका लागि अगाडि सारिएको व्यापार तथा महसुलसम्बन्धी सामान्य सम्झौता (ग्याट) हस्ताक्षर गर्न अनकनाएको चीन सन् २००१ मा कतारको दोहामा सम्पन्न चौथो मन्त्रीस्तरीय बैठकबाट १ सय ४३ औ सदस्य मुलुक बन्न पुग्यो । विश्व व्यापार संगठनमा आबद्धतापश्चात् अन्तर्राष्ट्रिय व्यापारबाट मनग्य लाभ लिने देशमध्ये चीन एक प्रमुख मुलुक भएको छ ।

चीनले व्यापार अवरोध र आयातमा लाग्ने भन्सार दर उल्लेखनीय मात्रामा कटौती गर्दै लगेको कुरा छ । जहाँ औसत भन्सार दर २००१–१० को अवधिमा १५.३ बाट ९.८ प्रतिशतमा ओरालेको छ । त्यस्तै औसत भारित भन्सार दर सन् २०१४ मा आइपुग्दा अस्ट्रेलिया, इयु, अमेरिका निकट पुर्याएको छ । यस्तो औसत भारित भारित भन्सार दर अस्ट्रेलियाको ४, इयुको ३ र अमेरिकाको २ प्रतिशत रहँदा चीनले ४.४ प्रतिशत पुर्याएको छ ।

आर्थिक उदारीकरणको बलमा चीनले तीन दशकमा अभूतपूर्ब तरक्की गर्न सफल भएको छ । जहाँ पछिल्लो दुई दशकयता औसत ९.५ प्रतिशतका दरले आर्थिक वृद्धि हासिल गर्न चीन चुकेको छैन । परिणामस्वरूप चीन विश्वका पहिलो उदयमान अर्थतन्त्रको ताज पहिरिन सफल भएको हो । समाजवादभित्र खुला अर्थव्यवस्था सफलीभूत तुल्याएर विश्वलाई चकित पार्न सफल भएको छ, चीन ।

चीनको तरक्की कम्ती लोभलाग्दो छैन । आज चीनले विश्वभर हवाई सञ्जाल निर्माण गरेको छ । देशका कुनाकाप्चासम्म मजबुत यातायात पूर्वाधार निर्माण गरिएको छ । विश्वकै शीघ्र रेल कुदिरहेको छ । नदीमाथि विशाल पुलहरू निर्माण भएका छन् । निर्यातजन्य वस्तु उत्पादनका लागि विशेष आर्थिक क्षेत्र मौलाएका छन् । निर्यातको उद्देश्यसाथ ठूलो परिमाणमा पुँजीगत वस्तु उत्पादन भइरहेका छन् । उत्पादनलाई रोबोटाइजेन गरिएको छ । सांघाई, सिगात्से, सिचुवान विश्व आर्थिक केन्द्रको रूपमा स्थापित छन् । जबकि १ अर्ब ४१ करोड जनसंख्या रहेको मुलुकमा दोहोरो अंकको आर्थिक वृद्घि कुनै मजाक होइन ।

चीनको आर्थिक वृद्धिको मुख्य चाबी तीव्र औद्योगीकरण हो । सांस्कृतिक क्रान्तिपश्चात् सन् १९५८ बाट औद्योगिक विकासको गोरेटोमा डोरिएको हो । अहिले विश्वव्यापी औद्योगिक उत्पादनमा चीनको हिस्सा करिब २० प्रतिशत छ । चीनले स्टिल, सिमेन्ट, कोइला, बिजुली, मेसिनरी, इलेक्ट्रोनिक्स, फुटवेयर, गार्मेन्ट्स, घरायसी सामग्रीलगायत करिब २ सय औद्योगिक वस्तु विश्वभर फिँजाइरहेको छ । वस्तुतः चीन २ सय ३० वर्ष साम्राज्य भोगेको मुलुक हो ।

प्रस्ट योजना, राजनीतिक स्थायित्व र कडा परिश्रमका कारण चीनले पछिल्लो तीन दशकमा चमत्कारिक तरक्की गरेको हो । भलै उक्त कालखण्ड हाम्रा निमित्त अभिशाप बन्यो । चीनको समृद्धिबाट सिक्न सकिने र सिक्नुपर्ने थुप्रै कुरा छन् । खुला अर्थतन्त्र अंगीकार पूर्व चीनमा भोकमरीको प्रकोप थियो । देङ साउपिङले कृषकलाई सम्झौतासहित इन्सेन्टिबको व्यवस्था गरे । राज्यले महँगो मूल्यमा अनाज खरिद गर्ने नीति लियो । महँगो मूल्यममा उपज बिक्री पाउँदा कृषक उत्पादनमा अभिप्रेरित भए । कृषिक्षेत्र व्यावसायिक बन्दा अनाजको उत्पादन वृद्घि भयो । फलस्वरूप भोकमरी भाग्न बाध्य भयो । अहिले पनि चीन खाद्यान्नमा ९५ प्रतिशत स्वावलम्बी छ । आर्थिक समृद्धिका निम्ति कृषिक्षेत्रको व्यवसायीकरण अपरिहार्य छ भन्ने कुरा चीनबाट हामीले सिक्नुपर्ने पहिलो पाठ हो ।

कृषिक्षेत्र व्यवसायीकरण हुँदा कृषिमा श्रमशक्तिको बचत हुन गयो । उक्त श्रमशक्तिलाई ससाना उद्योगमा आकर्षित गरियो । लाखौं जनशक्ति उत्पादनमूलक कार्यमा सामेल भए । ग्रामीण क्षेत्रको आर्य वृद्धि हुन पुग्यो । ग्रामीण क्षेत्रमा रहेको जनशक्ति सहर र औद्योगीकरणमा उपयोग गरियो । बिस्तारै श्रमिकको अवस्था सुध्रन पुग्यो । फलस्वरूप श्रमिक मालिक बन्ने क्रम सुरु भयो । तिनीहरूले साना कारखाना खोल्न सुरु गरे । बिस्तारै ससाना कारखाना मालिक ठूला उद्योगपतिमा रूपान्तरण हुन पुगे । नेपालमा उत्पादनमूलक क्षेत्रमा लगानीकर्ता उदास भइरहेको सन्दर्भमा औद्योगीकरणको जग घरेलु तथा साना उद्योगबाटै बसाल्न सकिन्छ भन्ने चीनबाट सिक्नु पर्ने दोस्रो पाठ हो ।

चीनमा सन् १९६६ मा माओको नेतृत्वमा सांस्कृतिक क्रान्ति भएको थियो । ती ताका ९० प्रतिशत चिनियाँ गाउँमा बस्थे । चीनमा आर्थिक समृद्धिको सुरुवात गाउँबाट भयो । ग्रामीण क्षेत्र नउठेसम्म सिंगो मुलुक उठ्न सक्दैन भन्ने कुरालाई चीनले राम्रैसँग मनन ग¥यो । चीनले ग्रामीण क्षेत्रको विकासलाई आर्थिक समृद्धिको आधारशिला बनाइएको छ । आर्थिक समृद्धिको आधारशिला ग्रामीण क्षेत्रलाई बनाउनुपर्छ भन्ने चीनबाट सिक्नुपर्ने तेस्रो पाठ हो ।

चीनले शैक्षिक क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको छ । जिडिपीको करिब ४ प्रतिशत शिक्षा क्षेत्रमा लगानी गरिरहेको चीनमा २ हजार ७ सय विश्वविद्यालय तथा क्याम्पस छन् । सातवटा विश्वविद्यालयले फिनल्यान्डको कुल जनसंख्याभन्दा अधिक स्नातक उत्पादन गरिरहेका छन् । हाम्रो हकमा शिक्षालाई मात्र व्यवसाय बनाइएको र कलेज तथा विश्वविद्यालयहरूले सर्टिफिकेट मात्र बाँडिरहेकाले शैक्षिक प्रणालीमा आमूल परिवर्तन आवश्यक ठानिएको छ । दक्ष निर्माणका लागि गुणस्तरीय र रोजगारमूलक शैक्षिक बृहत्तर लगानी लगाउन राज्य चुक्नु हुँदैन भन्ने चीनबाट सिक्नुपर्ने चौथो पाठ हो ।

करिब ५६ सांस्कृतिक समूह रहेको चीन आफैंमा विविधताको मुलुक हो । चीनमा मूलभूत रूपमा जापानिज, कोरियन र भियतनामी संस्कृतिका मानिस रहेका छन् । महत्वपूर्ण कुरा, विविध संस्कृतिको बीचमा सांस्कृतिक सहिष्णुता निर्माण गरिएको छ । चिनियाँ संस्कृति र पहिचान बचाउन ३ सय कल्चरल सेन्टर खुलेका छन् । यसले पनि सांस्कृतिक द्वन्द्व नभएको खुलासा गर्छ । जातीय तथा सांस्कृतिक पहिचान, सामाजिक तथा सांस्कृतिक सहिष्णुता, संस्कृतिको व्यावसायिक विकास आर्थिक समृद्धिको द्योतक हुन सक्छ । १ सय २५ सांस्कृतिक समुदाय भएको नेपालमा संस्कृतिक विविधतालाई आर्थिक समृद्धिको आयामका रूपमा उपयोग गर्न सकिन्छ भन्ने चीनबाट सिक्नुपर्ने पाँचौं पाठ हो ।

चीनमा आर्थिक अनिमिततामा संलग्न राष्ट्रसेवकलाई फाँसी, आजीवन काराबास, सम्पूर्ण सम्पत्ति जफत र जीवनभर कुनै दलको राजनीति गर्न नपाउने जस्ता कठोर कानुनी व्यवस्था छ । सोही प्रावधानअनुरूप सन् २०१५ मा जो यो क्याङ आजीवन कारावासमा परेका थिए । जो चिनियाँ सुरक्षाका मामिलाका पूर्व प्रमुख थिए । भ्रष्टाचार हुनु भनेको स्रोतसाधनको दुरुपयोग हुनु हो ।

नेपाल भ्रष्टाचार हुने मुलुकमा पर्छ । नेपाल, सन् २०२२ मा विश्वका कुल १ सय ८० मुलुकमध्ये औसत १ सय १० औं स्थानमा रहेको छ, जहाँ नेपालको करप्सन इन्डेक्स ३४ छ । यसको आशय नेपालमा सुशासन, पारदर्शिता र आर्थिक अनुशासनमा कमजोर छ भन्ने हो । यसर्थ ऐन, नियम, कानुनको कडा परिपालना, आर्थिक अनुशासन, जवाफदेहिता र सुशासनबाट आर्थिक समृद्धि हासिल गर्न सकिन्छ भन्ने चीनबाट सिक्नुपर्ने छैटौं पाठ हो ।

चीनले निर्यात प्रवद्र्धनका लागि पूर्बी कोस्ट्रल क्षेत्रमा विशेष आर्थिक क्षेत्र स्थापना गर्यो । सन् १९८० मा १ करोड ३० लाख जनसंख्या रहेको एउटा मत्स्य गाउँ महानगरमा परिणत हुन पुग्यो । उक्त महानगरले सन् २०११ मा ४ सय १५ बिलियन अमेरिकी डलरबराबरको निर्यात गर्यो, जुन चीनकै उच्च थियो । उक्त महानगर अरू थिएन, सेन्जेन थियो । हाम्रो हकमा पूर्वतयारीबिना योजना निर्माण गरिन्छ । जब काम थालनी हुन थाल्छ, अनेकौं स्वार्थ समूह विरोधमा उत्रन्छन् । जतिसुकै राम्रो आयोजना किन नहोस्, प्रतिपक्ष दलले सहयोग गर्दैनन् । जतिसुकै रणनीतिक महत्वको आयोजना किन नहोस्, राज्य घुँडा टेक्न पुग्छ । कैयन् आयोजना यसरी तुइएका नजिर छन् । यसर्थ, प्रस्ट योजना र जनसमर्थन जुटाएर मात्र ठूला तथा रणनीतिक महत्वका योजनाहरूमा हात हाल्नुपर्छ भन्ने कुरा चीनबाट सिक्नुपर्ने सातौं पाठ हो ।

चीनमा सन् १९८० पश्चात् तीव्र सहरी विकास भइरहेको छ । कृषिक्षेत्रको यान्त्रीकरण हुँदा ग्रामीण क्षेत्रमा श्रमशक्ति बचत भई सहरी विकासमा मद्दत मिलेको हो । ग्रामीण संस्कृतिलाई सहरी संस्कृतिमा रूपान्तरण गरिनु चीनको काबिल पक्ष हो, जहाँ बढ्दो सहरीकरण व्यवस्थापन गर्न अपार्टमेन्ट र हाउजिङलाई प्रोत्साहन गरिएको छ । सहरीकरण वृद्धि हुँदा घरायसी आवश्यकताको आकार फराकिलो हुन पुगेको छ, जसले गाउँको उत्पादनलाई प्रोत्साहन गरिरहेको छ । नेपालमा सहरीकरणप्रतिको लालसा वृद्धि भइरहेको सन्दर्भमा सहरीकरण आफैंमा घातक हुँदैन, समुचित व्यवस्थपान गर्दा अर्थतन्त्र झनै सबल हुन्छ भन्ने चीनबाट सिक्नुपर्ने आठौं पाठ हो ।

नेपालमा सडक, जलविद्युत् आयोजना, खानी उत्खनन, उद्योग स्थापना आदि विषयमा सधैं विवाद हुने गर्छ । अर्थात् विवाद नसुल्झाई कार्य प्रारम्भ गरिन्छ । कतिपय आयोजना विवादका कारण अघि बढ्न सक्दैनन् । नेपालमा यस्ता अनेकौं दृष्टान्त छन् । तर, चीनले १३ लाख मानिस विस्थापित गरी याङ्सी नदीमा २२ हजार ५ सय मेगावाट क्षमताको थ्री गर्जेज आयोजना निर्माण गरेको छ । हामीकहाँ १२ सय मेगावाट क्षमताको बूढीगण्डकी, ७ सय ५० मेगावाट क्षमताको पश्चिम सेती वा ९ सय मेगावाट क्षमताको माथिल्लो कर्णाली निर्माणको सपना देख्दै गर्दा ठूला र रणनीतिक महत्वका आयोजना निर्माणमा स्थानीयवासीले त्याग गर्न सक्नुपर्छ भने राज्य कटिबद्ध बन्न सक्नुपर्छ भन्ने चीनबाट सिक्नुपर्ने नवौं पाठ हो ।

प्रतिक्रिया दिनुहोस्