नेपालमा पनि एमेच्योर रेडियो

नेपालमा पनि एमेच्योर रेडियोको अभ्यास सुरु हुने भएको छ । गैरव्यावसायिक रेडियोका रुपमा अन्तर्राष्ट्रिय स्तरमा स्थापित एमेच्योर रेडियोलाई संसारका विभिन्न मुलुकमा सोखका रुपमा प्रसारण इजाजत दिने चलन छ । ‘ह्याम रेडियो’ पनि भनिने एमेच्योर रेडियोले विभिन्न सन्देशहरूको गैरव्यावसायिक आदानप्रदान गर्छ भने निजी मनोरञ्जनदेखि आपतकालीन सञ्चारको उद्देश्यका लागि समेत यसको उपयोग गर्ने गरिएको छ ।
रेडियो सञ्चार (लाइसेन्स) नियमावली, २०४९ अनुसार ‘एमेच्योर रेडियो’ भन्नाले व्यक्तिगत लाभको उद्देश्य नराखी रेडियो प्रविधि सम्बन्धी आत्म–शिक्षा तथा अन्वेषणको उद्देश्यले इजाजत प्राप्त व्यक्तिहरूको बीच सञ्चार आदानप्रदान गर्न प्रयोग गरिने रेडियो यन्त्र भनिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले एमेच्योर रेडियो स्थापनाका लागि इजाजत प्रक्रिया सुरु गरेको छ । मन्त्रालयले रेडियो सञ्चार (लाइसेन्स) नियमावली, २०४९ बमोजिम एमेच्योर रेडियो कन्ट्रोल अपरेटर वा एमेच्योर रेडियो सञ्चालक लाइसेन्सको प्रक्रिया सुरु गरेको हो ।
मन्त्रालयका फ्रिक्वेन्सी महाशाखा प्रमुख अनुप नेपालका अनुसार एमेच्योर रेडियो सञ्चालक लाइसेन्सका लागि लिखित तथा प्रयोगात्मक परीक्षा हुनेछ । यो रेडियो खासगरी इलेक्ट्रोनिक्समा सोखिनहरुका लागि जो इन्जिनियरिङ तथा सुरक्षाका क्षेत्रमा कामको अनुभव लिएका हुन्छन्, उनीहरुले बढी लिने गरेको अन्तर्राष्ट्रिय अभ्यास छ । उनका अनुसार यसका लागि अन्तर्राष्ट्रिय दूरसञ्चार संगठनबाटै फ्रिक्वेन्सीको व्यवस्था गरिएको हुन्छ ।
मन्त्रालयका अनुसार एमेच्योर रेडियो सञ्चालन गर्न इच्छुकहरुले चैत २१ भित्र मन्त्रालयको फ्रिक्वेन्सी व्यवस्थापन तथा विश्लेषण शाखामा निवेदन दिनुपर्ने हुन्छ । एमेच्योर रेडियो लाइसेन्स प्राप्त गर्न १६ वर्ष उमेर पुगेको जोसुकै नेपाली नागरिकले सक्नेछ भने उनीहरुले नेपाली र अंग्रेजी दुवै भाषामा राम्रो बोल्न र लेख्न सक्ने हुनुपर्ने शर्त राखिएको छ ।
यस्तै, इलेक्ट्रोनिक्स एण्ड टेलिकम्युनिकेसन विषयमा सामान्य ज्ञान भएको हुनुपर्ने व्यवस्था गरिएको छ । रेडियो सञ्चार (लाइसेन्स) नियमावलीमा विदेशी नागरिकलाई समेत छोटो अवधिको एमेच्योर रेडियो सञ्चालन अनुमति दिन सकिने व्यवस्था रहेको छ । एमेच्योर रेडियोमा फ्रिक्वेन्सी स्पेक्ट्रमको प्रयोग गरिन्छ भने यसमा ताररहित प्रविधि प्रयोग गर्न सकिने जनाइएको छ ।
अन्तर्राष्ट्रिय जगतमा यसलाई आत्म–प्रशिक्षण, निजी मनोरञ्जन, रेडियो स्पोर्ट, प्रतिस्पर्धा तथा आपतकालीन सञ्चारको उद्देश्यका लागि उपयोग गरिन्छ । एमेच्योर रेडियो प्रशारण अधिकार नागरिकलाई अन्तर्राष्ट्रिय सन्धिले नै सुनिश्चित गरेको हुन्छ भने यसको उपयोग रेडियो मार्फत संसारभरका मानिसहरूलाई सम्पर्क गर्न र यसबाट अन्तर्राष्ट्रिय मित्रता विकास गर्न सकिने मान्यताका आधारमा गरिन्छ ।
एमेच्योर रेडियो सञ्चालकको उपकरण कत्तिको प्रभावकारी छ र उसले एक अपरेटरको रूपमा कति राम्रो गर्न सक्छ भनेर परीक्षण गर्न अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा प्रतिस्पर्धा समेत गर्न सक्ने जनाइएको छ । रेडियो एमेच्योरहरूलाई २१ औं शताब्दीको नजिकबाट नियन्त्रित वातावरणमा पनि व्यावसायिक वा वैधानिक नियन्त्रणबिना नै आविष्कार गर्ने क्षमता दिने मान्यताका आधारमा यसको लाइसेन्स अन्तर्राष्ट्रिय सन्धिमार्फत खुला गरिएको हो ।
एमेच्योर रेडियो सेवा (एमेच्योर सेवा र एमेच्योर–स्याटेलाइट सेवा) अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयू) द्वारा प्रतिपादित रेडियो नियमहरूमार्फत स्थापना गरिएको हो । सरकारहरूले प्रसारणको प्राविधिक र परिचालन विशेषताहरू नियमन गर्न सक्ने भए पनि यसको सञ्चालन मौलिक अधिकारमा पर्छ, जसमा अद्वितीय पहिचान कल साइनको साथ व्यक्तिगत स्टेसन इजाजतपत्र सरकारहरुले जारी गर्छन् ।
एमेच्योर अपरेटरहरूले एमेच्योर रेडियो इजाजतपत्र राख्नुपर्ने प्रावधान रहेको छ । पर्याप्त प्राविधिक रेडियो ज्ञान र सरकारको रेडियो नियमहरूको कानुनी पक्षबारे सरकारी परीक्षा पास गरेर मात्र यो प्राप्त गरिन्छ । “फ्रिक्वेन्सीका लागि भने पर्याप्त रिसोर्स भएकोले भएकोले पर्याप्त रुपमा एमेच्योर रेडियाको लाइसेन्स बाँड्न सकिन्छ,” महाशाखा प्रमुख नेपालले भने । रेडियो एमेच्योरहरू रेडियो स्पेक्ट्रममा अंकित फ्रिक्वेन्सी ब्यान्डहरूको सानो सेटमा सीमित रहन्छन् ।
यसले सहर, क्षेत्र, देश, महाद्वीप, विश्व वा अन्तरिक्षमा पनि सञ्चारलाई सक्षम बनाउँछ । धेरै देशहरूमा एमेच्योर रेडियो अपरेटरहरूले इन्टरनेटमा सुरक्षित भर्चुअल निजी नेटवर्कहरूमा जडान भएका कम्प्युटरहरू वा ट्रान्ससिभरबीच रेडियो सञ्चार पठाउन, प्राप्त गर्न वा रिले गर्न सक्छन् । नेपालमा भने यो नौलो अभ्यास भए पनि करिब दुई दशकअघि नै यसको कानुनी सुनिश्चितता गरिएको थियो ।