Logo

चार करोड लगानीमा प्राकृतिक अस्पताल

दाङको घोराहीमा प्राकृतिक रूपबाट बिरामीलाई सेवा दिने उद्देश्यले वेलनेस अस्पताल सञ्चालनमा आएको छ । घोराही उपमहानगरपालिका–१० उतर अमराइमा अस्पताल सञ्चालनमा आएको हो । अस्पतालले करिब ६ महिना अघिबाट सेवा दिन सुरु गरेको वेलनेस अस्पताल प्रालिका अध्यक्ष छविनारायण गिरिले जानकारी दिए ।

अस्पताल सञ्चालनमा ल्याइए पनि सेवा थप गर्ने कार्य भने जारी छ । अस्पताल सञ्चालनसँंगै सेवा पनि थप गर्दै लगेको अस्पताल व्यवस्थापनले जनाएको छ । “केही समयअघि सञ्चालनमा ल्याउने योजना रहे पनि कोभिडका कारण केही ढिला भएको हो,” अध्यक्ष गिरिले भने । लकडाउनका कारण निर्माणमा समस्या भएपछि सञ्चालनमा ढिलाइ भएको उनको भनाइ छ ।

प्राकृतिक विधिबाट बिरामीको उपचार गरिने उक्त अस्पस्ताल ३० बेडको छ । अस्पताल निर्माणका लागि चार करोड २५ लाख खर्च भएको अध्यक्ष गिरिले बताए । यस प्रकारको अस्पताल जिल्लामा पहिलो रहेको उनको भनाइ छ । बुटवल पश्चिममा यस प्रकारको अस्पताल नभएको उनले दाबी गरे । यस क्षेत्रमा केही नयाँ काम गर्ने उद्देश्यले यस प्रकारको अस्पताल निर्माण गर्न थालेको उनको भनाइ छ ।

“नाफा कमाउनेभन्दा पनि सेवा गर्ने उद्देश्यले यस प्रकारको अस्पताल खोलेका हौं,” अध्यक्ष गिरिले भने । अस्पतालमा क्यान्सर, प्यारालाइस, नसासम्बन्धी रोग तथा बाथ रोग, तथा ढाडसम्बन्धी रोगको प्राकृतिक विधिद्वारा उपचार गरिने अध्यक्ष गिरिको भनाइ छ । प्राकृतिक पद्धतिबाट उपचार गरिने भएकाले उपचारसमेत सस्तो हुने उनको दाबी छ ।

उक्त अस्पतालमा खाना, बस्न र उपचारसहित दैनिक ४ हजार र सामान्य अवस्थामा खाना, बस्न र उपचार गरी दैनिक एक हजार पाँच सय खर्च लाग्ने गिरि बताउँछन् । अस्पतालमा प्राकृतिक उपचार, थेरापी, योग, मसाज थेरापी, एकुपेन्सर, डाइटिङ, जीवन शैलीमा कसरी सुधार ल्याउन सकिन्छ भनेर काउन्सिलिङबाट उपचार गरिने छ । पारिवारिक वातावरणमा उपचार लिन सकिने गिरि बताउँछन् ।

उक्त अस्पतालमा भर्ना गरेर तथा ओपीडी रूपमा पनि सेवा दिने गरेको छ । अस्पतालमा प्राकृतिक उपचारसँगै अर्गानिक खानाको व्यवस्था गरिएको छ । पछिल्लो समय प्राकृतिक उपचारप्रति नागरिकको आकर्षण बढ्दै गएको उनी बताउँछन् । केही समय अघिसम्म प्राकृतिक उपचारका बारेमा नागरिकलाई जानकारी हुन नसकेको उनको भनाइ छ । ६ महिनाको समयमा ५७५ जनाले उपचारबाट सञ्चो भएर घर फकिसकेको अध्यक्ष गिरिले बताए ।

दाङ, रोल्पा, जाजरकोट, रुकुम, नेपालगन्ज, बाँके, बर्दियासम्मकाले उपचार लिएर फकिएका छन् । बढी मात्रमा नशा, ढाड दुख्ने, प्यारालाइस, माइग्रेसनसम्बन्धी रोगका विरामी आउने गरेको उनको भनाइ छ । अस्पतालमा उपचार गराइरहेकी घोराही–१२ हापुरकी पार्वती रोकाले प्राकृतिक उपचारवाट आफनो हातखुट्टा सञ्चालन गर्न सक्ने भएको बताइन् ।

एक्कासि शरीरको एकतर्फको हर नै काम नलाग्ने अवस्थामा आएको तर अहिले सुधार हुँदै गएको उनले बताइन । “अरुको भरमा आएको केही दिनमात्र भएको छ अहिले चलाउन सक्ने भएको छु,” उनले भनिन् । अस्पतालमा दुईजना डाक्टरले सेवा दिइरहेको छन् ।

उक्त अस्पतालमा उपचारका लागि आउने बिरामीलाई खुवाउनका लागि अर्गानिक खेतीसमेत गरिएको छ । यसलाइ थप व्यवस्थित रूपमा अगाडि बढाउने प्रयास जारी रहेको उनी बताउँछन् । तरकारी, कागतीखेती माहुरी पालन र फलफूलखेती गरिएको उनको भनाइ छ ।

व्याचलर अफ नेचुरलप्याथिक तथा योग पढाइ हुने

वेलनेस हस्पिटल प्रालिले केही समयपछि ब्याचलर अफ नेचुरलप्याथिक एण्ड योग साइन्सको कक्षा सञ्चालन गर्ने जनाएको छ । कक्षा ११, १२ मा साइन्स विषय लिएकाले यसको अध्ययन गर्ने पाउने भएका छन् । यस विषय जिल्लामा सञ्चालन हुने भएपछि अध्ययनका लागि भारत जानुपर्ने बाध्यता हटने छ ।

यसले यस क्षेत्रका मात्र नभई छिमेकी जिल्लामा समेत सहज हुनेछ । अध्ययन सुरु गरेपछि ४० जनाले अध्ययन गर्ने अवसर प्राप्त गर्ने उनको भनाइ छ । यसले यस क्षेत्रका नागरिकलाई सहजता हुनेछ । आफ्नै स्थानमा बसेर आफूले चाहेको विषय अध्ययन गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्