अनलाइन टिकटले दुर्गमका यात्रुलाई सहज
नेपाल वायुसेवा निगमले अनलाइनमार्फत् टिकट काट्न सकिने व्यवस्था गरेपछि दुर्गम क्षेत्रका यात्रुलाई निकै सहज भएको छ । विशेषगरी कर्णाली प्रदेशका विभिन्न विमानस्थलमार्फत् यात्रा गर्ने नागरिकले राहतको महसुस गरेका छन् । यसअघि निगमको जहाज टिकट पहुँचवालाले चिनजानका भरमा वितरण गर्नेदेखि महँंगो शुल्क तिरेर विचौलियाबाट टिकट लिनुपर्ने बाध्यता भएको यात्रुहरूले गुणासो गर्ने गरेका थिए ।
यात्रुहरूको सहजतालाई मध्यनजर गर्दै नेपाल वायुसेवा निगमले फागुन पहिलो सातादेखि आफ्ना आन्तरिक तथा बाह्य हवाई सेवाको टिकट पनि अनलाइनमार्फत् लिन सकिने व्यवस्था गरेपछि यात्रुहरूले सहजता महसुस गरेको स्थानीय लिलाप्रसाद ढकालले बताए । उनका अनुसार अनलाइन वालेटको प्रयोग गरेर घरमै बसेर पनि हाल आफूलाई आवश्यक परेको टिकट खरिद गर्न सकिन्छ ।
“निगमले अनलाइन सेवामार्फत् टिकट वितरण गर्न थाले पनि विशेषगरी कर्णाली प्रदेशका नागरिकका लागि निकै राहत भएको छ,” उनले भने, “दुर्गम क्षेत्रमा सडक यात्राभन्दा हवाई यात्रा नै बढी प्रभावकारी हुने भएका कारण सहज रूपमा टिकट नपाउँदा विरामी तथा अन्य समस्या परेका व्यक्तिले विचौलियाबाट चर्को शुल्कमा टिकट खरिद बिक्री हुने गुनासोमा पनि कमी आएको छ ।”
यसअघि यात्रुहरूलाई लामोलाइन लगाएर टिकट वितरण गर्दै आएको नेपाल वायुसेवा निगम सल्ले विमानस्थल स्टेसनले पनि हाल अनलाइनमार्फत् नै टिकट वितरण गर्दै आएको छ । यसअघि टिकटका लागि विभिन्न भनसुन वा दबाब सहनुपरे पनि हाल अनलाइनमार्फत् नै टिकट वितरण हुने भएका कारण कर्मचारीलाई पनि सहजता भएको छ ।
सरकारी, ज्येष्ठ नागरिक र विरामीहरूको कोटामा केही सहजीकरण गर्ने गरिएको भए पनि अन्य सिटहरू अनलाइनबाट यात्रुहरूले नै आवश्यकता अनुसार टिकट लिनसक्ने सल्ले स्टेसन प्रमुख गोविन्द गिरि बताउँछन् । रुकुम सल्ले विमानस्थलबाट निगमले काठमाडौं र नेपालगन्जका लागि उडान भर्दै आएको छ ।
रुकुम पश्चिममा रहेका दुईवटा विमानस्थलमध्ये सल्ले विमानस्थल हाल सञ्चालनमा रहे पनि अर्को चौरजहारी विमानस्थल भने हाल सञ्चालनमा छैन । सल्यान, जाजरकोट र रुकुमको पश्चिमी क्षेत्रका लागि पायक पर्ने चौरजहारी विमानस्थल पनि सञ्चालनमा ल्याउनुपर्ने स्थानीयको माग छ । रुकुम पश्चिम सल्ले विमानस्थलमा पनि यसअघि हप्तामा चार फ्लाइट हुँदै आएको भए पनि हाल दुई उडानमात्र हुँदै आएको छ ।