बारेकोटमा विपन्न नागरिक उपचार कोष
आर्थिक अवस्था कमजोर भएकै कारण अकालमै ज्यान गुमाउन बाध्य भएका आमनागरिकका लागि बारेकोट गाउँपालिकाले विपन्न नागरिक उपचार कोष स्थापना गरेको छ । गरिबीको रेखमुनि रहेको नागरिकले आफैंले उपचार गर्न नसक्ने अवस्थामा रहेका सर्वसाधारणका लागि यो कोषबाट सहयोग हुने गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरिले बताए ।
सुत्केरी, रुख, भीरबाट लडेर घाइते भएका, विभिन्न प्राकृतिक प्रकोपमा परेर उपचारमा समस्या भएकालाई गाउँपालिकाले सहयोग गर्ने उनले बताए । त्यस्तै संघीय सरकारबाट सूचिकृत भई आर्थिक सहायता गर्नुपर्ने बिरामीका लागि समेत उक्त कोषबाट सहयोग हुने उनले बताए । गाउँपालिकाले १८ लाख रुपैयाँ विनियोजन गरेर समस्यामा परेका नागरिकलाई सहायता गरिरहेको उनले बताए ।
बारेकोट जिल्लाको दुर्गम पालिकामध्येमा पर्दछ । गाउँपालिकाको यो निर्णयले धेरै गरिबीको रेखामुनि रहेका नागरिकलाई सहयोग गरेको सरोकारवाला बताउँछन् । बारेकोट गाउँपालिकाले बिरामीलाई सहज रूपमा स्वास्थ्य संस्थासम्म ल्याई पुर्याउनका लागि महिला स्वंयमसेविकलाई स्ट्रेचर उपलब्ध गराएपछि सबै बिरामीलाई सहज भएको छ । डोको तथा कपडाको सहायताले स्वास्थ्य संस्थासम्म बिरामी बोकेर ल्याउनु पर्ने बाध्यता हटेर गएको छ ।
सबै स्वंयमसेविकलाई तालिम दिएर स्ट्रेचर उपलब्ध गराइएको हो । गाउँगाउँबाट बिरामीलाई स्वास्थ्य संस्थामा पुर्याउनका लागि सबैभन्दा नजिक स्वंयमसेविक हुनुका साथै आवश्यक सल्लाहसमेत पाइने भएपछि स्वंयमसेविकलाई तालिम दिएर स्ट्रेचर उपलब्ध गराएको थियो । स्ट्रेचर नहुँदा समस्य भोगिरहेको बारेकोट गाउँपालिकाभित्रका नागरिक खुसी भएका छन् ।
जंगलमा चोरी निकासी रोक्न क्यामेरा जडान गरिँदै
बारेकोट गाउँपालिकाभित्रका सामुदायिक जंगलमा क्यामेरा जडान गर्न लागिएको छ । विश्वकै दुर्लभ वन्यजन्तु बारेकोटका जंगलमा पाइने र चोरी सिकारी बढेकोले रोकथामका लागि क्यामेरा जडान गर्न लागिएको हो । बारेकोट गाउँपालिकाले १२ वटा क्यामेरा जडान गर्न लागेको गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरिले बताए ।
उक्त कार्यलाई रेडपाण्डा नेटवर्कले समेत सपोर्ट गरेको छ । विश्वमै दुर्लभ मानिएका रेडपाण्डा, चिर कालिज, सुनगिद्ध, कस्तुरीलगायतका जीवजन्तु बारेकोटका सामुदायिक जंगलमा पाइन्छन् । चोरी सिकारी नियन्त्रण, रेडपाण्डाको संरक्षणमा टेवा पुग्ने हेतुले क्यामेरा जडान गर्न लागेको अध्यक्ष गिरिले बताए ।
“यो वर्षभित्रै बारेकोटका विभिन्न जंगलमा क्यामेरा जडान गर्ने योजना बनाएका छौं,” उनले भने, “चोरी सिकारी रोक्नका लागि क्यामेरा जडान गरिनेछ ।” रेडपाण्डा संरक्षणका गाउँपालिकाको मुख्य उद्देश्य रहेको समेत उनले बताए । पछिल्लो समय रेडपाण्डा संरक्षणका स्थानीयसमेत जुटेका छन् । युवालाई रेडपाण्डबारे जानकारी गराई युवा जनशक्ति परिचालन गरिएको पालिकाले बताएको छ ।