भ्रष्टाचारविरुद्धको शून्य सहनशीलता अभियान

बढ्दो भ्रष्टाचार नियन्त्रण तथा रोकथामका लागि जुम्लामा ‘भ्रष्टाचारविरुद्धको शून्य सहनशीलता अभियान’ थालिएको छ । स्थानीय तह, विषयगत कार्यालयलगायत अन्य सार्वजनिक निकायको सेवा प्रवाह र विकासमा हुने भ्रष्टाचारलाई रोक्न शून्य सहनशीलता अभियान थालिएको हो ।
जुम्लाका युवा सम्मेलित वागेश्वरी असल शासन क्लब (बास) नेपाल संस्थाले जिल्लाभर भ्रष्टाचार रोक्न अभियान थाल्ने बासकी अध्यक्ष अनिता नेपालीले बताइन् । उनले भनिन्, “अख्तियारको प्रतिनिधि निकायका रूपमा प्रशासनलाई साथ लिएर सबै स्थानीय तहमा भ्रष्टाचारविरुद्धको शून्य सहनशीलता अभियान थालिने छ । नागरिक सचेतनामा जोड दिँदै विकास र सेवा प्रवाहका नाममा हुने भ्रष्टाचारलाई शून्यमा झार्ने दुरगामी लक्ष्य राखिएको छ ।”
गाउँमा भ्रष्टचारविरुद्धको अभियान चलाउने, सार्वजनिक सेवा प्रवाहमा नागरिकको पहुँच वृद्धि गर्ने, भ्रष्टाचारविरुद्ध जनमत सृजना गर्ने, भ्रष्टाचार गर्ने व्यक्ति र निकायविरुद्ध कानुनी शून्य सहनशीलता कायम गरिने अध्यक्ष नेपालीको भनाइ छ ।
उनका अनुसार भ्रष्टाचारमुक्त समुन्नत समाज निर्माण गर्ने, जनसहभागितालाई वृद्धि गर्ने, पारदर्शिता र जवाफदेहिता विकासका लागि काम गरिने छ ।
संघीयतापछि स्थानीय तथा प्रदेश सरकारको कार्यशैलीबाट नागरिक असुन्तष्ट छन् । भ्रष्टाचार पनि उत्तिकै बढेको गुनासो छ । तर नागरिक सचेत नभएसम्म भ्रष्टाचार नरोकिने प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीले बताए । मंगलबार जुम्लामा बास नेपालद्वारा आयोजित भ्रष्टाचारविरुद्धको शुद्धीकरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रजिअ केसरीले नागरिकको सचेतना बिना आर्थिक सुशासन कायम र भ्रष्टाचार निवारण असम्भव रहेको उल्लेख गरे ।
उनले भने, “एउटा कुनै व्यक्ति र संस्थाले चाहेर भ्रष्टाचार रोकिँदैन । सबै संयन्त्र चुस्त हुनुपर्छ । नागरिक सचेत बन्नुपर्छ । विकासमा हुने आर्थिक भ्रष्टाचार निवारणतर्फमात्र नभई सेवा प्रवाहमा हुने भ्रष्टाचार र ढिलासुस्तीविरुद्धमा नागरिक सचेत हुन जरुरी छ ।” गाउँमा निर्माण हुने हरेक योजनाको भुक्तानी हुनु पहिले अनिवार्य सार्वजनिक सुनुवाइ गरेको हुनुपर्ने, सुनुवाइ, सामाजिक परिक्षण गर्नुपर्ने, आयोजना सूचना पार्टी राखेको हुनुपर्ने, स्टिमेटअनुसार गुणस्तर काम हुनुपर्छ ।
तिनै सुशासन कायम र भ्रष्टाचार निवारणका सूचक हुन् । तर उपभोक्ताहरू कुनै सूचक पूरा गरेको स्थिति छैन । त्यसैले गाउँगाउँमा भ्रष्टाचारविरुद्धको शून्य सहनशीलता अभियान चलाउन जरुरी रहेको उनको भनाइ छ । गाउँमा विकास गर्ने हैन खाने हो भन्ने पद्धत्तिको विकास भएको छ । विकास र सेवा प्रवाहका नाममा अनुचित लाभ लिने, प्रक्रिया पुगे पनि कतिपय अवस्था सेवा दिन ढिलासुस्ती गर्ने, सरकारी सवारीको दुरुपयोग गर्नेजस्ता कुनै पनि घटना भएको खण्डमा सिधै प्रशासनमा उजुरी गर्न प्रजिअ केसरीले आग्रह गरे ।
बागेश्वरी असल शासन क्लब (बास) नेपाल जुम्लामा मंगलबारदेखि आधिकारी रुपमा दर्ता प्रक्रिया गई जुम्लालाई भ्रष्टचारमुक्त जिल्ला बनाउने अभियान थालेको हो । बास नेपाल २०५७ सालदेखि भ्रष्टाचार निवारण, युवा सशक्तीकरणका लागि काम गर्दै आएको छ । मुलुकमा बढेको आर्थिक संकट, बजारमा बढेको कालो बजारी,विकासमा भएको मनपरी,सेवा प्रवाहमा भइरहेको ढिलासुस्ती सबै भ्रष्टाचारका कारक हुन् । नागरिकलाई सुशासनको प्रत्याभूति दिलाउन र आर्थिक सुशासन कायम गरी भ्रष्टाचारमुक्त समाज निर्माण गर्न नागरिक अगुवा, प्रशासनसहित सबै संयन्त्रबीच क्रियाशील एकता हुन जरुरी छ ।