माथिल्लो तामाकोसी समयमै पूरा हुन्छ: ऊर्जामन्त्री थापा

उपप्रधान तथा ऊर्जामन्त्री कमल थापाले माथिल्लो तामाकोसी जलविद्युत् आयोजना समयमै पूरा हुने बताएका छन् । ठेकेदार कम्पनीका कारण आयोजना समयमा पूरा नहुने हो कि भन्ने आशंका भइरहेका बेला मंगलबार आयोजना निरीक्षणमा आयोजनास्थल आएका मन्त्री थापाले आयोजना समयमै पूरा गरेर सफल पार्नु सबैको दायित्व भएको बताए ।
४५६ मेगावाटको निर्माणाधीन माथिल्लो तामाकोसी जलविद्युत् आयोजना अहिलेसम्मकै सबैभन्दा ठूलो आयोजना हो । यो स्वदेशी लगानीमा निर्माणाधीन छ । “स्वदेशी लगानीमा निर्माणाधीन आयोजना नेपालकै लागि महत्वपूर्ण र मौलिक मोडेल हो,” उनले भने, “यो आयोजना सफल पार्नु साझा कर्तव्य पनि हो ।”
निर्धारित समयमा आयोजना सफल बनाउन प्राथमिकता दिएर वास्तविक समस्या पहिचान गर्नका लागि पनि आफू स्थलगत निरीक्षणमा आएको बताए । आयोजनाको काममा विभिन्न समस्याका बारे आफूलाई जानकारी भएको र त्यसका लागि ऊर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणले पनि प्राथमिकताका साथ पहल गरिरहेको जानकारी दिए ।
आयोजना निरीक्षणका सिलसिलामा चरिकोटमा संक्षिप्त पार्टी पत्रकार भेटघाटका क्रममा ऊर्जा मन्त्री थापाले आफू माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको निरीक्षण, पार्टी कार्यकर्ता भेटघाट र धार्मिक भ्रमणका लागि दोलखा आएको बताए । आफ्नो कार्यकालको अन्तिम समय र व्यस्त समयका बाबजुद पनि आयोजनामा अहिले ठेकेदारले ढिलासुस्ती गरेकाजस्ता आयोजनाको बारेमा आफूले पहल गर्ने बताए ।
भारतीय ठेकेदारले ढिलासुस्ती के कारणले गरेको हो, नियतवश आयोजनाल असफल पार्नकै लागि गरेको भए कुटनैतिक रूपमा समेत भारत सरकारसँग समेत कुराकानी गरिने बताए । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको लट २ को ठेकेदार भारतीय कम्पनी टेक्स्म्याको रेल एन्ड इन्जिनियरिङ लिमिटेड रहेको छ । उसले हाइड्रोमेकानिकल अन्तर्गत बाँधको गेट, स्पट, पेनस्टक पाइपको डिजाइन, उत्पादन, ढुवानी, जडान र परीक्षणको काम गर्ने गरी २०६८ फागुन १६ गते ठेक्का सम्झौता भएको हो ।
टेक्स्म्याकोले २०७२ वैशाखमा काम पूरा गर्नु पर्ने भए तापनि उसको पनि पहिलो पटक म्याद थप भएर २०७५ असारसम्म पुराएको छ । उसलाई अप्पर तामाकोसी हाइड्रोपावर कम्पनीले २९ करोड २० लाख नेपाली रुपैंयामा र १ करोड ५ लाख ७४ हजार युरोमा भुक्तानी गर्नुपर्छ । तर उसले हालसम्म पेनस्टक पाइप आधा पनि आयोजनास्थल पुराएको छैन । जडानको काम सुरु मात्र गरेको छ । २०७५ असारबाट आयोजनाले पहिलो युनिट उत्पादन सुरु गरी २०७५ पुससम्म व्यावसायिक उत्पादन सुरु गर्ने लक्ष्य राखे तापनि लट २ कै कारण लक्ष्य भेट्न मुस्किल पर्ने आशंका उत्पन्न भएको छ ।
आयोजना पक्षले टेक्स्म्याकोको उच्च व्यवस्थापनलाई आयोजनास्थलसम्म पु¥याए तापनि कुनै प्रगति हुन सकेको छैन । टेक्स्म्याकोले भने सिभिल निर्माण कम्पनी सिनो हाइड्रो कर्पोरेसन चीनले ठाउँ तयार नगरी दिंदा काम गर्न नपाएको बताएको छ । तर आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले भने अरु लटका काम सन्तोषजनक रहेको बताए ।
-दिलबहादुर केसी