Logo

प्रदुषण गर्ने पाँच उद्योग कारवाहीमा

वीरगन्ज–पथलैया औद्योगिक करिडोरमा सञ्चालित पाँच उद्योगलाई वीरगन्ज महानगरपालिकाले कारवाही गरेको छ । महानगरपालिका हुँदै बग्ने सिर्सिया नदिमा उद्योगले फोहोर मिसाएर प्रदुषण गरेको भन्दै ५ उद्योगलाई जरिवाना गरेको हो ।

महानगरपालिका–२१ मा रहेको ग्लोबल लेदर उद्योग प्रालि, अर्निका प्रोसेसिङ उद्योग प्रालि, श्रीसिधी टेक्सटायल्स प्रालि, मोरियम लेदर उद्योग प्रालि र वडा–३२ मा रहेको दुर्गा पुल्प एण्ड पेपर प्रालिलाई ३/३ लाखका दरले जरीवाना गरेको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले जानकारी दिए ।

उद्योगहरुले सिर्सिया नदिमा प्रदुषण हुने गरेको पटक पटक गुनासो आउने गरेको र महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमको नेतृत्वमा पटक पटक अनुगमन निरीक्षण समेत हुने गरेको थियो । अनुगमन निरीक्षणका क्रममा उद्योगहरुले नदिमा प्रदुषण गरेको पाइएपछि सचेत गराउने गरेको थियो । त्यसपछि पनि प्रदुषण नरोकिएपछि महानगरपालिकाले जरिवाना गर्ने निर्णय गरेको थियो ।

महानगर क्षेत्रभित्र सञ्चालित पाँच उद्योगलाई ३/३ लाखका दरले १५ लाख रुपैयाँ जरीवाना गरेको महानगरपालिकाका वातावण शाखाका इञ्जिनियर प्रदीप साहले जानकारी दिए । पटक पटक सूचना जारी गरेर सचेत गराएपनि अटेर गरेपछि जरिवाना गरिएको साहले बताए । उद्योगी व्यावसायीले महानगरपालिकाको कारवाहीप्रति असन्तुष्टि जनाएका छन् ।

वीरगन्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हरि गौतमले महानगरपालिकाले संविधान र ऐन विपरित जरिवाना गरेको जिकिर गरे । “हामीले औद्योगिक व्यावसाय ऐन अनुसार उद्योग दर्ता गरेर सञ्चालन गरेका हौं । बारा पर्सा औद्योगिक करिडोरको मुख्य भाग सिर्सिया नदिन क्षेत्रमा नै पर्छ” उनले भने, “वर्षौदेखि शहरी क्षेत्रमा मझौला, तथा साना उद्योगहरु स्थापना भइ सञ्चालनमा रहेका छन् । सरकारले ढल निकासको व्यवस्थापन पनि गरिदिएन । नदि सफा पनि चाहिने, उद्योग पनि चाहिने तर, उचित निकास र व्यावस्थापन चाहिँ नगर्नु उचित होइन ।”

करिडोरका उद्योगबाट हुने प्रदुषण सिर्सिया नदिमा पर्ने भएकोले नेपाल र भारत दुवैतर्फ विरोध हुने गरेको छ । यसले उद्योगी व्यवासायीहरु सधैं चिन्तित हुनुपर्ने अवस्था छ । सरकारसँग कयौं पटक समस्या समाधानका लागि उचित ढल निकासको व्यवस्थाको माग गर्दा पनि अहिलेसम्म सम्बोधन नभएको गौतमको गुनासो छ ।

उनले भने, “नदिमा प्रदुषण गर्ने हाम्रो रहर होइन । सरकारले नत ढलको निकास दिएको छ । न त औद्योगिक क्षेत्र नै दिएको छ । त्यसैले उद्योगका समस्या सुन्ने सरकार र राज्यको दायित्व हो । स्थानीय सरकारको डर देखाएर उद्योगी तर्साउन खोजेको हो भने करिडोरका आधा उद्योग बन्द हुन्छन् । यसले कसैलाई पनि हित गर्दैन त्यसैले यसमा सबैले विवेक पुर्‍याउनुपर्छ ।”
महानगरपालिका भने यसमा पछि हट्ने अवस्थामा छैन ।

महानगरपालिकाका वातावारण शाखा प्रमुख साह भन्छन्, “उहाँहरुको गुनासो र समस्या स्वभाविक हो । समस्या छ भने समाधान पनि खोज्नुपर्छ । मानव स्वास्थ्यमा हानी हुने काम गर्नु भएन नि ! त्यसलाई व्यवस्थित गर्नुपर्छ । सधैं त्यसरी प्रदुषण गरियो भने भोलीका हाम्रा सन्ततीलाई पनि समस्या हुन्छ । सबैले मिलिजुली समस्या समाधान गर्नुपर्छ ।”

प्रदुषणको समस्या समाधानका लागि यसअघि वीरगन्ज उद्योग वाणिज्य संघले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासंघमार्फत पनि आग्रह गरिएको तर त्यसमा पनि सुनुवाई नभएको वरिष्ठ उपाध्यक्ष गौतमको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्