सहकारीको सस्तो पसल «

सहकारीको सस्तो पसल

कटुञ्जे सहकारी संस्थाले बजार मूल्यको तुलनामा आफ्ना ग्राहकका लागि सस्तो सहकारी पसल सञ्चालन गर्ने भएको छ । संस्थाको ४९ औं स्थापना दिवसको अवसरमा मंगलबार आयोजित अन्तरक्रिया कार्यक्रममा सूर्यविनायक भक्तपुरमा सस्तो पसल (मार्ट) सञ्चालन गर्ने जानकारी दिएको हो ।

५० लाख रुपैयाँको लगानीमा सञ्चालन सुरु गरिएको सो सस्तो पसलमा दैनिक उपभोग्य वस्तु सस्तो मूल्यमा बिक्री वितरण गर्न लागिको संस्थाका अध्यक्ष भूमण्डलेश मुनकर्मीले जानकारी दिए । सस्तो पसल (कटुञ्जे मार्ट) नामबाट सञ्चालन हुने सो सहकारी पसल सूर्यविनायक नगरपालिका पाण्डोबजारमा रहेको छ ।

सस्तो पसलबाट दैनिक उपभोग्य बस्तुहरु (किराना र अन्य) हाल मंदिरा र सुर्तिजन्यबाहेक बिक्री वितरण गरिने जनाइएको छ । सो व्यवसायबाट संस्थाको सेयर रकममा वृद्धि गरिने र सोही रकमबाट सञ्चालन गर्ने लक्ष्य राखिएको छ । बैशाख १ गतेबाट सञ्चालनमा आउने सो सस्तो पसलले आफ्ना सेयर सदस्य र बचतकर्ताका लागि विशेष छुट योजनासमेत ल्याउने जनाएको छ ।

संस्थामा खाता खोली कारोबार गरेका सदस्यले संस्थाको त्यहीबाट रकम निकाली उपभोग्य वस्तु खरिद गर्न सक्ने संस्थाका सञ्चालक समिति सदस्य विवेक कोइरालाले जानकारी दिए । यसैगरी सेयर सदस्यलाई निश्चित रकमसम्मको घरदैलो सेवा सुविधा दिनेसमेत संस्थाले योजना बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्