हिमाल आरोहणका लागि १२५ जनाले लिए अनुमति

वसन्तयाममाको हिमाल आरोहणका लागि अनुमति लिने क्रम सुरु भएको छ । विश्वका सर्वोच्च शिखर सगरमाथासहित अन्य ८ हिमाल आरोहणका लागि १ सय २५ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार मंगलबारसम्म २९ जनाले समगरमाथा आरोहणको अनुमति लिएका छन् । यस्तै बाँकी ९६ जनाले अन्य ८ हिमाल आरोहणको अनुमति लिएको विभागले जनाएको छ ।
सोमबारसम्म ८ हिमाल आरोहणका लागि १७ समूहका १ सय २५ जनाले आरोहण अनुमति लिएको विभागका निर्देशक युवराज खतिवडाले बताए । जसमा २९ महिला र ९६ पुरुष रहेका छन् । “अघिल्लो वसन्तयाममा यो समयमा १४ समूहले अनुमति पाएको तथ्यांक रहेछ । यो सिजनमा भने १७ समूहले अनुमति पाएका छन्” उनले भने, “मंगलबार पनि ४ समूह थप हुने क्रममा रहेको छ ।”
कोभिड–१९ को क्रास कम भएको र मौसम पनि सुधारोन्मुख देखिँदै गएकाले यो वर्ष आरोहीको संख्यामा उल्लेख्य वृद्धि हुने अपेक्षा रहेको निर्देशक खतिवडाको भनाइ छ । सगरमाथा आरोहणका लागि ३ समूहका २२ पुरुष र ७ महिला गरी २९ जनाले अनुमति दिएका छन् । सुर्मामा सरोवर (६५२३ मिटर) १ समूहका २ जना, अन्नपूर्ण–१ (८०९१ मिटर) मा ५ समूहका ५४, लोत्सेमा (८५१६ मिटर) १ समुहका ५ जनाले मनास्लु (८१६३ मिटर) ४ समूह १५ जनासहित अन्य हिमालको आरोहणका लागि अनुमति लिएको विभागले जनाएको छ ।
सगरमाथा आरोहणका लागि ९ देशका आरोहीले आरोहण अनुमति लिएका छन् । सबै भन्दा बढी अमेरीकाबाट ८, चीनका आरोही रहेका छन् । नेपालसहित ३२ मुलुकले आरोहण अनुमति लिएका छन् । अमेरिकापछि चीन, जापान, भारत कोरिया, क्यानेडालगायतबाट अनुमति लिने हिमाल आरोहीको संख्या धेरै देखिएको छ । सगरमाथा (८८४४.८६ मिटर) का लागि ८ नेपाली आरोहीले समेत आरोहण अनुमति लिएका छन् ।
आरोहण टोलीबाट सरकारलाई ४ करोड ८४ लाख रुपैयाँ रोयल्टी सरकारलाई संकलन भएको छ । सगरमाथा आरोहण अनुमति लिन विदेशी नागरिकले प्रतिव्यक्ति ११ हजार अमेरिकी डलर रोयल्टी तिनुपर्ने व्यवस्था छ भने नेपालीको हकमा प्रतिव्यक्ति ७५ हजार नेपाली रुपैयाँ रोयल्टी तिर्नुपर्ने छ । सगरमाथा आरोहणका लागि बढिमा १५ जनाको समूह बनाउन पाउने व्यवस्था रहेको विभागले जनाएको छ ।
हिमाल आरोहणका लागि अनुमति माग्नेको संख्यामा वृद्धि हुँदै गएको छ । अनुमति दिएका आरोही आधार शिविरतर्फ प्रस्थान गर्ने क्रममा रहेका छन् । कोभिड–१९का कारण हिमाल आरोहणमा कमि आएको भएपनि सन् २०२२ देखि आरोहीको संख्या बढ्ने क्रममा रहेको छ । गएको वसन्तयाममा ३ सस २५ जनाले अनुमति लिएपनि २ सय ४० जनाले मा सगरमाथाको आरोहण पूरा गरेका थिए ।
गत वसन्तयाममा सिजनमा हिमाल आरोहणबाट करिब ५३ देशका आरोही सहभागी रहेका थिए । जसबाट सरकारलाई ४० करोड ८७ लाख रुपैयाँ रोयल्टी प्राप्त भएको छ । सन् २०२१ मा आरोहण दलमा सहभागी सबै गरेर ४ सय ६३ ले आरोहण गरेको विभागको तथ्यांक छ । गत वसन्तयाममा ४९ जना अमेरिकी, २१ भारतीय र २७ बेलायती नागरिकले आरोहण गरेका थिए ।