अर्थमन्त्रीमा महतको सम्भावना उच्च «

अर्थमन्त्रीमा महतको सम्भावना उच्च

फाइल तस्बिर ।

पछिल्ला दिनमा सत्ता गठबन्धनका दलहरु सरकार विस्तारको छलफलमा केन्द्रित रहँदा अर्थमन्त्रीमा नेपाली कांग्रेसका नेता प्रकाशशरण महत बन्ने उच्च सम्भावना देखिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले बिग्रेको अर्थतन्त्रलाई सम्हाल्ने नेता आफ्नो दलमा नदेखेपछि अर्थ मन्त्रालयको जिम्मा नेपाली कांग्रेसको भागमा छोडेका छन् । नेपाली कांग्रेसमा अर्थमन्त्री बन्न केही नेताहरुले इच्छा प्रकट गरे पनि महतको सम्भावना उच्च देखिएको हो । कांग्रेसका एक नेताका अनुसार अर्थमन्त्रीका लागि उद्योगी विनोदकुमार चौधरी, महामन्त्री गगनकुमार थापा, उदयशमशेर राणा, ज्ञानेन्द्रबहादुर कार्की र उपसभापति पूर्णबहादुर खड्काले इच्छा देखाउँदै आएका थिए । तर, सभापति शेरबहादुर देउवा र आरजु राणा देउवाको समर्थन महतलाई भएकाले उनी नै अर्थमन्त्री बन्ने सम्भावना उच्च देखिएको हो ।

“कांग्रेसमा अहिलेसम्म कसलाई के जिम्मेवारी दिएर सरकारमा पठाउने भन्ने छलफल भएको छैन,” ती नेताले कारोबारसँग भने, “तर पनि महतलाई अर्थमन्त्री बनाउने आश्वासन देउवा परिवारले दिइसकेको छ । सरकार विस्तार हुने दिनसम्म तलमाथि नभए महतको अर्थमन्त्री पक्का छ ।”

आकांक्षीमध्ये महत अर्थशास्त्री भएका कारण पनि उनलाई अर्थमन्त्री बनाउन देउवालाई सजिलो बनेको छ । पछिल्ला दुई वर्ष अर्थतन्त्रमा विभिन्न समस्या देखा परेका छन् । चालु वर्षमा अर्थतन्त्रमा देखिएको शिथिलताका कारण निजी क्षेत्र हतोत्साही बनेको छ । सरकार पनि राजस्व असुली लक्ष्यभन्दा धेरै कम भएपछि समस्यामा छ । यस्तोमा अर्थतन्त्रलाई कम्तिमा पुरानो लयमा फर्काउन सक्ने व्यक्तिको अहिले खोजी भइरहेको छ । यही समस्या देखेर नै प्रधानमन्त्री दाहालले अर्थ मन्त्रालयको जिम्मेवारी कांग्रेसको काँधमा हाल्न चाहेका छन् ।

मंसिर ४ को आम निर्वाचनपछि माओवादी, एमाले, राप्रपा, रास्वपासहित आठ दलीय गठबन्धनमा बनेको सरकारका प्रमुख घटक ६५ दिनमै सरकारबाट बाहिरिएका थिए । त्यसपछि नेपाली कांग्रेससहित नयाँ बनेको गठबन्धनको सहयोगमा प्रधानमन्त्री पुष्पकमल दाहालले केही दिनअघि फेरि विश्वासको मत लिएका थिए । अहिले नयाँ गठबन्धन सरकार विस्तारको छलफलमा छ ।

कुन दलको कति दाबी ?
सत्ता साझेदार दलहरुले आफूले पाउनुपर्ने मन्त्रालय संख्या दाबी गरेका छन् । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेका बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष दलका शीर्ष नेताहरुले औपचारिक रुपमा मन्त्रालयमा दाबी पेश गरेका हुन् ।

गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसले ९ वटा मन्त्रालयमा दाबी गरेको छ । प्रधानमन्त्रीले भने कांग्रेसलाई एक राज्यमन्त्रीसहित ८ मन्त्रालय लिन प्रस्ताव गरेका छन् । प्रतिनिधिसभामा ३२ सिट जितेको नेकपा माओवादीले सरकारको नेतृत्व गरिरहेको भए पनि ८८ सिटसहित कांग्रेस सबैभन्दा ठूलो पार्टी हो ।

यसैगरी जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीले तीन/तीन मन्त्रालय आफूले पाउनुपर्ने माग राखेका छन् । नेकपा एस र जसपालाई प्रधानमन्त्रीले दुई–दुई मन्त्रालय प्रस्ताव गरेका छन् । लोकतान्त्रिक समाजवादी पार्टीले दुई मन्त्रालयमा दाबी गरेको छ । जनमत पार्टीबाट एकजना मन्त्री छन् । उसले थप एक राज्यमन्त्री मागेको छ ।

सत्तारुढ गठबन्धनको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रम पनि वितरण गरिएको छ । कार्यक्रमको मस्यौदामा विस्तृत छलफल भएर बुधबार टुंगोमा पुगिने कांग्रेस नेता रमेश लेखकले जानकारी दिए । “बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा छलफलका लागि पेश भयो । यसमा विस्तृत छलफल गरेर भोलि पूर्णता दिने सहमति भएको छ,” लेखकले भने ।

सरकारलाई चाँडोभन्दा चाँडो पूर्णता दिने विषयमा पनि सामान्य छलफल भएको नेता लेखकले बताए । उनले भने, “सरकार चाँडै विस्तार गर्नेबारे छलफल भयो, कुरो नमिल्ने केही छैन, सबै दलहरु अत्यन्त लचिलो हुनुहुन्छ । बैठकमा त्यही किसिमले कुराकानी भएको छ ।” बुधबार बिहान ९ बजे बस्नेगरी सत्तारुढ गठबन्धनको बैठक सकिएको छ ।

प्रतिक्रिया दिनुहोस्