‘घाइते वन्यजन्तुको उपचार पद्धति अपूर्ण’

नेपालमा बिरामी तथा घाइते भइसकेपछि मात्रै वन्यजन्तुको उपचार गर्ने पद्धति अपूर्ण रहेको सरोकारवालाले बताएका छन् । सौराहामा सम्पन्न वन्यजन्तुमा देखिने स्वास्थ्यसम्बन्धी समस्याबारे विज्ञहरूको कार्यशाला गोष्ठीमा पशुचिकित्सकहरूले बिरामी तथा घाइते वन्यजन्तुको उपचार पद्धति नै अपूर्ण रहेको बताएका हुन् ।
नेपालमा बिरामी वा घाइते वन्यजन्तुको उपचार गर्नका लागि अस्पताल नभएको भन्दै वन्यजन्तु चिकित्सकहरूले गुनासो गरेका छन् । हालसम्म वन्यजन्तुसम्बन्धी अध्ययन गर्ने दक्षजनशक्ति र उपचारका लागि चिकित्सकको कमी भएको सरोकारवालाले बताएका छन् ।
राष्ट्रिय प्रकृति संरक्षण कोष र कृषि तथा वन विज्ञान विश्वविद्यालयको पशु विज्ञान, पशु चिकित्सा र मत्स्य विज्ञान संकायको संयुक्त आयोजनामा भएको कार्यशालामा नेपालसहित अष्ट्रेलिया, चीन, भारत, इन्डोनेसिया, मंगोलिया, म्यानमार, पाकिस्तान, रुस, थाइल्याण्ड, बेलायत, अमेरिका र भियतनामसहित १३ देशका ८७ जना पशु चिकित्सक एवं विज्ञको सहभागिता रहेको थियो । विभिन्न देशका विज्ञहरूले ती देशमा वन्यजन्तुको स्वास्थ्यका बारेमा अपनाइएका उपचार पद्धति, औषधि, स्वास्थ्यसम्बन्धी उपकरणलगायतका विषयमा आदानप्रदान गरिएको थियो ।
४ दिनसम्म चल्ने कार्यशालामा बाघ, एसियाली गैंडा र हात्तीको स्वास्थ्य समस्या, उपचारजस्ता विषयमा छलफल भएको थियो । नेपालमा वन्यजन्तुमा महामारीजन्य रोग फैलिएमा यसले ठूलो विनास ल्याउने भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरे । वन्यजन्तुमा हुने रोगहरू घरपालुवा जनावर र मानिसमा समेत फैलिने भन्दै यसतर्फ समयमै सचेत हुनुपर्ने सुझाव विज्ञहरूले दिएका छन् । कार्यशालामा वन्यजन्तुको स्वास्थ्य, वन्यजन्तु जीव विज्ञानसम्बन्धी ३३ वटा कार्यपत्र प्रस्तुत भएका थिए ।
वन तथा भू–संरक्षण मन्त्रालयका सचिव डा. युवकध्वज जिसीले घाइते तथा विरामी वन्यजन्तुको उपचारमा देखिएका समस्या निराकरण गर्ने उद्देश्यले गोष्ठी आयोजना गरिएको बताएका छन् । “वन्यजन्तु पर्यापर्यटन विकासका माध्यम पनि हुन्, हाम्रो पहिचान जोगाउन र पर्यटक आकर्षण गर्न वन्यजन्तु संरक्षण आजको आवश्यकता हो,” उनले भने, “तर घाइते वन्यजन्तुको उपचारका कुरा राष्ट्रिय चासोको विषयमा परेका छैनन्, नीति नै बनाएर बिरामी तथा घाइते वन्यजन्तुको उपचारलाई प्रभावकारी रूपमा अगाडि बढाउने छौं ।” उनका अनुसार बिरामी तथा घाइते वन्यजन्तुको उद्धारका लागि वन्यजन्तु अस्पताल निर्माण भइरहेको र एम्बुलेन्स खरिद गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । वन्यजन्तुको उपचारका लागि चिकित्सकको अभाव पूरा गर्नका लागि नयाँ आवेदन मागिने जिसीले बताएका छन् ।
वन तथा भू–संरक्षण मन्त्रालयअन्तर्गत जैविक विविधता माहाशाखा प्रमुख डा. महेश्वर ढकालले वन्यजन्तु उपचारका लागि दक्ष चिकित्सक अभाव भएकाले विश्वविद्यालयको पाठ्यक्रममा नै वन्यजन्तु चिकित्सकको पढाइ हुन आवश्यक रहेको बताएका छन् । “वन्यजन्तुमा फैलने महामारी नै आजको चिन्ताको विषय बनेको छ, उपचारको भावी रणनीति नै बनाएर अगाडि बढ्नु आवश्यक छ,” उनले भने ।
कृषि तथा वन विज्ञान विश्वविद्यालयका सहायक प्राध्यापक डा. हिमाल लुइँटेलले वन्यजन्तुका ६० प्रतिशत रोग मानिसमा सर्ने र ७० प्रतिशत घरपालुवा जनावरमा सर्ने जानकारी गराएका थिए । “मानव, वन्यजन्तु र घरपालुवा जनावरको स्वास्थ्यलाई एकै ठाउँमा राखेर हेरिनुपर्छ,” उनले भने ।
चितवन राष्ट्रिय निकुञ्जका पशु चिकित्सक डा. कमल गैरेले बाघ, गैंडा, हात्तीजस्ता वन्यजन्तुको स्वास्थ्य, तिनमा लाग्ने रोगका बारेमा विभिन्न देशका विज्ञको अनुभव आदान प्रदानले वन्यजन्तुको स्वास्थ्यका क्षेत्रमा सुधार गर्न सकिने बताए ।