Logo

‘योजना कार्यान्वयनमा केन्द्रित हुनुस्’

लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री लीला गिरिले योजना कार्यान्वयनमा केन्द्रित हुन मन्त्री र सचिवहरूलाई निर्देशन दिएका छन् । लुम्बिनी प्रदेश विकास समस्या समाधान समितिको बैठक एवं दोस्रो चौमासिक प्रगति समीक्षा कार्यक्रममा उनले यस्तो निर्देशन दिएका हुन् ।

प्रदेश सरकारको हालसम्मको प्रगति चिन्ताजनक रहेको बताउँदै मुख्यमन्त्री गिरिले भने, “अबको हाम्रो सम्पूर्ण ध्यान योजना कार्यान्वयनमा केन्द्रित हुनु पर्दछ । सरकारले हालसम्म हासिल गरेको लक्ष्य चिन्ताजनक छ । यसलाई सुधार गर्नतर्फ मन्त्रीज्यू, सचिवज्यूहरू लाग्नुहोस् । जनताले महसुस गर्ने खालको विकास गर्नतर्फ हाम्रा योजना केन्द्रित हुनु पर्दछ ।”

परिणाम निस्कने गरी कार्य सम्पादन गर्नुपर्नेमा उनले जोड दिए । “कुनै समय लुम्बिनी मुलुककै शतप्रतिशत उपलब्धि हासिल गर्ने प्रदेशका रूपमा चिनिन्थ्यो । आजको तपाईंहरूको रिपोर्टले मलाई चिन्तित तुल्याएको छ । विगतको पहिचान पुनः फर्काउने गरी काम गर्नुहोस्,” मुख्यमन्त्री गिरिले भने । प्रदेश योजना आयोगको आयोजनामा सुरु भएको समीक्षा कार्यक्रममा मन्त्रालयगत प्रगतिको समीक्षा गरिने लुम्बिनी प्रदेश सरकारका प्रवक्ता चेतनारायण आचार्यले जानकारी दिए ।

चालू आर्थिक वर्षमा मन्त्रालयले हासिल गरेका उपलब्धि र भावी कार्यक्रमको समीक्षा गरिने प्रवक्ता आचार्यको भनाइ छ । “चालू आर्थिक वर्षमा मन्त्रालयहरूले हालसम्म गरेका उपलब्धि समीक्षा गर्नुका साथै आगामी दिनमा सरकारका कार्यक्रम कसरी सञ्चालन गर्ने भन्ने बारेमा यो समीक्षा कार्यक्रमले टुंगो लगाउँछ,” प्रवक्ता आचार्यले भने । समीक्षा कार्यक्रम तीन दिनसम्म सञ्चालन हुनेछ । समीक्षा कार्यक्रममा खानेपानी, ग्रामीण तथा सहरी विकास मन्त्रालयका सचिव जक्की अहमद् अन्सारीले मन्त्रालयको प्रगति विवरण पेस गरेका थिए ।

चालू आर्थिक वर्षमा पाँच अर्ब ३९ करोड १२ लाख ५७ हजारको बजेट विनियोजन गरेको भन्दै सचिव अन्सारीले एक अर्ब ८९ करोड ५४ लाख ११ हजार रुपैयाँ खर्च भएको बताए । उनका अनुसार मन्त्रालयले हालसम्म ३५.१६ प्रतिशत खर्च गरेको छ । त्यस्तै आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयले हालसम्म २४.६८ प्रतिशत बजेट खर्च गरेको छ । मन्त्रालयका सचिव लालबाबु कवारीले ६८ करोड १६ लाख ६४ हजार बजेट विनियोजन गरेकोमा हालसम्म १६ करोड ८२ लाख ६५ हजार रुपैयाँ बराबरको बजेटमात्रै खर्च गरेको जानकारी दिए ।

त्यस्तै सामाजिक विकास मन्त्रालयका सचिव कृष्णप्रसाद पन्थले मन्त्रालयले ३५.४८ प्रतिशत बजेट खर्च भएको जानकारी दिए । चालू आर्थिक वर्षमा मन्त्रालयले दुई अर्ब ८१ करोड ५२ लाख ५४ हजार रुपैयाँको बजेट विनियोजन गरेको भन्दै सचिव पन्थले हालसम्म ९९ करोड ८८ लाख ७३ हजार रुपैयाँ मात्रै खर्च भएको जानकारी दिए ।

भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव अमृत श्रेष्ठले मन्त्रालयले २७.७० प्रतिशत बजेट खर्च गरेको जानकारी दिए । चालू आर्थिक वर्षमा मन्त्रालयले १२ अर्ब ८० करोड ९५ लाख ९० हजार रुपैयाँको बजेट विनियोजन गरेको भन्दै सचिव श्रेष्ठले हालसम्म तीन अर्ब ५४ करोड ८३ लाख ५८ हजार रुपैयाँ बराबरको बजेट मात्र खर्च भएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्