१० वर्षमा आगलागीका घटना तेब्बर

पछिल्लो समय आगलागीका घटना बढिरहेका छन् । सुक्खाका कारण वन बढेलो बढ्नु, आगलागी नियन्त्रणमा आधुनिक प्रविधिको अभाव, चेतनाको कमी, उद्धारमा ढिलाइलगाय कारण आगलागीबाट मृत्यु हुनेको संख्या पनि बढ्दो छ । आगलागीका घटना बढ्दा वर्षेनी १ सयभन्दा बढीले ज्यान गुमाइरेका छन् ।
राष्ट्रिय विपत् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको ९ वर्षको तथ्यांकअनुसार आगलागीका घटनाबाट सबैभन्दा बढी यस वर्ष मृत्यु भएको देखिन्छ । २०७० देखि २०७९ सम्मको तथ्यांक हेर्ने हो भने यस वर्ष सबैभन्दा बढी १०२ जनाले आगलागीका कारण ज्यान गुमाउनु परेको छ । गत वैशाख १ गतेदेखि चैत पहिलो सातासम्म २६ सयभन्दा बढी आगलागीका घटना भएका छन् । यस अवधिमा आगलागीबाट ३१ सय १६ घरपरिवार प्रभावित बनेका छन् ।
यो अवधिमा आगलागीका कारण करिब २ अर्ब ३० करोडको वित्तीय क्षति बेहोर्नुपरेको प्राधिकरणको तथ्यांक छ । २०७० देखि २०७९ चैतको पहिलो सातासम्ममा १८ हजार सात सय ७२ वटा आगलागीका घटना भएका थिए । ९ वर्षको सो अवधिमा आगलागीमा परी ७ सय ६९ जनाले ज्यान गुमाएका छन् । आगोले जलेर मात्रै यो अवधिमा २ हजार ५ सय ४८ घाइते भएका छन् ।
विपत व्यवस्थापनविद् डा. धर्मराज उप्रेतीले आगलागी नियन्त्रणका लागि प्रशस्त उपकरण नहुनु, राज्यका ३ वटै तहका सरकारबीच समन्वयको अभाव, पूर्वतयारीमा राज्यको लगानी कम हुँदा आगलागीका कारण वर्षेनी सयौं नागरिकले ज्यान गुमाउनुपरेको बताए ।
“राज्यले आगलागीका घटना घटेपछि मात्रै उद्धार तथा राहतमा लगानी बढाउँछ, तर घटना हुन नदिनका लागि पूर्वतयारी तथा नियन्त्रणमा लगानी बढाउन नसक्दा आगलागीको घटना भयानक बन्दै गइरहेको छ,” उनले भने, “आगलागी न्यूनिकरण र अनुकुलनको उपाय नलिए अझै भयानक अवस्था आउन सक्छ । तसर्थ समयमा नै राज्यको ध्यान जान जरुरी छ ।”
प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले पनि पर्याप्त उपकरणको अभावका कारण आगलागीका घटना नियन्त्रणमा चुनौती भएको बताए । “हामीले योजना मात्रै बनाउने हो, आगलागी नियन्त्रणको सबै काम गर्न सकेका छैनौं,” उनले भने, “हामीसँग दमकल किन्ने योजना छैन, हामीले नीति बनाउने हो, साधन सरकारले खरिद गर्ने हो ।”
पोखरेलले विगत १० वर्षमा आगलागीका घटना तेब्बरले वृद्धि भएको जानकारी गराउँदै त्यसको न्यूनीकरण तथा व्यवस्थापनका लागि संरचनागत सुधार, उपकरण हस्तान्तरण, सूचना प्रणालीको विकास, प्रभावकारी सञ्चार, तहगत प्रशिक्षण सहितका पहल गरिरहेको बताए । उनले यस वर्ष हिउँदे वर्षा असाध्यै न्यून भएकोले आगलागी तथा वन डढेलाका घटनाहरुको जोखिम पनि अधिक हुन सक्ने तर्फ प्राधिकरणले विशेष ध्यान दिएको बताए ।
आगलागी तथा वन डढेलो नियन्त्रणमा खटिने अग्नि–नियन्त्रण दस्ताहरु नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, वन उपभोक्ता समूह र नेपाल सरकारका वन प्राविधिकहरुका लागि उपयुक्त हुने तालिम सामग्रीहरुको विकास गरी इ–लर्निङ पाठ्यक्रमको डिजाइन भइरहेको प्राधिकरणका सहसचिव अनिता निरौलाले बताइन् ।
सरकारले तीन वर्षअघि आगलागीका घटना नियन्त्रण गर्न ‘एक स्थानीय तह एक दमकल’ कार्यक्रम ल्याए पनि प्रभावकारी भने हुन सकेको छैन । अहिले प्रहरी, सशस्त्र प्रहरी, सेनासँग भएका फायर फाइटर र दमकलसँगै जुद्ध वारुण यन्त्रमा राखिएका दमकलमार्फत आगो निभाउँदै आइएको छ । बाक्लो बस्ती भएका ठाउँमा दमकल पुग्न नसक्नु, समयमा आगो नियन्त्रणमा नआउँदा धरै भौतिक क्षति व्यहोर्नुपरेको छ ।
वन डढेलोका विज्ञ सुन्दर शर्माले वनमा लागेको डढेलो बस्तीमा सर्दा पनि आगलागीको घटना बढेको बताए । “सुुक्खा समयमा वन डढेलोका घटना बढिरहेको छ । प्राकृतिक भन्दा मानवीय कारण नै वनमा आगलागी हुन्छ, अनि नजिकको बस्तीमा आगो सल्केर क्षति भइरहेको छ,” उनले भने, “मुगुमा जंगलको आगो बस्तीमा छिरेर ३५० वटा घर जलेको उदाहरण पनि छ । औषतमा ८० घरहरु हरेक वर्ष वन डडेलोबाट नष्ट हुने गरेको पाइन्छ ।”
सन् २०२२ मा एक हजार पाँच सय २८ वटा डढेलोका घटना भएकोमा यही वर्षको मार्च २१ सम्ममा यो संख्या बढेर दुई हजार ३६ पुगेको छ । गत वर्षहरूको तुलनामा हिउँदमा कम वर्षा र जाडो मौसमको औषत तापक्रम बढेर वातावरणमा आद्रता कम हुँदा यो वर्ष डढेलोको घटना पाँच गुणाले बढ्न सक्ने विज्ञहरूले बताइरहेका छन् । युरो फायरको अध्ययनअनुसार आगलागी नियन्त्रण गर्न स्थानीय स्थितिलाई मध्यनजर गरी डढेलो लागेको स्थान र त्यस स्थानमा पुग्न सक्ने सबैभन्दा प्रभावकारी बाटो पहिल्याउने वा पहिचान गर्नुपर्छ ।
“प्रस्थान गर्नुअघि सुरक्षात्मक कपडा र उपकरण, खाना तथा झोलिय पदार्थको आवश्यकताको पहिचान गर्ने, आफ्नो स्थानीय क्षेत्रमा लागेको डढेलोको व्यवहार वा स्वभाव र डढेलोको वातावरणसँगको गठबन्धनको प्रभावको पूर्वानुमान गर्नुपर्छ,” अध्ययनमा भनिएको छ, “डढेलाको वातावरणको मूल्यांककन गरी, टोली नेता वा पर्यवेक्षकलाई डढेलो सम्बन्धि सूचना प्रवाह गर्नु आवश्यक हुुन्छ ।”
आफ्नो भूमिका पहिचान गरी संस्थागत वा संगठनात्मक डढेलोको कार्य प्रणालीको प्रक्रियाहरू अपनाउने, डढेलो निभाउने प्रक्रियामा आप्mनो संगठन, अग्नि नियन्त्रण दस्ता, बारुण सेवा तथा अन्य डढेलोसँग सम्बन्धित निकायको पहिचान गनुपर्ने अध्ययनको सुुझाव छ । आगलागी तथा वन डढेलोसहित सबै खालका विपद् जोखिम न्यूनीकरण र प्रतिकार्यमा संस्थागत रुपमै स्वयंसेवक परिचालन गर्नका लागि प्राधिकरणले सूचना प्रणाली तयार गरेको छ ।
२०७८ माघ १४ बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको १२ औं बैठकले ‘विपद् व्यवस्थापन स्वयंसेवक ब्युरो गठन तथा परिचालन कार्यविधि २०७८’ पारित गरेलगत्तै यस सम्बन्धमा काम सुरु भएको थियो । हालसम्म १ लाख ४११ जना स्यवंसेवक सूचीकृत भइसकेका छन् ।
प्राधिकरणका अनुसार मनसुनजन्य तथा आगलागीजन्य विपद्बाट प्रभावितहरुको निजी आवास पुनर्निर्माण तथा पुनस्र्थापनाका लागि अनुदान वितरण कार्यविधिहरु क्रियाशील छन् । ती विपद्बाट आवास गुमाएका विपद् प्रभावितहरुले आवास गुमाएमा तराईका जिल्लाहरुमा ३ लाख, पहाडका जिल्लाहमा ४ लाख र हिमालका जिल्लाहरुमा ५ लाख प्राप्त गर्छन् । गत फागुन ३ गतेसम्म निजी आवास पुनर्निर्माण तथा पुनस्र्थापनाका लागि संघबाट १ अर्ब १३ करोड ९५ लाख ६६ हजार २५० रुपैयाँ निकासा भइसकेको प्राधिकरणले बताएको छ ।
