समय चैतसम्मको, संसद् भवन निर्माण अधुरै «

समय चैतसम्मको, संसद् भवन निर्माण अधुरै

सिंहदरबारस्थित पुतली बगैंचामा निर्माणाधीन संघीय संसद् भवन तोकिएको समयमा नबन्ने भएको छ । भवन निर्माणको जिम्मा लिएको कम्पनीले समयमा भवन बनाउन नसकेपछि फेरि एक वर्ष म्याद थपको प्रस्ताव गरेको छ ।

पहिलो सम्झौताअनुसार २०७९ असोजमा भवन निर्माण भइसक्नुपर्ने थियो । निर्माण कम्पनीले कोभिड–१९ लाई बहाना बनाएपछि ६ महिना म्याद थप गरिएको थियो । त्यसअनुसार चैत मसान्तसम्म निर्माण पूरा गर्नुपर्नेमा अर्को एक वर्ष थपको प्रस्ताव गरिएको हो ।

कुल ५ अर्ब ६७ करोड २६ लाख (भ्याटसहित) रुपैयाँ लागतमा यो भवन बनाउने ठेक्का निर्माण कम्पनी तुँदी सेक जेभीले पाएको थियो । संसद् भवन ३ वर्षमा निर्माण पूरा गर्ने गरी तुँदी र सहरी विकास तथा भवन निर्माण विभागबीच २०७६ असोजमा निर्माण सम्झौता भएको थियो ।

सुरुमा तोकिएको समयभन्दा थप ६ महिना दिँदा पनि संसद् भवनको निर्माण कार्य ६२ प्रतिशतमात्र पूरा भएको छ । सहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गतको विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयका उपनिर्देशक दीपक श्रेष्ठले तोकिएको समयमा भवन सम्पन्न नभएको बताए । उनले निर्माण कम्पनीले एक वर्ष समय थपका लागि प्रस्ताव पेस गरेको समेत जानकारी दिए ।

निर्माण कम्पनीले १ वर्ष म्याद थप गर्न प्रस्ताव गरे पनि समय थप गर्ने–नगर्ने औपचारिक निर्णय भइनसकेको उपनिर्देशक श्रेष्ठको भनाइ छ । उनले भने, “हालसम्मको भवनको प्रगति विवरण हेरेर के कति समय म्याद थप गर्दा उचित हुन्छ, त्यही हेरेर हुनेछ । भवन सकिन अहिलेको अवस्था हेर्दा अझै १ वर्ष लाग्ने देखिन्छ ।”

उनका अनुसार अहिले ३ सय ५० भन्दा बढी जनशक्ति परिचालन गरेर तीव्र गतिमा काम भइरहेको छ । उनले पनि काम नहुनुमा कोभिड–१९, निर्माण व्यवसायीले गरेको ‘कन्स्ट्रक्सन होलिडे’ लगायतका कारण देखाए । यही चैतभित्र पूरा हुने गरी भवन निर्माणको काम भइरहे भए फिनिसिङमा समय लागेकाले पूरा हुन नसकेको बताइएको छ । निर्माण पूरा गर्नका लागि दुई सिफ्टमा काम गर्ने तयारी भएको उपनिर्देशक श्रेष्ठले बताए । उनका अनुसार हाल संसद् भवनको सिभिलतर्फ फिनिसिङको काम भइरहेको छ ।

यसको आन्तरिक साजसज्जा निर्माणका लागि भने बोलपत्र आह्वान भएर सम्झौता हुने क्रममा छ । उपनिर्देशक श्रेष्ठले भने, “आन्तरिक साजसज्जा र फिनिसिङको काम सँगै जाने हुँदा आगामी १ वर्षमा संसद् भवन निर्माण पूरा हुनेछ ।”

निर्माण कम्पनीले बिल्डिङ निर्माण गरेर हस्तान्तरण गर्ने हो भने इन्टेरियर डिजाइन, सेक्युरिटी सिस्टम र डाटा सिस्टम भने थप निर्माण गर्नुपर्ने हुन्छ । साजसज्जा र सेक्युरिटीमा आधुनिक प्रविधिको प्रयोग गर्नुपर्ने भएकाले सरोकारवाला निकायसँग समन्वय भइरहेको कार्यालयले जनाएको छ । यो सबै प्रक्रिया पूरा गरेर निर्माण कार्यमा जानुपर्ने भएकाले थप सयम लाग्ने निश्चित छ ।

२४ हजार ३ सय ८० स्क्वायर मिटर (ग्राउन्ड एरिया ) मा १२ वटा भवन निर्माण हुनेछनन् भने कुल फ्लोर एरिया भने ७७ हजार ६ सय ५१ स्क्वायर मिटर रहेको उपनिर्देशक श्रेष्ठको भनाइ छ । प्रतिनिधिसभामा प्रत्यक्षतर्फ निर्वाचित हुने १ सय ६५ जना, समानुपातिक १ सय १० जना र राष्ट्रियसभाका ५९ जना सांसद छन् । सभाहलका साथै सचिवालय, संसदीय समितिका कक्ष, विशिष्ट कक्ष, पार्किङ, चमेना गृह आदि निर्माण भइरहेका छन् । राजनीतिक दलका कार्यकक्ष, प्रधानमन्त्री, सभामुख, भीभीआईपी कक्ष र दलका प्रमुख सचेतकको समेत छुट्टै कार्यकक्ष हुनेछन् ।

संसद् भवनको डिजाइन आधुनिक र प्रविधिमैत्री ढंगले गरिएको छ । अन्तर्राष्ट्रिय मापदण्डअनुसार डिजाइन गरिएका भवनको वास्तुकला तथा डिजाइन काठमाडौंको स्थानीय वास्तुकला झल्कने गरी गरिएको छ । भवन निर्माण गर्दा हाइटेक आधुनिक इन्जिनियरिङ डिजाइन प्रविधि अपनाइएको छ । भवन प्रवेशका लागि दक्षिणतर्फ मूल ढोका रहनेछ । सांसदको प्रवेशका लागि उत्तरतर्फ नयाँ गेट निर्माण गरिनेछ भने दक्षिण पूर्वमा कर्मचारी तथा सर्वसाधारण प्रवेश गर्ने गरी निर्माण भइरहेको छ ।

क्षिणतर्फ मुख्य प्रवेशद्वारको बायाँतर्फ संसद्को तल्लो सदन प्रतिनिधिसभाको बैठक बस्ने ठूलो हल हुनेछ भने प्रवेशद्वारको दायाँतर्फ संसद्को माथिल्लो सदन राष्ट्रियसभाको बैठक बस्ने हल निर्माण भइरहेको छ । संसद् भवन परिसरभित्र निर्माण गरिएका सबै कार्यालय एक अर्कासँग जोडेर निर्माण गरिएको छ । निर्माण भइरहेको भवन तीनदेखि पाँच तलासम्मका छन् ।

हाल संघीय संसद् सचिवालयले सहरी विकास मन्त्रालय अन्तर्गतको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समितिसँग सम्झौता गरेर अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरलाई संसद् भवनमा परिमार्जन गरी वार्षिक साढे १४ करोड रुपैयाँ भाडा बुझाउँदै आएको छ । ०७६ असोज १ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारभित्र संसद् भवनको शिलान्यास गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्