विदेशमा बिरामी श्रमिकका लागि टेलिमेडिसिन «

विदेशमा बिरामी श्रमिकका लागि टेलिमेडिसिन

सरकारले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको स्वास्थ्य समस्या सल्टाउने उद्देश्यले निःशुल्क टेलिमेडिसिन सेवा सुरु गर्ने भएको छ ।

विदेशमा श्रमिकले भोग्दै आएका स्वास्थ्य समस्या समाधान गर्न सहयोग पु¥याउन पहिलो पटक यस्तो सेवा सुरु हुन लागेको हो । श्रमिकको आवश्यकताअनुसार समयमा नै सल्लाह, सुझाव र परामर्श दिन सेवा सुरु गर्न लागिएको वैदेशिक रोजगार बोर्डले जनाएको छ ।

बोर्डका अनुसार टेलिमेडिसिन सेवा चैत १५ गते बिहान १० बजेदेखि सुरु हुनेछ । सार्वजनिक बिदाका दिनबाहेक नेपाली कार्यालय समयमा सेवा प्रवाह गरिने बोर्डका प्रवक्ता राजन पौडेलले जानकारी दिए । नेपाली श्रमिकले मोबाइल नम्बर ९८५१३४५७०१ र ९८५१३४५७०२ को भाइबर, ह्वाट्सएप वा इमोलगायत सामाजिक सञ्जालबाट फोन गर्न सक्नेछन् ।

बोर्डका अनुसार श्रमिकले भनेका समस्या टेलिमेडिसिनका मेडिकल अधिकृतले सुनेर बिरामी श्रमिकलाई विशेषज्ञ सेवा आवश्यक परेमा हरेक आइतबार र शुक्रबार उपलब्ध गराइनेछ । आइतबार र शुक्रबार विदेशी मुलुकमा सार्वजनिक बिदा पर्ने हुँदा ती दिनमा श्रमिकसँग समय हुने भएकाले सेवा उपलब्ध गराउन लागिएको प्रवक्ता पौडेलले जानकारी दिए ।

सेवा लिने श्रमिकका लागि ‘प्रेस्क्रिप्सन’ अनलाइनमार्फत उपलब्ध गराइनेछ । यसको सम्पूर्ण खर्च बोर्डले व्यहोर्ने छ । वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई लक्षित गरी टेलिमेडिसिन सेवा सञ्चालन गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले टेलिमेडिसिन सेवा सञ्चालन कार्यविधि, २०७९ स्वीकृत गरिसकेको छ ।

वैदेशिक रोजगारमा गएका कतिपय श्रमिकको उतै मृत्यु हुने गरेको छ । समयमा आवश्यक सल्लाह र सुझाव नपाएका कारण धेरैको मृत्यु हुने गरेको बताइँदै आएको छ । प्रत्येक वर्ष मृत्यु हुनेको संख्या बढ्दै गएपछि सरकारले यसलाई कम गर्न यो उपाय निकालेको हो । यसैगरी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विदेशमा अलपत्र, मुत्यु र अंगभंग भएका श्रमिकको उद्धार छिटोछरितो गर्ने व्यवस्था मिलाउन विदेशस्थित नियोगहरुलाई आग्रह गरेको छ ।

मन्त्रालयले आइतबार विभिन्न श्रम गन्तव्यमा रहेका श्रम सहचारी तथा श्रम काउन्सिलसँग यसका बारेमा छलफल गरेको थियो । त्यसक्रममा विदेशमा अलपत्र परेका तथा कोमामा उपचार गराइरहेका श्रमिकको चाँडो उद्धार गर्ने विषयमा छलफल केन्द्रित गरिएको मन्त्रालयले जनाएको छ ।

यूएईस्थित श्रम काउन्सिलर दिनबन्धु सुवेदीले आइतबार पुनःएकीकरण, उद्धार तथा योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आवद्धतालगायतका विषयमा छलफल भएको बताए । उनका अनुसार विभिन्न नियोगमा कार्यरत श्रम सहचारी र श्रम काउन्सिलरसँग राय सुझाव समेत माग गरिएको छ । यस्तै साउदी अरबबाट छिटोछरितो शव ल्याउन दुई मुलुकबीच कूटनीतिक पहल गर्नुपर्नेमा जोड दिइएको थियो ।

पछिल्लो समय साउदी अरब, खाडी तथा मलेसियामा अलपत्र पर्ने नेपाली श्रमिकको संख्या बढ्दै गएपछि सरकारले उद्धार प्रक्रियालाई छिटोछरितो बनाउन खोजेको छ । सरकारले कसरी उद्धार चाँडो गर्न सकिन्छ भनेर नियोगहरुसँग थप सुझावसमेत मागेको छ । एक वर्षयता साउदी अरबमा रहेका धेरै श्रमिकले उद्धारको व्यवस्था मिलाउन निवेदन दिँदै आएका छन् ।

यूएईबाट हालै ४ वर्षदेखि कोमामा रहेका बिरामीलाई उद्धार गरिएको श्रम सहचारी सुवेदीले कारोबारलाई बताए । उनका अनुसार यूएईबाट ल्याएका ती नेपालीको उपचार अहिले ट्रमा सेन्टरमा भइरहेको छ । यसैगरी यूएईमा कोमामा रहेर उपचार गराइरहेका वसन्त सुनारलाई परिवारको समन्वयनमा नेपाल ल्याउन दूतावासले प्रयास गरिरहेको छ । कोमामा रहेका अन्य ३/४ जना बिरामीलाई उद्धार गर्ने विषयमा पनि छलफल भएको सुवेदीले बताए । कोमामा रहेका बिरामीलाई उद्धार गर्न परिवारको सहमति आवश्यक पर्छ ।

प्रतिक्रिया दिनुहोस्