मिटरब्याज पीडित फेरि धर्नामा, समस्या नसुनिएपछि हिँडेर काठमाडौंमा

तराईका विभिन्न भागमा मिटरब्याजको चक्रव्यूहमा परेका पीडित ११ दिन पैदल हिँडेर राजधानी आएका छन् । सप्तरी, रौतहट, बारा, मकवानपुर हुँदै सोमबार काठमाडौं आइपुगेका उनीहरुले खुलामञ्चमा धर्ना दिन सुरु गरेका छन् ।
६ महिने शिशुलाई काखमा बोकेर आएकी महिला, बालबालिका, वयष्क तथा वृद्धवृद्धासमेत धर्नामा बसेका छन् । उनीहरुको सुरूमा माइतीघरमा धर्ना दिने कार्यक्रम रहे पनि त्यहाँ अन्य समूहहरूको आन्दोलन कार्यक्रम तय भइसकेका कारण टुँडिखेलस्थित खुलामञ्चमा धर्ना दिन पुगेका हुन् ।
आइतबार साँझ जिल्ला प्रशासन कार्यालयसँग अनुमति मागेर सोमबार साँझ खुलामञ्चमा प्रवेश गर्न खोजेका उनीहरूलाई काठमाडौं महानगरपालिकाको नगर प्रहरीले छेकेको थियो । त्यसपछि आक्रोशित भीड र नगर प्रहरीबीच केहीबेर घम्साघम्सी नै परेको थियो । काठमाडौं महानगरले शान्तिबाटिकामा बसेर धर्ना दिन आग्रह गरे पनि उनीहरूले खुलामञ्चमै बसेर आन्दोलन गर्न पाउनुपर्ने माग गर्दै आएका छन् । यस पटक माग पूरा नभएसम्म फिर्ता नहुने उनीहरुको अठोट छ ।
यस्ता छन् व्यथा
सप्तरीका तैयाब अलिले २०७१ फागुनसम्ममा पटक पटक गरी ३८ लाख रुपैयाँ ऋण लिएका थिए । साहुमहाजनबाट लिइएको सो ऋण उनले पटक पटक गरी १ करोड रुपैयाँभन्दा बढी तिरिसके । तर, उनको जग्गा फिर्ता भएन । “लिएको ऋणभन्दा चौबर धेरै पैसा तिरिसक्दा पनि जग्गा फिर्ता भएन,” उनले भने । उनले छोराछोरीको बिहेका लागि तथा जग्गा किन्नका लागि सो ऋण लिएका थिए । ऋण तिर्दातिर्दा उनी यतिखेर थकित मुद्रामा ११ दिन पैदल हिँडेर काठमाडौं आइपुगेका छन् ।
आफूले ऋण तिर्दा पनि जग्गा फिर्ता नभएपछि उनले आफूजस्तै मिटरब्याजमा फसेकाहरूसँग मिलेर सप्तरीबाट आन्दोलनको शुरूवात गरे २०७८ भदौमा । त्यसपछि निरन्तर आन्दोलन गरिरहे पनि जिल्लाका नेता तथा प्रहरी तथा सिडिओ कसैले पनि आफूहरूको आवाज नसुनेको उनको गुनासो छ । ऋण लिएका रामदेव साह तथा साहको परिवार अहिले फरार रहेको समेत उनले बताए ।
सप्तरीकै बच्चालाल साहले केही वर्षअघि एक साहुबाट ४ लाख ८६ हजार ऋण लिएका थिए, जसमा जग्गा धितो राखिएको थियो । घरायसी खर्च टार्न उनले लिएको ऋण बिस्तारै तिर्दै पनि गए । तर, जति तिरे पनि उनको ऋण न तिरेर सकियो, न त जग्गा फिर्ता नै भयो । उनले करिब २४ लाखभन्दा बढी ऋण तिरे पनि जग्गा फिर्ता नभएपछि आन्दोलनका लागि समूहमा काठमाडौं आइपुगेका छन् ।
आन्दोलनरत समूहमै काठमाडौं आइपुगेकी सप्तरीकी भवित्री देवी मण्डलको व्यथा पनि उस्तै छ । १ लाख रुपैयाँ ऋण लिएकी उनले ४ लाख रुपैयाँ तिर्दा पनि धितोमा राखिएको जग्गा फिर्ता नभएको बताइन् । श्रीमान् विदेश गएर कमाएर ऋण तिरे पनि मिटरब्याजीले जग्गा फिर्ता नगरेपछि आन्दोलनमा आउनुपरेको उनको गुनासो छ ।
बैंकहरूले ऋण दिएनन्
सप्तरीका विनोद मण्डलले घर खर्च टार्नका लागि बैंकले ऋण नदिएकाले मिटरब्याजीसँग ऋण लिनुपरेको बताए । उनले भने, “बैंक तथा लघुवित्तले ऋण नदिएपछि मिटरब्याजीसँग लिएका थियौं ।” उनले छोरा र छोरीको बिहे गर्नका लागि ऋण लिएको बताए । उनले भने, “मधेशमा खेतीकिसानी गरेर पैसा आउँदैन । मिटरब्याजीसँग ऋण नलिई सुखै पाइएन ।” मण्डलमात्र हैन, आन्दोलनरत अधिकांश पीडितहरूले बैंकले ऋण दिन नमानेको बताएका छन् ।
आन्दोलनको नेतृत्व गरिरहेका सप्तरीकै मनोज पासवाङले एक लाख ऋण लिँदा अगाडि नै कम्तिमा ३ लाख रुपैयाँको तमसुक बनाएर औंठा छाप हान्नुपरेको अवस्था सुनाए । उनले पीडितको जायजेथा फिर्ता नगराउने, सम्पत्ति नभएका तथा एकल महिलालाई यौन शोषण गर्न खोज्ने जस्ता गलत कार्यहरू भएपछि त्यसविरुद्ध आवाज उठाउनु परेको बताए । माग पूरा नभएसम्म काठमाडौंबाट नफर्कने उनको अठोट छ ।
मिटरब्याज पीडितहरूको आन्दोलनमा विभिन्न राजनीतिक दलसम्बद्ध संगठनहरूले ऐक्यबद्धता जनाएका छन् । नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (बहुमत) र नेकपा (मशाल) सम्बद्ध तीन वटै अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) ले पीडितहरूको माग पूरा गर्न सरकारसँग माग गरेका छन् ।
उनीहरूले किसानहरूको ऋण मिनाहा गर्न, जग्गाजमिन फिर्ता गर्न र मिटरब्याजीहरूलाई यथाशीघ्र कारबाहीका लागि माग गरेका छन् । मिटरब्याज पीडितहरूको आन्दोलनमा काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले पनि ऐक्यबद्धता जनाएका छन् । उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनीहरूको माग पूरा गर्न सरकार लाग्नुपर्नेमा जोड दिएका छन् ।