Logo

आर्थिक समस्यामा सरकारको ध्यान गएन : पौडेल

नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलले सरकारलाई देशको आर्थिक संकटबारे कुनै प्रवाह नभएको बताएका छन् ।

आइतबार सुर्खेतका सञ्चारकर्मीसँगको भेटघाटका क्रममा पौडेलले देश कहाली लाग्दो आर्थिक समस्यामा फस्दै जाँदा सरकारले त्यसको कुनै प्रवाह नगरेको बताएका हुन् । प्रधानमन्त्रीले विश्वासको मत लिएको धेरै दिनसम्म पनि अर्थमन्त्री नियुक्त नगर्नुले सरकार त्यसबारे गम्भिर नभएको पुष्टि हुने पौडेलको जिकिर छ ।

वर्तमान सरकार देशका समस्या समाधान भन्दा पद बाँडफाँटमा केन्द्रीत रहेको पौडेलको आरोप छ । आफू अर्थमन्त्री हुँदा अर्थतन्त्र सुधारको थालनी गर्दैगर्दा बाहिरिनु परेको उनले बताए । यस्तै विश्वासको मत पाएको लामो समय बित्दा पनि गठबन्धनले मन्त्रिपरिषद विस्तार नगरेर तमासा गरिरहेको उनले बताए ।

अहिले राजस्व संकलन चिन्ताजनक रहेको भन्दै उनले आन्तरिक राजस्वले साधारण खर्च पनि धान्न नसक्ने अवस्था आएको दावी गरे । “अर्थतन्त्रलाई लय फर्काउनुपर्ने अवस्थामा सरकारलाई मानाैं कुनै आर्थिक समस्या नै छैन जस्तो देखिन्छ बजेट ल्याउने बेला भइसक्यो अर्थमन्त्री छैन” उनले भने, “समस्या समाधान त परको कुरा समस्या छ भन्ने पनि यो सरकारलाई थाहा छैन ।”

उनले अहिलेको प्रतिनिधिसभाबाट राजनीतिक स्थायित्व कायम नहुने स्पष्ट देखिएको जिकिर गरे । राजनीतिक स्थायित्व र विकासका लागि आगामी निर्वाचनबाट एमालेले एकल बहुमत प्राप्त गर्नुपर्छ भन्ने बुझाइका अर्काे चुनावको तयारीमा एमाले जुटिसकेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्