अवैध उत्खनन गर्ने स्काभेटरसहित ४ टिपर नियन्त्रणमा

सार्वजनिक जग्गामा अवैध उत्खनन गर्ने स्काभेटरसहित ४ वटा टिपर वीरगञ्ज महानगरपालिकाले नियन्त्रणमा लिएको छ । महानगरपालिकाको वडा नम्बर २८ दर्दवास्थित गुठीको सार्वजनिक जग्गामा करिब २ महिना अघिदेखि अवैध रुपमा उत्खनन गर्दै आएको सूचना पाएपछि महानगर प्रमुख राजेशमान सिंहको निर्देशनमा नगर प्रहरीले टिपर र स्काभेटर नियन्त्रणमा लिएको हो ।
अवैध रुपमा उत्खनन् गरिरहेको अवस्थामा नगर प्रहरी निरीक्षक हरिप्रसाद भुषालको नेतृत्वमा गएको नगर प्रहरीले ना ८ ख ४१२५, ना ७ ख ६५९७, ना ७ ख ६६०३ र ना ८ ख५४०३ नम्बरको टिपर र बा २ ख ६२३३ नम्बरको स्काभेटर नियन्त्रणमा लिएर वीरगञ्जको आदर्शनगरस्थित बालमन्दिरको परिसरमा राखेको छ । नियन्त्रणमा लिइएका टिपर चालकको भनाइ अनुसार माटो खन्ने कामको ठेक्का चन्द्रिका पटेलले लिएका छन् ।
यद्यपि अहिलेसम्म टिपर र स्काभेटर नियन्त्रणमा लिँदा कसैले पनि दावी गर्न नआएको नगर प्रहरी प्रमुख भुषालले बताए । गुठीको नाममा रहेको सार्वजनिक जग्गालाई आफ्नो सम्पति ठानेर निजी स्वार्थका लागि प्रयोग गर्नेहरुलाई कडा कारवाही गर्नुपर्ने स्थानीयको माग छ । गुठीको सार्वजनिक जग्गामा केही व्यक्तिले करिब २ महिनादेखि उत्खनन् गरेर माटो बिक्री गरिरहेको स्थानीयको भनाइ छ ।
महानगरले केही सातायता सार्वजनिक जग्गाको अतिक्रमण हटाउने अभियान चलाएको बताउँदै महानगर प्रमुख सिंहले सार्वजनिक जग्गा व्यक्तिगत रुपमा प्रयोजन गर्नेलाई कारबाही गर्ने चेतावनी दिएका छन् । साथै उनले महानगरका अन्य क्षेत्रमा पनि सार्वजनिक वा गुठीको जग्गा दुरुपयोग भएको वा अतिक्रमणमा परेको भए महानगरलाई खबर गर्न पनि आग्रह गरेका छन् ।
अवैध उत्खनन् गरेको यसअघि पटकपटक प्रहरी चौकी परवानीपुरलाई जानकारी गराउँदा पनि कुनै पहल नचालेको हुँदा यसमा प्रहरीको पनि मिलेमतो भएको हुन सक्ने स्थानीयले आशंका गरेका छन् । परवानीपुर प्रहरीले बेवास्ता गरेपछि महानगर प्रमुखलाई खबर पाउने बित्तिकै टिपर र स्काभेटर नियन्त्रणमा लिएको हो ।