स्याङ्जामा झण्डै ३४ प्रतिशत जनसंख्या निस्क्रिय

स्याङ्जामा १० वर्षमाथिका झण्डै ३४ प्रतिशत नागरिक आर्थिक काम नगरी निस्क्रिय रहेको पाइएको छ । आर्थिक काममा संलग्न रहन सक्ने जनसंख्याको ३३ दशमलव ४ प्रतिशत नागरिक आर्थिक रुपमा निस्क्रिय रहेको जनगणना २०७८ को तथ्यांकमा पाइएको हो । जनगणनाको समयमा १० वर्ष पुगेको गणनाको समयदेखि अघिको १२ महिनासम्म कुनै पनि आर्थिक काम नगरेको संख्या जिल्लामा ठूलो छ ।
गणना समयअघिको १२ महिनासम्म जिल्लामा ७२ हजार ४७३ जनाले कुनै पनि आर्थिक काम नगरेको तथ्यांकमा उल्लेख गरेका छन् । आर्थिक काममा संलग्न कुल संख्या २ लाख १६ हजार ७८९ भए पनि २६ हजार ९०८ जनाले तीन महिना कम र तीन महिनाभन्दा बढी तथा ६ महिनाभन्दा कम २७ हजार ९९४ जनाले आर्थिक काम गरेका छन् । ६ महिनाभन्दा बढी आर्थिक काम गर्नेको संख्या ८९ हजार ४१४ जना रहेको छ ।
उता १० वर्ष र सोभन्दा माथिका आर्थिक क्रियाकलापमा रहन सक्ने कुल दुई लाख १६ हजार ७८९ मध्येकै जनसंख्याको २९ दशमलब ५ प्रतिशत अर्थात् ६३ हजार ८६५ जना आर्थिक रूपमा निस्क्रिय रहेको तथ्यांकमा उल्लेख गरिएको छ । तथ्यांकअनुसार काम गर्न सक्ने कुल संख्याको ६९ दशमलव ९ अर्थात् एक लाख ५० हजार ९९९ जना आर्थिक क्रियाकलपमा संलग्न छन् । आर्थिक क्रियाकलापमा संलग्न हुनसक्ने उमेर भए पनि एक हजार ९२५ जनाले कामको स्रोत उल्लेख गरेका छैनन् ।
पछिल्लो जनगणनाअनुसार स्याङ्जामा २ लाख ५३ हजार २४ जनसंख्या रहेको छ । आर्थिक क्रियाकलापमा सक्रिय रहेको भनिएको एक लाख ५० हजार ९९९ जनसंख्यामध्ये एक लाख दुई हजार ७८६ जनाले मात्रै प्रायः सक्रियतापूर्वक काम गर्दै आएका छन् । सक्रिय संख्याको ३१ दशमलव नौ प्रतिशत अर्थात् ४८ हजार २१३ जनाले कहिलेकाहीं सक्रिता देखाउने गरेको तत्यांकमा सार्वजनिक गरिएको छ ।
जनगणनाको समयमा आर्थिक क्रियाकलापको पेशागत रुपमा सबैभन्दा धेरै कृषिजन्य उत्पादनमा ६४ दशमलब ७ प्रतिशत जनसंख्या आबद्ध छ । त्यस्तै प्राथमिक पेशा कामदारमा १४.६, सेवा तथा वस्तुमा बिक्रीमा ४.३, व्यवस्थापनामा ४.१ र पेशाविद्मा ४ प्रतिशतसहित केही संख्या शिल्पकला तथा कारखानायन्त्र पेशामा आबद्ध छन् ।