पर्सामा बाघ र चितुवाको आतंक, १ हप्तामा चार जना घाइते ७ चौपाया मार्‍यो «

पर्सामा बाघ र चितुवाको आतंक, १ हप्तामा चार जना घाइते ७ चौपाया मार्‍यो

पर्सा राष्ट्रिय निकुञ्ज र चितवन राष्ट्रिय निकुञ्जमा बाघको संख्या वृद्धि भएसँगै मानव बस्तीमा पसेर बाघले आतंक मच्चाउन थालेको छ । राष्ट्रिय निकुञ्जबाट बस्ती छिरेको बाघको आक्रमणबाट एक हप्तामा चारजना घाइते भएका छन् । सातवटा चौपाया मारेर क्षति पुर्‍याएको छ । चैत ६ गते राति ठोरी गाउँपालिका–४ घ्याङडाँडाका किसान मिकमार लामाको घरगोठमा पसेर बाघले एउटा वयस्क भैंसीको पाडा र ६ ओटा बाख्रा मारिदिएको छ ।

पाटे बाघले चौपाया मारेर ठोरीका किसान मिकमारको खोर नै रित्याइदिएको छ । राष्ट्रिय निकुञ्जबाट मानवबस्तीमा आएको बाघले मिकमारले पालेको भैंसीको पाडामाथि मात्रै होइन खोरमा रहेको ६ वटा बाख्रासमेत मारिदिएको छ । चौपाया मारेको बाघलाई धपाउन नसकेपछि नेपाली सेना, सशस्त्र प्रहरी, पर्सा राष्ट्रिय निकुन्जका कर्मचारीलगायतको सहयोगले बिहानपख मात्रै बाघलाई जंगल धपाउन सफल भएको थियो ।

बाघको आक्रमणबाट चौपाया मारेपछि लामाले एक लाखभन्दा धेरै क्षति पुगेको बताए । ठोरीमा बाघले आतंक मच्चाएको घटना सेलाउन नपाउँदै चैत ८ गते पोखरियामा चितुवाले आतंक मच्चाएको छ । पोखरिया नगरपालिकाको सतवरियामा चितुवाको आक्रमणबाट एकजना प्रहरीसहित तीनजना घाइते भएका थिए । पोखरिया नगरपालिका–५ सतवरियामा स्थानीयले चितुवा देखेपछि बस्तीमा भागदौड मच्चिएको थियो ।

पोखरिया नगरपालिका–५ सतवरियाका शंकरप्रसाद रौनियारले घरअगाडि चितुवा देखेपछि हल्ला गरेका थिए । बस्तीमा चितुवा प्रवेश गरेको हल्ला फैलिएपछि चितुवा भगाउन गएको इलाका प्रहरी कार्यालय, पोखरियाका प्रहरी जवान सुचिन्द्रप्रसाद यादव चितुवाको आक्रमणबाट घाइते भए । चितुवाको आक्रमणबाट पोखरिया नगरपालिका–४ बस्ने ३० वर्षीय दिलमहमद मियाँ र ३९ वर्षीय जोगिन्द्र साह तेली पनि घाइते भए ।

घाइते तीन जनामध्ये तेली र प्रहरी जवान यादवको हत्केला र औंलामा सामान्य चोट लागेको छ भने मियाँको छाती, हात तथा टाउकोमा गम्भीर चोट लागेको छ । घाइते मियाँलाई पोखरिया अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि नारायणी अस्पतालमा भर्ना गरिएको छ । सतवरियास्थित स्थानीयको गाईगोठमा प्रवेश गरेको चितुवालाई प्रहरी, सशस्त्र र वनरक्षक टोलीले बिहानदेखि घेरा हालेर बसेका थिए र चितवन राष्ट्रिय निकुञ्जको टोलीले ड्राट हानेर चितुवालाई बेहोस बनाई नियन्त्रणमा लिएर गएको थियो ।

पुनः चैत १० मा शुक्रबार पर्साको पटेर्वासुगौली गाउँपालिकामा एक जनालाई बाघले आक्रमण गरी घाइते बनाएको छ । पटेर्वा सुगौली वडा नम्बर २ निवासी सुदामा महतोलाई बाघले आक्रमण गरेर गम्भीर घाइते बनाएको हो । दाउरा लिन जंगलमा गएको समयमा महतोलाई बाघले आक्रमण गरेको हो । आक्रमणबाट गम्भीर घाइते भएका महतोलाई श्रीपुर पँचगावास्थित गादीमाई पोलिक्लिनिकमा प्राथमिक उपचारपछि थप उपचारका लागि नारायणी अस्पतालमा ल्याइएको छ ।

बाघको आक्रमणबाट घाइते महतोलाई वडा नम्बर २ का वडाध्यक्ष विजय गैरेले एम्बुलेन्सको व्यवस्था गरी उपचारमा लाग्ने केही रकमसमेत दिएर थप उपचारका लागि पठाएका बताए । वडाध्यक्ष गैरेका अनुसार महतोलाई घाँटीको भागमा बाघले आक्रमण गरेको छ । महतोको वीरगन्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ ।

पर्सा राष्ट्रिय निकुञ्ज र चितवन राष्ट्रिय निकुञ्जको छेउमा रहेको ठोरीवासीलाई वन्यजन्तुको सधैं त्रास रहने गरेको छ । तर, अहिले ठोरी आसपासका क्षेत्रमा समेत बाघ र चितुवाको आतंक बढेपछि स्थानीय त्रसित भएका छन् । निकुञ्जमा घाँसे मैदानको व्यवस्था भएपछि बाघको आहरा पनि सहजै पाइने भएकोले बाघको संख्यासमेत बढ्दै गएको छ । जंगलमा बाघको संख्या भएको वृद्धिले निकुञ्ज छेउको बस्तीमा जोखिम बढेको छ ।

प्रतिक्रिया दिनुहोस्