जडिबुटी पहिचान गर्दै डोल्पोबुद्ध गाउँपालिका «

जडिबुटी पहिचान गर्दै डोल्पोबुद्ध गाउँपालिका

डोल्पोबुद्ध गाउँपालिका डोल्पाले बहुउपयोगी भुँइचुकलाई प्रयोगमा ल्याउने तयारी थालिएको छ । सुरुमा चुकको पहिचान तथा प्रयोगसम्बन्धी यहाँका सर्वसाधारणलाई जानकारी दिने उद्देश्यले पुस्तक प्रकाशन गरिएको छ । उक्त पुस्तक तिब्बतीयन भाषा, भोट र नेपाली भाषामा छ । जडिबुुटीको भण्डारको रुपमा रहेको यहाँ विभिन्न खेर गइरहेका जडिबुटीको पहिचानसँगै प्रयोगमा ल्याउन गाउँपालिकाले तयारी थालेको प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम देवकोटाले जानकारी दिए ।

डोल्पोबुद्धका सबै वडामा पाइने भुँइचुक प्रयोग नभई खेर गएकाले यसलाई प्रयोगमा ल्याउन गाउँपालिकाले प्रयास थालेको उनले बताए । चुकलाई प्रयोगमा ल्याउन सर्वसाधारणलाई तालिम, पुस्तकमार्फत् जानकारी दिन सुरु गरिएको छ । उपल्लो डोल्पामा पाइने विभिन्न जडिबुटीमध्ये यो पनि एक महत्वपूर्ण जडिबुटी हो । यसको काठबाट कृषिजन्य औजार तथा दाउरा बनाइन्छ । पातबाट डालेघाँस, ग्रिन टी, कम्पोस्ट मल प्रयोगमा आउने गरेको छ ।

त्यस्तै बिउबाट तेल निकालिन्छ । यसको तेलबाट औषधि, शृंगारका सामग्रीसमेत निर्माण हुने गरेको छ । फलबाट विभिन्न खाद्य पदार्थ जाम, जेली, अचार, पेय पदार्थ, चिया, चक्लेट, आइस्क्रिम बनाउने गरिन्छ । साउन र भदौमा यसलाई टिप्ने काम हुने अधिकृत देवकोटाले जानकारी दिए । गाउँपालिकाले यहाँका किसानलाई चुक बनाउने विधि र तरिकाबारे तालिमसमेत दिन लागेको छ । चुक निर्माण गर्नका लागि विभिन्न औजारसमेत यही आर्थिक वर्षभित्र उपलब्ध गराउने उद्देश्य छ ।

खेर गइरहेको चुकलाई प्रयोगमा ल्याई व्यावसायिक रूपमा विकास गर्ने लक्ष्य रहेको पालिकाले जनाएको छ । पालिकाभित्र परीक्षण गरी कालान्तरमा बजारीकरणको अभ्यासलाई उच्च गतिमा लैजाने योजना रहेको गाउँपालिकाले बताएको छ । डोल्पोबुद्ध गाउँपालिकाभित्रका विभिन्न पाटनमा पाइने जडिबुटीसमेत अध्ययन गर्ने पालिकाले जनाएको छ ।

आय आर्जनको हिसाबले महत्वपूर्ण मानिएका जडिबुटीको महत्व नबुझी खेर गइरहेको अवस्थामा त्यसको पहिचान गरी प्रयोगमा ल्याउनु गाउँपालिकाको पहिलो प्राथमिकता रहँदै आएको गाउँपालिकाले बताएको छ । माल भएर पनि चाल नपाउने परिपाटीलाई हटाउँदै गाउँभित्र नै सम्भाव्यता खोजी कामको सिर्जना गरी आर्थिक लाभ लिने बनाउनु गाउँपालिकाको नीति रहेको अधिकृत देवकोटाले बताए ।

प्रतिक्रिया दिनुहोस्