एप्पलले सामसङलाई उछिन्यो «

एप्पलले सामसङलाई उछिन्यो

गत वर्षको चौथो त्रैमासिक अवधिमा अमेरिकी प्रविधि कम्पनी एप्पलले विश्वव्यापी रूपमा गरेर ७ करोड ७३ लाख थान स्मार्टफोन बिक्री गरेको छ । यो संख्याको बिक्रीसँगै विश्वव्यापी बिक्रीका आधारमा एप्पलले सामसङलाई उछिनेको छ ।
विश्वव्यापी बजार हिस्सामा १९.३ प्रतिशतसहित एप्पलले पहिलो स्थान कायम गरेको छ । सामसङ दोस्रो स्थानमा ओर्लिएको स्ट्राटेजिक एनालाइटिक्सले वेबसाइटमा सार्वजनिक गरेको प्रतिवेदनले देखाएको छ ।
विगत ८ त्रैमासिक अवधिमध्ये पाँच त्रैमासिक अवधिमा विश्वव्यापी आइफोन बिक्रीको संख्या ओरालो लागे पनि आईफोन एक्सप्रतिको विस्फोटक मागका कारण एप्पलले सामसङलाई उछिनेको एनालाइटिक्सले जनाएको छ ।
सामसङको बिक्रीमा वार्षिक आधारमा ४ प्रतिशतको गिरावट आएको छ । यो कम्पनीले गत वर्षको चौथो त्रैमासिक अवधिमा ७ करोड ४४ लाखको बिक्रीसहित विश्वव्यापी बजारमा १८.६ प्रतिशतको हिस्सा ओगटेको छ । यो अघिल्लो वर्षको १८ प्रतिशतको तुलनामा थोरैले बढी हो ।
“चीन र भारतजस्ता प्रमुख र ठूला बजारमा सामसङले चिनियाँ प्रतिद्वन्द्वीबाट चुनौतीको सामना गरेको छ । तर, विश्वव्यापी आधारमा ठूलो अन्तरले ठूलो स्मार्टफोन ब्रान्ड भएको छ । गत वर्षको पूरै अवधिमा सामसङले ३१ करोड ७५ लाख थान स्मार्टफोन बिक्री गरेको थियो,” स्ट्राटेजिक एनालाइटिक्सका कार्यकारी निर्देशक नील मास्टनले बताए ।
गत वर्षको अक्टोबरदेखि डिसेम्बरसम्मको अवधिमा विश्वव्यापी स्मार्टफोनको बिक्रीमा वार्षिक ९ प्रतिशतको गिरावट आएर ४० करोड थान कायम भएको छ । यो इतिहासकै ठूलो वार्षिक गिरावट हो । विशाल चिनियाँ बजारमा ठूलो गिरावट आएकाले समग्र विश्वव्यापी बिक्री पनि ओरालो लागेको हो ।
पूरै वर्षका आधारमा हेर्ने हो भने विश्वव्यापी स्मार्टफोनको बिक्रीमा १ प्रतिशतको वृद्धि भएको छ र पहिलो पटक १.५ अर्बको प्रभावशाली अवस्था पार गरेको स्ट्राटेजिक एनालाइटिक्सले जनाएको छ ।
यसैबीच चिनियाँ प्रविधि कम्पनी हुवावेले चौथो त्रैमासिक अवधिमा विश्वव्यापी स्मार्टफोन बजारमा १०.२ प्रतिशतको बजार हिस्सासहित तेस्रो स्थान हासिल गरेको छ । यो स्थान अघिल्लो वर्षको समान हो ।
“हुवावेले एसिया र युरोपमा राम्रो भूमिका निर्वाह गरेको छ । तर, मूल्यवान मानिएको अमेरिकी बजारमा प्रवेश गर्नका लागि संघर्षरत अवस्थाबाट गुज्रँदै आएको छ,” स्ट्राटेजिक एनालाइटिक्सका निर्देशक वुडी ओहले बताए ।
“अमेरिकी बजारमा प्रवेश गर्न नसकेको अवस्थामा विश्वकै पहिलो स्थानको स्मार्टफोन बन्ने हुवावेको लक्ष्य पूरा हुने देखिँदैन,” उनले बताए ।

प्रतिक्रिया दिनुहोस्